सङ्गीतकार शक्ति बल्लभसहित ६ जना सम्मानित

मातृभूमि साहित्य समाज मकवानपुरले सङ्गीतकार शक्ति बल्लभसहित ६ जनालाई सम्मान गरेको छ । 

हेटौँडामा आज आयोजित एक समारोहका बीच सङ्गीतकार शक्ति वल्लभ, पुरातत्त्वविद् वसन्त विडारी, साहित्यकार सीताराम अधिकारी, नाटककार उज्ज्वल शर्मा भण्डारी, अधिकारकर्मी सरस्वती बर्तौला र बाल कलाकार जेनिश उप्रेतीलाई एउटै मञ्चमा सम्मान गरिएको हो । 

साहित्य समाजले २० हजार राशिको नित्य गोविन्द स्मृति सङ्गीत पुरस्कार–२०७८ बाट शक्ति वल्लभलाई सम्मान गरेको हो । 

यस्तै १५ हजार राशिको क्षेत्रबहादुर स्मृति सम्मान–२०७८ बाट वसन्त विडारी, ११ हजार राशिको होमनाथ–बलदेवी मातृभूमि छन्द साहित्य सम्मान–२०७८ बाट गोरखाका सीताराम अधिकारी, १५ हजार राशिको राजकुमार स्मृति मातृभूमि सम्मानबाट उज्ज्वल शर्मा भण्डारी, १० हजार राशिको मञ्जु सुवेदी स्मृति मातृभूमि सम्मान–२०७८ बाट सरस्वती बर्तौला र मङ्गलादेवी श्रेष्ठ स्मृति मातृभूमि बाल सम्मान–२०७८ बाट द भ्वाइस अफ किडका विजेता गायक जेनिश उप्रेतीलाई सम्मान गरेको हो । 

विभिन्न व्यक्तिले आफ्ना परिवारका सदस्यको स्मृतिमा स्थापना भएको कोषबाट पुरस्कार तथा सम्मान प्रदान गरेको हो । 

मातृभूमि साहित्य समाज मकवानपुरका अध्यक्ष माधव पोख्रेलको अध्यक्षता तथा बागमती प्रदेशसभा सदस्य एवम् पूर्व राज्यमन्त्री जुनेली श्रेष्ठको प्रमुख आतिथ्यमा भएको सम्मान कार्यक्रममा साहित्यकारहरूले रचना वाचन समेत गर्नुभएको थियो ।


ताजा खबर