एसियाली विकास बैङ्कको ४० अर्ब रुपियाँ ऋण स्वीकृत

 काँकडभिट्टादेखि लौकहीसम्मकमे सडक स्तरोन्नति गर्न एसियाली विकास बैङ्कले करिब ४० अर्ब रुपियाँ (३० करोड डलर) ऋण स्वीकृत गरेको छ ।

उक्त ऋणमार्फत करिब ९५ किलोमिटर सडकलाई दुई लेनबाट चार लेनमा स्तरोन्नति गरिनेछ । उक्त सडक खास गरी विपत्को जोखिमबाट सुरक्षित रहने र पुलहरू बाढीबाट पनि जोगिने गरी डिजाइन गरिने एडिबीले जनाएको छ । उक्त सडकखण्डमा सडक सुरक्षा, फुटपाथ, सडक बत्ती, सडक वारपार, बस स्टपलगायतका विशेषता रहने पनि एडिबीले जनाएको छ ।

खास गरी भारत र बङ्गलादेशसँगको व्यापार सहजीकरणका लागि उक्त सडक स्तरोन्नति गर्न लागिएको हो । सडक निर्माण भएपश्चात् सीमा क्षेत्रको व्यापार र स्थानीय समुदायको जीवनस्तर उकासिने एडिबीको दक्षिण एसिया क्षेत्रका यातायातविज्ञ सिन वाई चोङले बताउनुभयो ।

यस परियोजनाले सडक विभागको क्षमता पनि बढाउने एडिबीले जनाएको छ । त्यस्तै सडक निर्माणका क्रममा सडक सुरक्षा जनचेतना कार्यक्रम, स्वास्थ्य तथा पोषण र मानव बेचबिखनविरुद्धका कार्यक्रम सञ्चालन गर्ने पनि एडिबीले जानकारी दिएको छ ।

ऋण सहायतासँगै एडिबीले थप सात लाख ५० हजार डलर बराबरको प्राविधिक सहायता अनुदानका रूपमा उपलब्ध गराउने जनाएको छ ।  रासस


ताजा खबर