छापा पत्रकारीतामा एक दशकको तपाईंको साथसँगै हाम्रो नौलो डिजिटल यात्रा सफल नेपाल डटकम

बिनय दाहालप्रधान सम्पादक

प्रविधिको विकाससँगै आम सञ्चारका पाठकका चाहना फेरिएका छन् । र, त्यही चाहनासँग एकाकार हुन आजदेखि हामीले सफल नेपाल राष्ट्रिय साप्ताहिकको डिजिटल संस्करण saphalnepal.com पनि शुरू गरेका छौं ।

दृश्य, शब्द र आवाज– यी तिनै विधाका सामग्री हेर्न, पढ्न र सुन्न चाहनुहुने आम पाठक, दर्शक र स्रोतालाई लक्षित गरेर हामीले यो डिजिटल संस्करण शुरु गरेका हौं ।

भनाइ नै छ– ‘तथ्य बदलियो भने म आफ्नो दृष्टिकोण पनि बदल्छु ।’ पाठक, दर्शक र स्रोताका रूचि फेरिएपछि हाम्रो भूमिका स्वतः फेरिने नै भयो । हामी दर्शक, स्रोता र पाठकलाई तिनको रूचि बमोजिम सफल नेपाल डटकम एउटा नयाँ र बेग्लै सञ्चार माध्यम अनुभूति होस् भन्ने चाहन्छौं।

राजनीति, अर्थतन्त्र, सामाजिक विषय र जनचासोका मामिलामा हामी यहाँहरुलाई सफल नेपालबाट पलपल, नियमित र निरन्तर अपडेट गर्नेछौं।

हामीलाई थाहा छ, जिम्मेवार पत्रकारिताले पारदर्शिता खोज्छ। त्यसैले सत्ता र शक्ति अनि राज्यका विभिन्न अंग र निकायमाथि प्रश्न गर्छ। अनि त्यसैको जगमा उभिएर सिंगो समाजलाई उत्तरदायी बनाउने प्रयत्न गर्छ । तर, अबको पत्रकारिताले अरूसँग अपेक्षा गरेर मात्र पुग्दैन, आफैं पनि त्यो कठिन यज्ञमा होमिनु पर्छ । हामी भन्छौं– आफैं पारदर्शी नभई अरूलाई पारदर्शी बनाउन सकिंदैन ।

हाम्रो कम्पनी मुक्तिनाथ मिडियाको र सफल नेपालको पारदर्शिता हामीले गरेको लगानी विवरणबाट शुरू हुन्छ । सफल नेपाल डटकम सिर्जना गर्दा हामीले एउटा सपना देखेका छौं त्यो सपना पूरा गर्न लगानी गरेका छौं । तर, आर्थिक रुपमा यो हाम्रो एकल लगानीमा सञ्चालित कम्पनी हो । एक दशकभन्दा लामो समयदेखि हामीले मुक्तिनाथ मिडिया कम्पनी सञ्चालन गरिरहेका छौं र त्यसबाट आर्जित सम्पूर्ण रकमलाई यसमा लगाएका छौं । यसबाहेक केहि रकम बैंकबाट ऋण लिएका छौं ।

प्रतिस्पर्धात्मक बजारमा व्यवसायको गोपनीयतालाई ध्यानमा राखेर लगानी गरेका अंक यहाँ खुलाउन असमर्थ रहे पनि राज्यका निकायले सोधेखोजेका बेला हरहिसाब देखाउन हामी तयार छौं ।

यो हाम्रो व्यवसाय हो । यसमा हाम्रो लगानी, मिहिनेत र पसिना छ । तर, हामी के कुरामा स्पष्ट छौं भने मिडिया सधैं जनचासो र जनसरोकारको बिषय हुन्छ र व्यवहारमा स्वभाविक रुपमा त्यो सार्वजनिक सम्पत्ति अर्थात पब्लिक प्रोपर्टी बन्न पुग्छ । त्यसकारण सफल नेपाल डटकम समपूर्ण रुपमा तपाई पाठक, दर्शक र स्रोताको नैतिक हकसहितको सार्वजनिक सम्पत्ति हो । यसमाथि सार्वजनिक रूपमा प्रश्न गर्ने तपाईंको संवैधानिक हक सधैं सुरक्षित छ ।

सार्वजनिक सञ्चार माध्यमको आवश्यकता र खाँचो समेतलाई ध्यानमा राखेर आज एकल रुपमा सञ्चालन भएको यो कम्पनीलाई हामी निकट भविष्यमा पब्लिक लिमिटेड कम्पनी बनाउन चाहन्छौं ।

यस कम्पनीमा कार्यरत सहकर्मीहरूले मात्र होइन, सर्वसाधारणले समेत ‘यो मेरो पनि हो’ भन्न सक्ने बनाउन यसमा लगानी गर्न, सिर्जित मुनाफामा हिस्सेदार बन्न सक्ने अवस्था हामी सिर्जना गर्नेछौं ।

हामीलाई थाहा छ, यो यात्रा सजिलो छैन । हामीलाई यो पनि थाहा छ, यात्रा कठिन भए पनि असम्भव छैन । किनकी तपाईं पाठक, दर्शक, श्रोता र विज्ञापनदातासँग हामी नजिक छौं। अनि तपाइहरू हामीसँग।


ताजा खबर