मधुमेहका बिरामीलाई ‘साइलेन्ट हार्टअट्याक’को जोखिम

~डा.बजरङ्ग रौनियार

मधुमेह तथा ग्रन्थीरोग विशेषज्ञ

पछिल्लो समय  हृदयाघात र कार्डियाक एरेस्टबाट अचानक मृत्यु हुनेको संख्या ह्वात्तै बढेको छ । मधुमेहका बिरामीलाई ‘साइलेन्ट हार्टअट्याक’को जोखिम बढी हुने भएकाले विशेषगरी उनीहरुलाई ध्यानमा राखेर सचेतनाअभियान चलाउनु  जरुरी रहेको विभिन्न अध्ययनहरुले देखाएका छन्।

मधुमेह भएका मानिसलाई रक्तचापको सम्भावना बढी हुन्छ। किनकी उनीरुको शरीरले पर्याप्त मात्रामा इन्सुलिन उत्पादन गर्न सक्दैन वा यसलाई हाम्रो शरीरको ग्लुकोज नियन्त्रणको लागि प्रयोग गर्न सक्दैन।मधुमेह भएका मानिसलाई प्यास लाग्ने, छिनछिनमा पिसाब लाग्ने, धेरै भोक लाग्ने, अनपेक्षितरुपमा तौल परिवर्तन हुने, थकान महसुस हुने र आँखा पनि स्पष्ट नदेखिनेजस्तो समस्या हुन्छ।

के हो त ‘साइलेन्ट हार्टअट्याक’
‘साइलेन्ट हार्टअट्याक’ कुनै लक्षणविना नै हुने  वा लक्षण पहिचान हुनुपूर्व नै हुने हृदयाघात हो। मेडिकल न्युज टुडेका अनुसार केही मानिसहरुलाई हृदयाघात भएको पहिचान हुनुभन्दा केही साता वा महिनाअघि नै यसको आक्रमण भएको हुन सक्छ। अमेरिकी हार्ट एसोसिएसनका अनुसार वार्षिक देखिएका ८ लाख ५ हजार हृदयाघातका बिरामीमध्ये एक लाख ७० हजारमा मौन हदयाघात देखिएको थियो।

मधुमेहसँग यसको के सम्बन्ध छ
करिब ५० देखि ६० प्रतिशत मधुमेहको रोगबाट मुटुसम्बन्धी रोग निस्किने आकलन छ। रगतमा सुगरको मात्रा उच्च रहनाले रगत प्रवाहमा पनि समस्या उत्पन्न हुन्छ। यस किसिमको अवरोधको कारण मस्तिष्क, मिर्गौलाजस्ता अंगमा पर्याप्त मात्रामा रगत प्रवाह हुन सक्दैन।यस किसिमको समस्या बढ्दै जाँदा मधुमेह, उच्च रक्तचाप, स्ट्रोक, मिर्गौला रोग, मुटुको रोग र रेटिनाको समस्या एकैसाथ देखिन सक्छ।

मधुमेहको कारण रगतमा सुगरको मात्रा अत्यधिक हुँदा यसले मुटुलाई सन्तुलनमा राख्ने रक्तनली र नसाहरु पनि नष्ट गरिदिन्छ। जसको कारण मुटुको समस्या बढ्दै जान्छ।मधुमेह भएका मानिसमा यसरी बिस्तारै साना नसाहरु फुट्दै जाँदा मानिसमा छाती दुख्ने समस्या देखिन्छ। जसको कारण हृदयाघात हुँदा यस्ता मानिसहरुमा विशेष किसिमको छाती दुख्ने समस्या देखिँदैन। त्यसको सट्टामा उनीहरुमा अत्यधिक थकान, कमजोरी, श्वासप्रश्वासमा समस्या, पसिना आउने, ढाड दुख्नेजस्ता समस्या देखिन्छ।मधुमेहको समस्या रहेका महिलामा मौन हृदयाघातको जोखिम झनै बढी हुन्छ। यद्यपि सन् २०२१ मा गरिएको अध्ययनले भने समग्र मौन हृदयाघातका बिरामीमा धेरैजसो पुरुष छन्।

डा. रौनियार काडमाडौं चावहिलस्थित ॐ हस्पिटलमा कार्यरत हुनुहुन्छ ।


ताजा खबर