धारा ३७० खारेज संविधानसम्मत : राजदूत पुरी

काठमाडौँ — नेपालका लागि भारतीय राजदूत मञ्जिभसिंह पुरीले भारत सरकारले केही समयअघि गरेको संविधानका दुई धारा ३७० र ३५ ‘ए’ खारेजी संवैधानिक रूपमा ठीक रहेको दाबी गरेका छन् ।

नीति अनुसन्धान प्रतिष्ठान नेपाल र नेसनल ल कलेजले बिहीबार आयोजना गरेको ‘भारतीय संविधानको धारा ३७० : अवधारणा तथा यथार्थ’ कार्यक्रममा राजदूत पुरीले उक्त दुई धाराको खारेजीसँगै जम्मु र कश्मीरमा विकास र समृद्धि हुने बताए।

भारतले केही समयअघि संविधानका दुई धारा खारेज गरेर जम्मु–कश्मीरलाई दिइएको विशेष अधिकार हटाएको थियो, जसलाई लिएर अन्तर्राष्ट्रिय रूपमै समर्थन र विरोध भइरहेको छ। पुरीले भने यसलाई भारत र पाकिस्तानबीचको आन्तरिक मामिला भएको बताए। उनले जम्मु र कश्मीरका केही भूभागमा पाकिस्तानले हस्तक्षेप गरिरहेको दाबी गरे।

राष्ट्रिय स्वयंसेवक संघअन्तर्गत अखिल भारतका प्रचार प्रमुख अरूण कुमारले जम्मु र कश्मीरमा विकास र समृद्धि ल्याउन भारत सरकारले संविधानको धारा खारेज गरेको बताए।

‘एक मुलुकमा दुई संविधान लागू हुन सक्दैन। जम्मु र कश्मीर सुरुवातदेखि नै भारतका थिए र रहिरहन्छन्,’ उनले भने। पाकिस्तानले उक्त क्षेत्रमा आतंकवादीको बढावा दिएको पनि उनले दाबी गरे।

 


ताजा खबर