‘छ माया छपक्कै’ वर्षको सर्वाधिक ग्रसर फिल्म’ : दिपकराज गिरी

गएको असोज २४ गतेबाट देशव्यापी प्रदर्शनमा आएको दीपेन्द्र लामा निर्देशित फिल्म ‘छ माया छपक्कै’ ले यस वर्षको बैशाखदेखि कात्तिक तेस्रो सातासम्म प्रदर्शनमा आएका फिल्ममध्ये सबैभन्दा ठूलो कमाई गर्न सफल भएको कलाकार तथा निर्माता दीपकराज गिरीले दाबी गरेका छन् । उनले बिहीबार फेसबुकमा एक स्टाटस लेख्दै फिल्म यो वर्षको सबैभन्दा ठूलो ग्रसर साबित भएकोमा खुसी व्यक्त गरे । तर, उनले फिल्मको कलेक्सन खुलाएका छैनन् ।

‘छ माया छपक्कै’ ले प्रदर्शनको ३४ दिनसम्ममा १३ करोडको आँकडा पार गरेको फिल्मीखबरलाई रिपोर्ट प्राप्त छ । तर, असोज ३ गतेबाट प्रदर्शनमा आएको रामबाबु गुरुङ निर्देशित फिल्म ‘कबड्डी कबड्डी कबड्डी’ ले प्रदर्शनको ५१औं दिनसम्ममा १४ करोड छापेको वितरक कम्पनी स्टेशन फाइभले दाबी गरेको छ । यो हेर्दा, दुई फिल्मको निर्माण टिमबीच आफ्नो फिल्मले सबैभन्दा धेरै कमाएको देखाउने होडबाजी देखिएको छ ।
यद्यपि, ‘कबड्डी कबड्डी कबड्डी’ को लाइफटाइम कलेक्सन सत्य नै भए पनि ‘छ माया छपक्कै’ ले प्रदर्शनको ५१ दिन अगावै यो आँकडा पार गर्ने निश्चित छ । ३५ दिनमा प्रदर्शनरत यो फिल्मको लाइफटाइम कलेक्सन १५ करोडको आसपास हुने अनुमान गरिएको छ । शुक्रबारबाट पाँचौ हप्तामा प्रदर्शन आरम्भ गर्न लागेको फिल्म अझै दुई दर्जन बढी सिंगल थिएटरमा प्रदर्शनरत छ । भने, मल्टीप्लेक्सहरुमा पनि राम्रो सोज पाइरहेको छ ।
रोहित अधिकारी निर्मित ‘छ माया छपक्कै’ ले प्रदर्शनको सुरुवाती दिनमा मल्टीप्लेक्समा न्यून सोज पाएको थियो । बलिउडको ठूलो फिल्म ‘वार’ का कारण फिल्मले अपेक्षाअनुसार सोज पाउन सकेकोे थिएन । तर, ‘वर्ड अफ माउथ’ बलियो भएपछि यो फिल्म ‘वार’ का लागि नै थ्रेट बनेको थियो । समीक्षकबाट राम्रो तारिफ बटुलेको फिल्ममा राजनीतिक पृष्ठभूमिमा प्रेम बुनिएको छ । फिल्मको निर्देशन सल्लाहकारमा दीपाश्री निरौला रहेकी छन् ।

दीपकराज गिरी, केदार घिमिरे, जितु नेपाल, केकी अधिकारी, सुपुष्पा भट्टलगायतका कलाकारहरुको अभिनय रहेको ‘छ माया छपक्कै’ बाट आर्जन भएको केही रकम सामाजिक कार्यमा लगाउने दीपकराजले घोषणा गरेका छन् । साथै, उनले भविष्यमा अझै राम्रो फिल्म बनाउने प्रतिवद्धता व्यक्त गरेका छन् । उनले फेसबुकमार्फत् विदेशी फिल्मलाई कोटा लगाउने सञ्चारमन्त्रीको उद्घोष स्वागतयोग्य रहेको पनि बताएका छन् ।
फिल्मीखबर

ताजा खबर