‘ए’ डिभिजन लिगमा १०औँ चरणदेखिका खेल शुक्रबारबाट

शहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल अन्तर्गत १०औँ चरणदेखिका खेलहरु माघ २८ गते शुक्रबारदेखि सुरु हुने भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले मंगलबार १०औँ चरणदेखिका खेल तालिका सार्वजनिक गरेको हो । एन्फाले सार्वजनिक गरेको तालिका अनुसार १०औँ र ११औं चरणको खेल तीन दिनमा सकिनेछ ।

११औँ चरणको खेल फागुन ३ देखि ५ गतेसम्म हुनेछ । १२औँ चरणका खेलहरु फागुन ७ देखि १० गतेसम्म हुनेछ । एन्फाले १३औँ चरणको खेल फागुन १२ देखि १४ गतेसम्म गर्ने जनाएको छ । अहिले लिगको शीर्षस्थानमा रहेको मच्छिन्द्रको २३, दोस्रो स्थानमा रहेको मनाङ मस्र्याङ्दी क्लबको १९ र तेस्रो स्थानमा रहेको आर्मीको १७ अंक छ । रेलिगेसनमा च्यासल र फ्रेन्ड्स रहेको छ । च्यासल १३औँ र फ्रेन्ड्स क्लब अन्तिममा  छ । नौ खेलमा एउटै खेल जित्न नसकेको फ्रेन्ड्सको तीन अंक छ ।

सातौँ राउन्डसम्मको शीर्षटोलीले एएफसी कप छनोट खेल खेल्न पाउने एन्फाले राखेको प्रावधान अनुसार मच्छिन्द्र एएफसी कपका लागि छनोट भईसकेको छ । लिगमा कूल १३ राउन्ड खेल हुनेछ । १४ क्लबको सहभागिता रहेको ‘ए’ डिभिजनको विजेताले ७५ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछ । उपविजेतालाई ५० लाख र तेस्रो हुने टोलीलई २५ लाख रुपैयाँ प्रदान गरिने एन्फाले जनाएको छ । यसैगरी लिगमा प्रत्येक खेलको विजेतालाई ५० हजार र खेल बराबरी भएको अवस्थामा दुवै टोलीलाई २५/२५ हजार रुपैयाँ प्रदान गरिएको छ ।

लिगको ‘मोस्ट भ्यालुएबल’ खेलाडीलाई तीन लाख, उत्कृष्ट गोलरक्षकलाई ‘गोल्डेन ग्लोब’ सहित दुई लाख, सर्वाधिक गोलकर्तालाई ‘गोल्डेन बुट’ सहित दुई लाख रुपैयाँ र ‘राईजिङ प्लेयर’ लाई एक लाख ५० हजार रुपैयाँ पुरस्कार प्रदान गरिने पनि एन्फाले जनाएको छ । –रासस


ताजा खबर