हिमपातले सगरमाथा आधारशिविरमै अड्किए आरोही

मौसम अनुकूल भइदिएको भए आजकै दिन सगरमाथाको चुचुरोमा पुग्ने बाटो खुलिसक्थ्यो। पूर्व निर्धारित तालिका अनुसार आज सगरमाथाको चुचुरोसम्म डोरी टाँग्ने (रोप फिक्सिङ) गर्ने योजना थियो। तर, एक सातादेखि बिग्रिएको मौसमले सगरमाथा आरोहणमा समेत अवरोध पुगेको छ।

सगरमाथा आरोहणका लागि दक्ष कामदार (आइसफल डाक्टर)ले सगरमाथाको साउथकोल (चौथो शिविर)सम्म बाटो बनाइसकेका छन्। उनीहरूले चुचुरोसम्म डोरी टाँगेपछि मात्र आरोहण शुरू हुन्छ। प्रतिकूल मौसमका कारण आइसफल डाक्टरलाई चुचुरोसम्म पुग्न कठिन भइरहेको सगरमाथाको दोस्रो शिविरमाथिको बाटो बनाउने जिम्मा पाएको इमाजिन नेपाल ट्रेक एन्ड एक्स्पिडिशन कम्पनीले जनाएको छ।

सगरमाथा आरोहणको ढोका खुलाउने प्रतीक्षामा रहेका आइसफल डाक्टर जस्तै आरोहणको अनुकूल मौसमका लागि नेपाली र विदेशी गरी ४०० भन्दा बढी आरोही प्रतीक्षारत छन्। उनीहरू सगरमाथाको आधारशिविर र दोस्रो शिविरमा सुखद आरोहणको पर्खाइमा छन्।

चुचुरोसम्म बाटो बनाउने आइसफल डाक्टर पनि अनुकूल मौसमको पर्खाइमा आधारशिविरमा छन्। मौसमले साथ दिए छिटै उनीहरूले सगरमाथाको चुचुरोसम्म डोरी टाँगेर आरोहण शुरू भएको सन्देश दिने इमाजिन नेपालका कार्यकारी निर्देशक दावा ग्याल्जेन शेर्पाले बताए। “शुरूमा आजसम्म डोरी टाँग्ने लक्ष्य थियो, मौसमको प्रतिकूलताले त्यो अहिले रद्द भइसकेको छ,” उनले भने, “मौसम विवरण अनुसार शनिबार र आइतबार मौसम राम्रो देखाएकाले शायद आरोहण निरन्तर अघि बढ्छ होला।”

अहिलेको मौसममा सगरमाथा क्षेत्रमा प्रतिघन्टा ३५ देखि ४० किलोमिटर हावाको वेग चलेकाले आरोहणमा कठिनाइ भएको हो। हावाका साथै हिमपात भइरहेको छ। आरोही केही सगरमाथा आधारशिविरमा छन् भने केही काठमाडौं फर्किएका छन्। अहिलेको मौसममा आरोहण गर्दा जोखिम हुने भएकाले सबै आरोही अनुकूल मौसमको पर्खाइमा छन्।

पर्यटन विभागका महानिर्देशक होमप्रसाद लुइँटेलले धेरै आरोही सगरमाथा आधारशिविरमा अनुकूल मौसमको प्रतीक्षामा रहेको बताए। “उपयुक्त मौसमको पर्खाइमा रहेका आरोही दोस्रो र तेस्रो शिविरसम्म पुग्दै पुनः आधारशिविर फर्किरहेका छन्,” उनले भने, “मौसम खुलेपछि सबै आरोहीका कारण सगरमाथा क्षेत्रमा जाम हुन्छ।”

आरोहणलाई सुरक्षित, व्यवस्थित र मर्यादित बनाउन विभागले सगरमाथा आधारशिविरमा अनुगमन तथा सहजीकरणका लागि सम्पर्क कार्यालय स्थापना गरेको छ। खिमलाल गौतमको संयोजकत्वमा सम्पर्क अधिकृत, पर्यटन मन्त्रालय, विभाग, नेपाली सेना, नेपाल प्रहरी, हिमालय उद्धार संघ, सगरमाथा प्रदूषण नियन्त्रण समिति (एसपीसीसी) र स्थानीय प्रतिनिधिहरू रहेको समितिले सम्पर्क कार्यालयमा रहेर सहजीकरण गरिरहेको विभागले जनाएको छ।

सगरमाथाको दोस्रो शिविरसम्म एसपीसीसीले बाटो बनाएको थियो। पछिल्लो एक सातादेखि सगरमाथा क्षेत्रमा मौसमको खराबीले बाक्लो हिउँ पर्नुका साथै हावा चलिरहेकाले आरोहण अघि बढ्न सकेको छैन। आइसफल डाक्टरहरू सगरमाथाको आधारशिविरमा फर्किएका छन्। मौसम अनुकूल हुने बित्तिकै चुचुरोसम्म डोरी टाँग्ने काम शुरू हुने निर्देशक शेर्पाले बताए। साउथकोलबाट चुचुरोसम्म बाटो खुलाउन झन्डै एक दिनको समय लाग्ने उनको भनाइ छ।

लुक्लामा रहेका सेभेन समिट ट्रेक्सका प्रबन्ध निर्देशक मिङ्मा शेर्पाका अनुसार अहिले धेरै सङ्ख्यामा आरोही सगरमाथाको आधारशिविरमा छन्। सगरमाथा क्षेत्रमा मौसम बिग्रिएका कारण आफूहरू लुक्लामा आराम गरिरहेको शेर्पाले बताए। शेर्पाको कम्पनीबाट मात्रै ८० भन्दा बढी आरोही छन्। आधारशिविरमा रहेका आरोही दोस्रो र तेस्रो शिविरसम्म ओहोरदोहोर गरिरहेका भए पनि पछिल्ला दिनमा मौसम बिग्रिएकाले उनीहरू आधारशिविर ओर्लिएका हुन्।

वसन्त ऋतुको यस याममा सगरमाथा आरोहण गर्न इतिहासकै सर्वाधिक आरोहीले अनुमति लिएका छन्। पर्यटन विभागका अनुसार ४३ आरोही समूहका ४६६ आरोहीले आरोहण अनुमति लिएका हुन्। उनीहरूमध्ये ९८ महिला र ३६८ पुरुष छन्। सगरमाथा आरोहणको ७० वर्षे लामो इतिहासमा यो यामको आरोहणमा सबैभन्दा बढी आरोही छन्।

सगरमाथा आरोहणका लागि सन् २०२२ मा ४४ समूहका ३२३ र सन् २०२१ मा ४२ समूहका ४०९ जनाले अनुमति लिएको विभागको पर्वतारोहण शाखाका शाखा अधिकृत विज्ञान कोइरालाले बताए।

हिमाल आरोहणका लागि वसन्त ऋतु उपयुक्त समय मानिन्छ। नेपाल पर्वतारोहण संघका पूर्व अध्यक्ष आङछिरिङ शेर्पाका अनुसार नेपालतर्फबाट सगरमाथा आरोहण गर्ने हालसम्मकै बढी आरोहीले अनुमति लिएका हुन्। सगरमाथाको उत्तरी मोहोडाबाट पनि चुचुरोमा पुग्न सकिन्छ। कोरोना महामारीपछि तिब्बतबाट आरोहण रोकिएकाले अहिले नेपालमा आरोहीको सङ्ख्या बढेको हुन सक्ने अध्यक्ष शेर्पाको भनाइ छ।

पर्यटन विभागको विवरणमा हालसम्म सगरमाथा आरोहणमा नेपाल सहित ६५ देशका नागरिकले अनुमति लिएका छन्। सन् १९५३ मे २९ तारिखका दिन दुई साहसी पर्वतारोही नेपाली तेन्जिङ नोर्गे शेर्पा र न्यूजिल्यान्डका सर एडमन्ड हिलरी सगरमाथाको चुचुरोमा पुगेका थिए। (रासस)


ताजा खबर