एमसीसी अघि बढाउन सहयोग गर्न प्रधानमन्त्रीको आग्रह

प्रधानमन्त्री शेरबहादुर देउवाले संसद्को गतिरोध अन्त्य, अमेरिकासँग गरिने एमसिसी परियोजना सम्झौता लगायतका समसामयिक राजनीतिका विषयमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग छलफल गर्नुभएको छ । 

प्रधानमन्त्री निवास बालुवाटारमा आइतवार भएको छलफलमा प्रधानमन्त्री देउवाले अमेरिकी सहयोग आयोजना एमसिसि अगाडि बढाउनका लागि सहयोग गर्न दुवै दललाई आग्रह गर्नुभएको छ । 

छलफलपछि सञ्चारकर्मीसँग कुरा गर्दै नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले प्रधानमन्त्रीको एमसिसि सम्बन्धी प्रस्तावमा एमाले अध्यक्ष ओलीले सत्ता पक्षको स्पष्ट धारणा आएपछि मात्रै आफ्नो धारणा दिने बताउनुभएका जानकारी दिनुभयो । 

यस्तै, बैठकमा सत्ता साझेदार दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आगामी निर्वाचनपछि मात्रै एमसिसि पारित गर्ने गरी सबै दलहरूको बीच सहमति गरी अगाडि बढ्न सुझाव दिनुभएको पनि महासचिव पोखरेलले बताउनुभयो । 

बैठकमा प्रधानमन्त्री देउवाले संसद्को अवरोध अन्त्य गरी सहयोग गर्न प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसँग आग्रह गर्नुभएको र एमालेले आफ्ना मागहरूको सम्बोधन पछि मात्रै संसद् चल्न सक्ने बताएको महासचिव पोखरेलले बताउनुभयो  । 

बैठकमा समयमै स्थानीय तहको निर्वाचन सम्पन्न गर्ने विषयमा समेत कुराकानी भएको एमाले महासचिव शङ्कर पोखरेलले जानकारी दिनुभयो । –रासस


ताजा खबर