‘होलवडी चेकअप’ भनेको के हो? सम्पूर्ण शरिरको स्वास्थ्य जाँच किन गर्ने?

बिनोद अधिकारी

‘शरीरको पुर्ण स्वास्थ्य परिक्षण’ का लागी हाम्रा अस्पतालहरुले अहिले हेल्थ चेकअप प्याकेज हरु अफर गर्ने गरेका छन् । हरेक व्यक्ति स्वस्थ रहन स्वास्थ्य परिक्षण अपरिहार्य हुन्छ । विरामीलाई उपचार गर्नु भन्दा अघि स्वाथ्य अवस्था कस्तो रहेछ भनी थाहा पाउन यस्ता स्वास्थ्य परिक्षण गर्ने गरिन्छ। हाम्रो समाजमा अझैपनि मानिसहरु बिरामी नभई स्वास्थ्य जाँच गर्दैनन। तर पछिल्लो समयमा जनमानसमा स्वास्थ्यप्रतिको सजगता र चेतना दिन प्रतिदिन बढ्दै गएकाले स्वास्थ्य परिक्षणको क्रम बढ्दो अवस्थामा छ ।

शहरमा समय–समयमा नियमित स्वास्थ्य परीक्षण गराउने चलन बिस्तारै सुरु हुन थालेको छ। आम नागरिकको आबश्यकता बुझेर अस्पतालहरुले स्वास्थ्य परीक्षणका विभिन्न प्याकेज उपलब्ध गराउन थालेकाछन्। तीनै मध्येको प्याकेज हो, ‘होलबडी चेकअप’ अर्थात पूर्ण शारीरिक परीक्षण। होलबडी चेकजाँचवारे धेरैले सुनेका त हुन्छन्, तर, त्यसभित्र के–के जाँच गरिन्छ, के–के कुरामा ध्यान दिनुपर्छ भन्ने चाहिँ जानकारी राखेको पाईँदैन।

के हो ‘होलबडी चेकअप’ ? – व्यक्तीले आफ्नो शरीरको स्वास्थ्य अबस्था कस्तो छ भनेर चेकजाँच गर्नु⁄गराउनुनै होल बडी चेकअप हो। ‘होलबडी चेक’ गर्दा सामान्यतया सम्भावित रोग र रोग लाग्न नदिने उपायहरूका बारेमा पूर्व जानकारी गराउँछ। होलबडीमा मुख्यतः मानिसको मुटु, कलेजो, फोक्सो, मृगौला, छाती लगायत शरिरको अंगको अबस्थाका बारेमा जानकारी दिने गरिन्छ।

दुवै मृगौलाले सहज तरिकाले काम गरे नगरेको, मुटु, फोक्सो र कलेजोको अवस्था पत्ता शारीरीक परिक्षणबाट जानकारी हुन्छ। परीक्षणपछि के के कुरामा सावधानी अपनाउने भनेर चिकित्सकहरूले सुझाव दिने गर्छन्। ति सुझावहरू अवलम्वन गर्न सकेमा लाखौँ खर्चेर निको नहुने रोगहरूबाट सजिलै वच्न सकिन्छ।

होलबडी चेक अपबाट भिडियो एक्सरे, मुत्रथैलीको अबस्था, इसिजी, अल्ट्रासाउण्ड, ईको, थाईराईड परीक्षण गरी शरिरका बिभीन्न भागहरूको पूर्व जानकारी लिने गरिन्छ। अहिलेको सामान्य खर्चले, भोलिको संभावित लाखौं खर्च जोगाउन होलबडी चेकअपले अग्रणि भूमिका निर्वाह गर्ने चिकित्सकहरूको भनाई छ।

होलबडी चेकअपलाई अस्पतालहरूले प्याकेज शिर्षक राखि महिला, पुरुष, उमेर समुह लगायतका हकमा फरक–फरक शुल्क तोकिएको छ। महिलामा स्तन, पाठेघरसहित केही थप अंगहरू परीक्षण गर्नुपर्ने भएकाले शुल्क फरक पर्न गएको अस्पतालहरूले जनाएका छन्। प्रारम्भिक चरणमा परीक्षण गर्दा कुनै अंगमा डाक्टरहरूलाई केही शंका लागेमा थप परीक्षण भने गर्नुपर्छ। त्यसैले केही अस्पतालहरूले प्रारम्भिक चरण र दोस्रो चरण गरी होलबडि प्याकेज बनाएका छन्।

के–के जाँच गरिन्छ ? – बिशेषतः आफ्नो स्वास्थ्यको अबस्था कस्तो छ भनेर गरीने स्वास्थ्य परीक्षणलाई ‘होलबडी’ चेकअप भन्ने गरिन्छ। साधारणतया यसमा उमेर र लिङ्ग अनुसार जाँच गरिन्छ।

होलबडी चेकअप पुर्वको तयारी – कुनै पनि स्वास्थ्य प्रयोगशाला (ल्याब) मा गरिएको जाँचको रिपोर्टको गुणस्तर तपाईंले नमूना दिनुभन्दा अगाडि तपाईंको दिनचर्या, खानपान, सेवन गर्ने औषधि, शारीरिक अवस्था, निन्द्रा आदि कुरासँग निर्भर हुन्छ। त्यसकारण जाँच गर्न जानुभन्दा अगाडि निम्न पूर्वतयारी आवश्यक छ।

  • जाँच गर्न जानुभन्दा अघिल्लो रात कम्तिमा ८–१० घन्टा सुत्नुपर्छ।
  • जाँच गर्नुभन्दा अगाडि कम्तिमा तीन दिन साधारण खाना खानु पर्छ।
  • धेरै बोसोयुक्त खाना खानाले टिजी (रगतमा ट्राइग्लिसराइड) रगतमा हुने वोसोको मात्रा) बढाउँछ।
  • प्रोटिनयुक्त खानाले युरिक एसिड बढाउँछ। व्रत बसेको व्यक्तिमा एसिटोन बढ्छ।
  • विशेषगरी सुगर, कोलेस्टेरोल र भिडियो एक्सरे जाँचका लागि कम्तिमा ८ देखि १० घन्टा खाली पेट हुनु अनिवार्य हुन्छ।
  • कमसेकम २४ घन्टा अघिदेखि धूमपान, मद्यपान गर्नु हुँदैन। मद्यपान गरेको केही घन्टामै जाँच गरेमा सुगर कम देखिने, युरिक एसिड बढ्ने हुन्छ भने कलेजोको इन्जाइममा पनि गडबड आउँछ।
  • भर्खरै चुरोट सेवन गरेको व्यक्तिमा सुगर सामान्यभन्दा बढी देखिन्छ भने रक्तकण गणना पनि बढी आउँछ।
  • जाँच गर्ने व्यक्तिले आफ्नो पुरानो रोग, पहिले गरेका जाँचका रिपोर्ट, आफूले सेवन गर्ने औषधिको पूर्ण जानकारी प्रयोगशालामा गराउनुपर्छ।
  • जाँच गराउने महिलाले आफू गर्भवती भएको अथवा महिनाबारी चलिरहेको बारे जानकारी गराउनुपर्छ। पाखुरासम्म सार्न मिल्ने सजिलो कपडा लगाउनुपर्छ।

सबैभन्दा महत्वपूर्ण र बुझ्नुपर्ने कुरा के छ भने स्वास्थ्य परिक्षण प्याकेजहरु अत्यन्त बैज्ञानिक र तथ्यमा आधारित हुनुपर्छ । स्वास्थ्य परिक्षणकालागि अस्पताल पुगेपछि चिकित्कले पूर्व परामर्श गरेर आप्नो आवश्यकता अनुसारको स्वास्थ्य परिक्षण प्याकेज गर्नु उपयुक्त हुन्छ

(सञ्चार तथा जनसम्पर्क बिज्ञ अधिकारी हेल्थ कम्युनिकेसन, हेल्थ रिसर्च तथा अस्पताल व्यवस्थापनमा लामो समयदेखि सक्रिय छन्।)

 


ताजा खबर