प्रतिनिधिसभामा विनियोजन विधेयकमाथि छलफल सुरु

प्रतिनिधिसभाको बैठक सुरु भएको छ । बुधवारको बैठकमा आर्थिक वर्ष २०७९/८० का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्तावबाहेक) माथि छलफल गरिएको छ ।

अर्थमन्त्री जनार्दन शर्माले मङ्गलबारको बैठकमा आगामी आवका लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता पेश गर्नुभएको थियो । आव २०७९/८० को विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि आज बिहीबार राष्ट्रियसभामा छलफल गर्ने कार्यतालिका छ ।

छलफलमा भाग लिँदै नेकपा (एमाले)का सांसद् योगेशकुमार भट्टराईले विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामा समाजवादमा पुग्ने आधार नदेखिएको, सार्वजनिक स्वास्थ्य तथा शिक्षाको सवलीकरणलाई बेवास्ता गरिएको बताउनुभयो । व्यापार घाटा न्यूनीकरण गर्दै पूँजीगत खर्च वृद्धि गर्न सरकारले ध्यान दिनुपर्नेमा जोड दिँदै उहाँले मुलुकको अर्थतन्त्रलाई अप्ठ्यारो अवस्था आउन नदिन वैकल्पिक उपायको खोजी गरिनुपर्ने बताउनुभयो ।

“पेट्रोलियम पदार्थको खपत घटाउने, वैकल्पिक ऊर्जाको प्रयोगलाई बढवा दिनुपर्ने विषय विधेयकका सिद्धान्त र प्राथमिकतामा देखिएन”, उहाँले भन्नुभयो, “गैरआर्थिक कारोबार बढेको छ, यसले मुलुकको अर्थतन्त्रमा चुनौती थपेको छ ।” -रासस


ताजा खबर