बेपत्ता छोरो पर्खेका बाबुआमाको कथा ‘पानीफोटो’

फिल्म ‘पानीफोटो’को डायनामिक मोसन पोस्टर सार्वजनिक गरिएको छ । मोसन पोस्टरसँगै यसै फिल्ममार्फत निर्देशनमा डेब्यु गरेका अभिनेता खगेन्द्र लामिछानेले सन्देश समेत दिनुभएको हो ।

निर्देशक लामिछानेले बलिउडमा चलेको सोही चलनलाई पछ्याउँदै फिल्मको सम्पूर्ण जानकारी दर्शकसँग बाँड्नुभएको छ । आफूसहित अनुप बराल, मेनुका प्रधान र मलिका महतको लुक्स सार्वजनिक गर्दै उहाँले सपनाको जवाफ नहुने बताउनुभयो ।

फिल्ममा माओवादी जनयुद्धमा बेपत्ता छोराको पर्खाइमा बसेका बाबुआमाको कथा समेटिएको छ । ‘पानीफोटो’ दशक अगाडि गुरुकुलमा मञ्चन भएको चर्चित नाटक ‘पानीफोटो’ कै अनुरुपण गरिएको फिल्म हो । स्वयम् खगेन्द्रले आफू लिखित नाटकलाई फिल्मको स्वरुप दिनुभएको हो ।

फिल्ममा खगेन्द्रबाहेक अनुप बराल, मेनुका प्रधान र मालिका महत प्रकाश घिमिरे, माओत्से गुरुङ्ग, बुद्धि तामाङ्ग, रमेश अधिकारी, कमलमणी नेपाल, अनुज पाण्डे, राधा श्रेष्ठ, श्यामकुमार खड्का जस्ता चर्चित कलाकारहरुको अभिनय छ ।

दीपक बज्राचार्यको छायांकन र निमेष श्रेष्ठको सम्पादन रहेको फिल्म भदौ १० मा प्रदर्शन हुने घोषणा गरेको फिल्म दुई हप्ता प्रिपोन्ड हुँदै साउन १३ गतेदेखि देशव्यापी प्रदर्शनमा आउँदैछ ।

‘पशुपति प्रसाद’ र ‘धनपती’ जस्ता नेपाली मौलिक स्वादका फिल्मको निर्माण गरेको टुकी आर्टस् प्रा.लिले मञ्जुश्री फिल्मस् प्रोडक्सनसँगको सहकार्यमा ‘पानीफोटो’ निर्माण गरेको हो । फिल्मको निर्माता रोजिना सिटौला र रबिन्द्र बज्राचार्य हुन् ।


ताजा खबर