हाम्रो जिम्मेवार र अर्थपूर्ण उपस्थिति अब डिजिटल स्वरुपमाः सफल नेपाल डटकम ।

शोभा शर्मा सम्पादक

सफल नेपाल डटकम मार्फत हामी हरपल सूचनाप्रविधिको विकाससँगै आमसञ्चारमा पाठक, दर्शक र श्रोताको बदलिएको रूचिअनुसारका सामग्री पस्कनेछौं।

आज बडा दशैंको शुभ अवसर पारेर हामीले सफल नेपाल राष्ट्रिय साप्ताहिकको नयाँ संस्करण डिजिटल स्वरुपमा www.saphalnepal.com यहाँहरुमाझ लिएर आएका छौं।

हामी नागरिक स्वतन्त्रता, कानूनको शासन, मानवअधिकार र सामाजिक न्याय, प्रतिस्पर्धात्मक दलीय व्यवस्था, स्वतन्त्र न्यायालय, आवधिक निर्वाचन, विचार तथा अभिव्यक्तिको स्वतन्त्रता, जवाफदेही संयन्त्रको माग गर्ने अधिकारलगायत लोकतन्त्रका आधारभूत मूल्य–मान्यताप्रति अविचलित रहँदै तिनको वकालत गर्नेछौं। खुला बजार र उपभोक्ता हितको पक्षपोषण गर्नेछौं।

‘मल्टिमिडिया कन्टेन्ट सहितको डिजिटल पत्रकारीता को अर्थपूर्ण अभ्यास सफल नेपाल डटकम मार्फत हामी गर्ने छौं । हामी सूचना–प्रविधिको विकाससँगै आमसञ्चारमा पाठक, दर्शक र श्रोताको बदलिएको रूचिअनुसारका सामग्रीहरु यहाँहरुमाझ पस्कने छौं ।

जिम्मेवार, उत्तरदायी र विश्वसनीय पत्रकारिता हाम्रो मूल मन्त्र हुनेछ । पाठक, दर्शक र श्रोताबाट अपेक्षित हरपलका सूचना प्रवाह गर्न हामी प्रतिबद्ध छौं । साथै एक दशक अघिदेखि लगन र मेहनतले कमाएको आफ्नो विश्वसनीयता कायम राख्न पनि हामी उत्तिकै सचेत रहनेछौं।

लोकतन्त्रमा नागरिकले प्रश्न गर्छन्, पारदर्शिता खोज्छन् । नागरिकलाई सुसूचित गर्ने जिम्मेवारी वहनका क्रममा हामी सधैं प्रश्न गरिरहनेछौं।

राज्य सञ्चालनभित्रका बेथिति, अनियमितता र अराजकता उजागर गर्न हामी तटस्थताको दायरामा सीमित हुनेछैनौं।

हामी पक्षधरता लिनेछौं– विधिको शासन, राष्ट्रिय हितको जगेर्ना र नागरिकको सर्वोपरि हित रक्षाका निम्ति।

संविधानको प्रस्तावनामै उल्लेख प्रेस स्वतन्त्रता र नागरिकको मौलिक हकका रूपमा लिपिबद्ध विचार तथा अभिव्यक्तिको स्वतन्त्रता हाम्रा प्राण हुन्। तर, हामी अधिकारको उपभोग गर्ने क्रममा कर्तव्य भुल्ने छैनौं।

अभिव्यक्ति स्वतन्त्रताको पूर्ण उपयोग गर्दै हामी जवाफदेही शासन सञ्चालनको पैरवी गर्ने नै छौं। साथै, समाजमा हुने हरेक सकारात्मक प्रयत्न पनि उजागर गर्नेछौं। आदरणीय पाठक, दर्शक र श्रोताले हामीलाई त्यसका लागि सधैं बाटो देखाइरहनुहुनेछ। हामी विश्वस्त छौं।

 


ताजा खबर