कोरोना विरुद्धको बुस्टर डोज लगाउन सरकारको आग्रह

 सरकारले कोभिड १९ विरुद्ध पूर्ण मात्रा खोप लगाएकालाई बुस्टर डोज लगाउन आग्रह गरेको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा.सङ्गीता मिश्रले कोभिड–१९ विरुद्धको खोपको मात्रा पूरा गरेका वा जोन्सन एन्ड जोन्सन खोप लगाएकालाई बुस्टर खोप लगाउन आग्रह गर्नुभएको हो ।

मन्त्रालयद्वारा आयोजित नियमित प्रेस ब्रिफिङ मार्फत प्रवक्ता डा.मिश्रले खोप लगाएको तीन महिना पूरा गरेका १८ वर्ष माथिका सबैलाई बुस्टर डोज लगाउन आग्रह गर्नुभएको हो ।

छिमेकी देशहरूमा कोरोनाको नयाँ भेरियन्ट देखिने क्रम जारी रहेकाले स्वास्थ्य मापदण्ड पालना गर्न समेत मन्त्रालयले आग्रह गरेको हो ।

नेपालमा कोरोना विरुद्धको पूर्ण मात्रा खोप लगाउने १२ वर्षदेखि माथिका लक्षित जनसङ्ख्या ८४ प्रतिशत पुगेको समेत प्रवक्ता मिश्रले जानकारी दिनुभयो ।

सरकारले एनोफिलिज जातको लामखुट्टेको टोकाइबाट हुने औँलो रोगबाट बच्न विभिन्न सावधानी अपनाउन समेत अनुरोध गरेको छ ।

औँलो रोग लागेमा १० देखि १५ दिनसम्म ज्वरो आउने, टाउको दुख्ने, शरीरका भित्री अङ्ग सुन्निने, जोर्नी दुख्ने, थकित महसुस हुने, शरीरमा रगतको मात्र कम हुने जस्ता लक्षण देखिने र सरकारी स्वास्थ्य संस्थामा यो रोगको निःशुल्क उपचार हुने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको हो ।

यसैगरी देशैभरि आज ११ जनामा थप कोरोना संक्रमण पुष्टि भएको छ ।

५ हजार ८ सय ९१ नमुनाको परिक्षण गर्दा ११ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयका प्रवक्ता डा.सङ्गीता मिश्रले जानकारी दिनुभयो ।

गएको २४ घण्टामा १७ जना सङ्क्रमणमुक्त भएका छन् ।

देशभरिका २ सय ५२ सक्रिय सङ्क्रमितले आइसोलेसनमा रहेर उपचार गरिरहेको मन्त्रालयले जनाएको छ ।


ताजा खबर