नेपालले यूएईसँग निर्णायक खेल आज खेल्ने

नेपालले आज (शुक्रबार) संयुक्त अरव इमिरेट्स (यूएई) विरुद्ध एकदिवसीय सिरिजको तेस्रो तथा निर्णायक खेल खेल्दैछ । कीर्तिपुरस्थित त्रिवि मैदानमा बिहान ९:०० बजे सुरु हुने खेल नेपाल र यूएई दुवैलाई महत्वपूर्ण छ ।

सिरिज जित्न दुवै टोलीलाई जित्नै पर्ने बाध्यता छ । तीन खेलको सिरिज १–१ को अवस्थामा छ । नेपाल पहिलो खेलमा यूएईसँग ८४ रनले पराजित भएको थियो ।

दोस्रो खेलमा भने नेपालले यूएईलाई तीन विकेटले पराजित गर्दै सिरिजमा फर्किएको थियो । कमजोर ब्याटिङ  गरिरहेको नेपाललाई सिरिज जित्न आज ब्याटिङमा उल्लेख्य सुधार गर्नुपर्ने अवस्था छ ।

भर्खर आईसीसी टी-२० विश्वकप खेलेर नेपाल आएको यूएई नेपालको तुलनामा बलियो छ । नेपाल र यूएईबीच अहिलेसम्म आठ वटा एकदिवसीय खेल भएका छन् । जसमध्ये यूएई पाँच र नेपाल तीन खेलमा विजयी भएको छ ।

नेपालले आईसीसी लिग डिभिजन-२ को तयारीका लागि यूएईसँग यो सिरिज खेलेको हो । नेपालले यस सिरिजपछि आईसीसी लिग–२ खेल्न नामिबिया भ्रमण गर्दैछ ।

लिग–२ अन्तर्गत डिसेम्बरमा २ तारिखदेखि आयोजक नामिबिया, नेपाल र स्कटल्यान्डबीच सिरिज हुनेछ । लिग–२ मा हाल नेपाल १७ अंकसहित छैटौँ स्थानमा छ ।


ताजा खबर