तिलगंगा आँखा प्रतिष्ठानले भित्र्यायो एक जनाको आँखाबाट ४ जनालाई दृष्टि दिने प्रविधि

तिलगंगा आँखा प्रतिष्ठानमा एक व्यक्तिको आँखा नानी निकालेर चार जनालाई दृष्टि दिन सकिने प्रविधि भित्रिएको छ।

‘डिप स्ट्रेपिङ्ग इन्डोथेलियल केराटोप्लान्टी’ नामक अन्तर्राष्ट्रियस्तरको प्रविधि १० महिनाअघि भित्रिएको प्रतिष्ठानका आई बैंक व्यवस्थापक शंख नारायण त्वयना बताए। यो प्रविधिबाट एक व्यक्तिका दुइटा आँखाले चार जनालाई दृष्टि दिन सकिने त्वयनाले जानकारी दिए।

उनले भने ‘यो प्रविधि भित्र्याउनअघि एक व्यक्तिको आँखा दुई जनालाई मात्रै प्रत्यारोपण गर्न सकिन्थ्यो।’

उनका अनुसार यो प्रविधिबाट नानीको कुन भागमा समस्या भएको हो पहिल्याएर, सोही भाग मात्रै प्रत्यारोपण गर्न सकिन्छ।

‘नानीका पाँच तह हुन्छन्। उक्त प्रविधिबाट कुन तहमा समस्या भएको हो, सोही पत्रमा मात्र प्रत्यारोपण गर्न सकिने हुँदा एक व्यक्तिको २ आँखा ४ जनालाई प्रत्यारोपण गर्न सकिने भएको हो’, उनले प्रष्ट पारे ।

यो प्रविधिबाट हालसम्म ६० जनालाई सेवा दिइएको व्यवस्थापक त्वयनाले जानकारी दिए।

प्रविधि भित्रिएपछि १५ जना व्यक्तिबाट ३० वटा आँखा संकलन गरेर ६० जनालाई प्रत्यारोपण गरिएको हो। प्रविधि भित्रिए पनि नानी प्रत्यारोपणको तालिम प्राप्त चिकित्सकको कमि, प्रत्यारोपणमा आवश्यक साधनको कमिका कारण सोचेजति प्रत्यारोपण गर्न नसकिएको त्वाय्ना बताउँछन्। अहिले आँखा प्रत्यारोपण गराउनसक्ने चिकित्सक १२ जना मात्रै छन्।

यसकारण प्रत्यारोपणलाई अझै शशक्त रुपमा लैजान प्रत्येक प्रदेशमा आँखा संकलन केन्द्र बनाउने, आँखा प्रत्यारोपण गर्नसक्ने चिकित्सक उपलब्ध गराउने, तालिम गराउन ‘रिकभरि सेन्टर’को संचालन लगायतका योजना रहेको त्वयनाले बताए।

२०५१ मा पहिलोपटक नेपालमा नै आँखा नानी निकालेर दुई व्यक्तिमा प्रत्यारोपण गरिएको थियो। यो २५ वर्षमा करिब १५ हजार दृष्टिविहीनले दृष्टि पाइसकेका छन्।

नेपालमै आँखा नानी निकालेर प्रत्यारोपण गर्नुअघि विदेशबाट दानस्वरुप लेराइएका नानी प्रत्यारोपण गरिन्थ्यो। हालसम्म बाहिरबाट ४ सय ७३ वटा आँखा नानि ल्याइएको प्रतिष्ठानको आँखा बैंकको तथ्यांकमा उल्लेख छ।

‘त्यस समयमा धेरै दिन लगाएर ल्याइएका कतिपय आँखा बिग्रिसकेका हुन्थे, यसकारण बाहिरबाट आँखा ल्याएर प्रत्यारोपण गर्न निकै गाह्रो थियो’, त्वाय्नले भने।

‘मृत्यु भएपछि डढेर जाने आँखा दान गरेमा कसैलाई नयाँ जीवन दिन सकिन्छ भन्ने सोच नेपालमा परिवर्तन हुँदै गएको छ,’ उनले थपे।
आँखा किनबेच हुँदैन। आँखा प्रत्यारोपण निःशूल्क सेवा हो। तर, औषधि खर्च बिरामीको हुन्छ।

८० हजारले गरे आँखा दान

मृत्युपछि आँखा दान गर्ने इच्छा राखेर हस्ताक्षर गर्नेको संख्या करिब ८० हजार पुगेको आँखा बैंकको तथ्याकंमा उल्लेख छ।

तर, इच्छापत्रमा हस्ताक्षर गर्ने सबैको आँखा निकाल्न संभव नहुने बैंकका व्यवस्थापक त्वाय्नाले बताए। उनले भने ‘आँखा दान गर्छु भनेर हस्ताक्षर दिने कतिपय दुर्गम स्थानमा हुनुहुन्छ, कतिपयको कुन अवस्थामा मृत्यु हुन्छ, सबैको जानकारी हामीसम्म आउँदैन, जसकारण सबै आँखा दान गर्ने सबैको आँखा संकलन संभव हुँदैन।

कुन वर्षमा कति आँखा संकलन

तिलगंगा आँखा प्रतिष्ठानको आँखा बैंकको तथ्याङ्अनुसार २०१३ मा ६ सय ३७ को आखाँ नानी संकलन गरिएकोमा ५ सय ९ जनामा प्रत्यारोपण गरिएको थियो।
२०१४ मा ७ सय ९ वटा नानि संकलन गरिएको थियो भने ५ सय ७६ जनामा प्रत्यारोपण गरिएको थियो। त्यसैगरी, २०१५ मा ६ सय १ नानि संकलन गरिएकोमा ५ सय १७ जनामा प्रत्यारोपण गरिएको थियो।

२०१६ मा ७ सय ११ वटा नानि सकंलन गरिएको थयो भने ६ सय ६१ जनामा प्रत्यारोपण गरिएको तथ्याङ्कले देखाउँछ। त्यस्तै, २०१७ मा ८ सय ६१ नानी संकलन गरिएकोमा ७ सय ९१ मा नानि प्रत्यारोपण गरएको थियो।

तथ्याङ्कअनुसार २०१८ मा ११ सय ७८ वटा नानी संकलन गरिएको थियो, सोही वर्ष १ हजार ५१ जनामा नानी प्रत्यारोपण गरिएको छ।
२०१९ अक्टोबर अन्त्यसम्म ११ सय ६ वोटा आँखा संकलन भएकोमा ९ सय ४४ ओटा प्रत्यारोपण भइसकेको छ। हालसम्म गरिएको प्रत्यारोपण ९६ प्रतिशत सफल भएको तथ्याङले देखाउँछ।

अहिलेसम्मको तथ्याङ हेर्दा २०१८ मा सबैभन्दा बढी आँखा संकलन भएको छ।

कहाँ–कहाँ हुन्छ आँखा संकलन?

नेपालमा सबैभन्दा बढी नानी संकलन काठमाडौंमा हुने आई बैंकका व्यवस्थापक त्वाय्नाले बताए। प्रत्यारोपणको ८० प्रतिशत संकलन काठमाडौं उपत्यकामा भएको छ। काठमाडौंको वीर अस्पताल, पाटन अस्पताल, त्रिवि शिक्षण अस्पताल, गंगालाल अस्पताल, पशुपती आर्यघाट र विद्युत् शवदाह गृहमा आँखा संकलन हुने त्वाय्नाले जानकारी दिए।

काठमाडौंबाहिर काकडभित्ता, मेचि आँखा अस्पताल विर्तामोड, मेची नेत्रालय, गेटा आँखा अस्पताल कैलालीमा, विराटनगर आँखा अस्पताल, हेटौडा आँखा अस्पताल, लाहान आँखा अस्पताल, हिमालयन आँखा अस्पताल पोखरामा संकलन हुने गरेको छ। ‘तिलगंगा आँखा प्रतिष्ठानको आँखा बैंकमा १४ दिनसम्म आँखा संकलन गर्नसक्ने क्षमता छ। तर, आँखाको माग धेरै भएकाले संकलन गरिएका आँखा ७ दिनभन्दा बढी रहँदैन’, उनले भने।

जुनसुकै व्यक्तिले दिन मिल्छ आँखा

मानिसको अंगमध्ये नङ, कपाल र आँखा नानीमा रक्तसंचार हुँदैन। आँखा नानीमा रक्तसंचार नहुने हुँदा जुनसुकै व्यक्तले पनि आँखा दान गर्न मिल्ने त्वाय्नाले बताए। ‘आँखा प्रत्यारोपणमा जुन व्यक्तिलाई जसको आँखा पनि मिल्छ’ उनले भने। नेपालमा अन्तर्राष्ट्रियस्तरमा आँखा नानीको प्रत्यारोपण हुन्छ।

 

 


ताजा खबर