कुराउनी व्यवसायमा सिन्धुलीको पराजुली परिवार

सिन्धुलीको दुधौली नगरपालिका–११, धनसरीकी सत्यदेवी पराजुली बिहान झिसमिसेमा उठेर चुलोमा लिपपोत र आगो बाल्नुहुन्छ । त्यसबेला सम्ममा उहाँका श्रीमान् तुलसी पराजुली ठुल्ठूला कराही र दूध लिएर आइसक्नुहुन्छ ।

आगो दन्किएर कराहीको दूध तात्न थालेपछि उहाँहरूलाई सहयोग गर्न तुलसीका बाबु ७२ वर्षीय वेदप्रसाद र छोरा झुलन आइसक्नुहुन्छ । यो पराजुली परिवारको दैनिकी हो । उहाँहरू विगत १४ वर्षदेखि घरमा दूधबाट कुराउनी बनाउने र त्यसलाई बिक्री गर्दै आउनुभएको छ ।

कुराउनी उत्पादन गरेर बिक्री गर्दासम्म पराजुली परिवारका तीनपुस्ता एकसाथ काममा खटिन्छन् । पराजुली परिवारले बनाएको कुराउनी गाउँमा मात्र हैन, तराईका बजारमा पनि लोकप्रिय छ । विषेशगरी कोसेलीका लागि कुराउनी मन पराउने धेरै छन् । वेदप्रसादको कुराउनी उद्योग लक्ष्मीनारायण दूध डेरीको नामले परिचित छ ।

घरेलु तथा साना उद्योग विकास समिति, सिन्धुलीमा दर्ता गरी सुरु गरेको यो कुराउनी उद्योगले अहिले पराजुली परिवारको रोजगारी र आम्दानीको स्रोत बनेको छ । दैनिक ३० देखि ४० किलो कुराउनी उत्पादन गरी बिक्री गर्दै आएको वेदप्रसादका माइलो छोरा तुलसीप्रसाद जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “हरेक दिन बिहान झिसमिसेदेखि ११ बजेसम्म कुराउनी बनाउने चटारो हुन्छ । उत्पादन भएको कुराउनी बढी मात्रामा कोसेली पठाउन गाउँलेले नै किनेर लैजान्छन् । कुराउनी प्रतिकिलो थोक मूल्य पाँच सय र खुद्रा मूल्य ५५० रुपियाँमा बिक्री हुन्छ । ” घरका सबैले काम गरेकाले प्रतिकेजी दुई सय रुपियाँ बच्ने वेदप्रसादले बताउनुभयो । उहाँका अनुसार गाउँले ३० किसानको दैनिक १५० लिटर दूध किन्ने गरिएको छ ।

सुरुमा कुराउनी बनाउने र बेच्न काम वेदप्रसादले एक्लै गर्नुहुन्थ्यो, अहिले छोराबुहारी र नातिनातिनाले सघाउँदा उहाँ खुसी हुनुहुन्छ । उहाँ यो व्यवसायबाट खुसी मात्रै होइन, सन्तुष्टि हुनुहुन्छ । “यो चोखो कमाइ हो, मेहनत त हुन्छ । खानेमान्छे पनि खुसी हुन्छन्, हामी पनि सन्तुष्ट छौँ,” उहाँले थप्नुभयो । कुराउनीकै लागि उहाँको घरमा लैनो गाईभैँसी कहिले टुट्दैन । पराजुली परिवारको डेरीले दूध खरिद गर्ने भएपछि गाउँका अन्य किसान पनि गाईभैँसीपालनमा उत्साहित भएका छन् ।


ताजा खबर