विमानस्थल खुलेपछि रामेछापमा पर्यटकको घुइँचो : सदरमुकाम मन्थलीमा फस्टायो होटेल व्यवसाय

विमानस्थल खुलेपछि सदरमुकाम मन्थलीमा फस्टायो होटेल व्यवसाय

विमानस्थल सञ्चालन भएसँगै रामेछाप हुँदै सोलुको लुक्का जाने विदेशी पर्यटक बढेका छन् । यसले सदरमुकाम मन्थलीमा होटेल व्यवसाय फस्टाएको छ ।

काठमाडौंबाट सवारीसाधनमा रामेछाप आउने पर्यटकहरू तीनवटा विमान कम्पनीहरू तारा, समिट र सीता एयरबाट सगरमाथा आधार शिविरतर्फ आउजाउ गर्ने पर्यटक ओसारपसार गर्न थालेका छन् । पर्यटकको आगमनसँगै सदरमुकाममा रहेको होटेल तथा पसलहरू व्यवसाय ६० प्रतिशतले वृद्धि भएको जिएस होटेलका सञ्चालक गणेश थपलियाले जानकारी दिए ।

मौसम खराब हुँदा मन्थलीमै बास
सोलुको लुक्ला विमानस्थलमा छिनछिनमै मौसम खराबी हुँदा त्यसतर्फ हिँडेका पर्यटकहरू सदरमुकाम मन्थलीमै बस्नुपर्ने बाध्यता छ । यसकारण पनि मन्थलीको होटेल व्यवसायहरू फस्टाएको हो । मन्थली विमानस्थलबाट दैनिक १० देखि ३५ वटासम्म उडान हुने गरेका छन् । यति धेरै उडान यसअघि हुने गरेका थिएनन् ।

नियमित धेरै उडान हुँदा मन्थली विमानस्थलबाट दैनिक करिब तीन सयदेखि पाँच सयको हाराहारीमा पर्यटकहरू उड्ने गरेको नागरिक उड्डयन प्राधिकरण मन्थली शाखाका प्रमुख अमितकुमार चौरसियाले जानकारी दिए । मन्थलीबाट तीनवटा वायुसेवा कम्पनीहरूले उडान गरे पनि सीता र समिट एयरको सम्पर्क कार्यालय नहुँदा पर्यटकहरूलाई समस्या पर्दै आएको छ । तीन वायुसेवा कम्पनीले केही कर्मचारी र लोडरहरू काठमाडौंबाट झिकाएर अस्थायी रूपमा काम गर्दै आएका छन् ।

एयर ट्राफिक नहुनाले रामेछाप रोजाइ
रामेछापमा उडान र अवतरण गर्दा जहाजलाई आकाशमा उडाएर पालो कुर्नुनपर्ने भएकाले चाँडो–चाँडो उडान भर्न सहज भएको हो । काठमाडौं विमानस्थल व्यस्त भएकाले चाहेजति उडान गर्न नसक्दा विमान कम्पनीहरूले रामेछापबाट उडान भर्र्न थालेका हुन् । काठमाडौं विमानस्थलबाट एउटा उडान हुँदा रामेछापबाट तीनवटा उडान हुने एयरलायन्सहरूको भनाइ छ ।

नेपाल आयल निगमले मन्थलीमा हवाई इन्धनको डिपो सञ्चालन गर्दा उडान र अवतरणका लागि सहज भए पनि निगमका कर्मचारीको बेवास्ताले बारम्बार डिपोमा इन्धन नहुँदा हवाई कम्पनीहरूले चाहेजति उडान भर्न सकेका छैनन् । कालोपत्रे भएको तीन वर्ष बितिसक्दा पनि सो विमानस्थलबाट नियमित रूपमा काठमाडौंका लागि भने कुनै पनि विमान कम्पनीले उडान सेवा सञ्चालन गरेका छैनन् ।

रामेछाप–काठमाडौं उडानको माग
रामेछापबाट काठमाडौं उडान भर्ने गरी विभिन्न कम्पनीका विमानहरूले उडान तालिका राखे पनि अहिलेसम्म कुनै उडान नभर्दा रामेछापका नागरिकहरूले सास्ती खेप्नुपरेको छ । काठमाडौंबाट अन्य जिल्लाको जस्तै रामेछापको विमानस्थलमा समेत तालिका राखेका विमान कम्पनीले रामेछापमा उडान भर्नु भन्दै रामेछापका नागरिक अगुवाहरूले पर्यटन मन्त्रालयमा ध्यानकर्षण गराउने नागरिक अगुवा नारायणदास श्रेष्ठले जानकारी दिए ।

सफल नेपाल

ताजा खबर