काँग्रेसको निर्वाचित केन्द्रीय समितिको बैठक सम्पन्न

नेपाली काँग्रेसको १४ औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय समितिको आज बसेको पहिलो बैठकले महाधिवेशनमा विभिन्न ठाउँबाट आएर नेपाली काँग्रेसलाई शुभेच्छा प्रकट गर्ने राजनीतिक दलका नेता, अधिवेशन सफल पार्न खटिने निर्वाचन समिति, शुभेच्छुक तथा सञ्चार माध्यमहरूलाई धन्यवाद प्रकट गरेको छ ।

पार्टी कार्यालय सानेपामा आज बसेको बैठकमा पार्टी सभापति एवं प्रधानमन्त्री शेर बहादुर देउवाले क्रिसमसका अवसरमा शुभकामना दिनुहुँदै पार्टीलाई एकताबद्ध गरी अगाडी बढ्ने बताउनुभयो ।

बैठकले राष्ट्रिय सभा निर्वाचनका लागि आयोगमा दल दर्ता गर्न पार्टी कार्यालयका मुख्यसचिव कृष्ण प्रसाद पौडेललाई जिम्मा दिने निर्णय गरेको पार्टीका सह महामन्त्री बद्री पाण्डेले बताउनुभयो ।

नेपाली काँग्रेसको १४ औँ महाधिवेशनबाट निर्वाचित पदाधिकारी एवं केन्द्रीय सदस्यहरूलाई प्रमाण पत्र वितरणपछि करिब १५ मिनेट केन्द्रीय समितिको बैठक बसेको थियो । 

१४ औँ महाधिवेशनबाट काँग्रेसमा १३ पदाधिकारीसहित १ सय ३४ सदस्यीय केन्द्रीय कार्यसमिति चयन भएको छ । 


ताजा खबर