नेपाल टेस्ट खेल्‍ने राष्ट्र बनाउने छु : कप्तान सन्दीप

नेपाली राष्ट्रिय क्रिकेट टोलीका नवनियुक्त कप्तान सन्दीप लामिछानेले आफ्नो कप्तानीमा नेपाललाई टेस्ट मान्यताप्राप्त राष्ट्र बनाउन मुख्य भूमिका निर्वाह गर्ने बताउनुभएको छ ।

हाल अष्ट्रेलियामा चर्चित बिग बास लिगमा व्यस्त सन्दीपले मंगलबार क्रिकेटको विश्वचर्चित समाचार संस्था क्रिकिइन्फोलाई अन्तर्वार्ता दिँदै नेपाललाई टेस्ट राष्ट्रको मान्यता दिलाउन दीर्घकालीन लक्ष्य राखेको बताउनुभएको हो ।

‘नेपाललाई एकदिवसीय मान्यता भन्दामाथि उठाउने लक्ष्य राखेको छु । हामी सबैलै बारम्बार एउटै कुरा भन्दै आएका छौँ, एकदिवसिय विश्वकप खेल्नुपर्छ र टेस्ट राष्ट्र बन्नुपर्छ । तर, यो लक्ष्य चुनौतीपूर्ण छ । जबसम्म म कप्तानको रुपमा यहाँ छु । हामीले टेस्ट राष्ट्र बन्नका लागि आफ्नो तर्फबाट सम्भव भएसम्मको प्रयास गर्नेछौँ,’ सन्दीपले भन्नुभयो ।

सन्दीपले केवल टोलीका २१ जना खेलाडी र पदाधिकारीको मात्र नभएर तीन करोड नेपालीको नेतृत्व गर्न पाउनु आफ्ना लागि खुशीको क्षण भएको पनि बताउनुभयो । ‘नेपाली क्रिकेटमा उतारचढाव भए पनि हामी उज्ज्वल भविष्यको खोजीमा छौँ । हामी मैदान बाहिरका असहमतिलाई हटाएर मैदानमा राम्रो प्रदर्शन गर्दै विश्वकपमा छनोट हुनेछौँ । सोही अनुसार अगाडि बढ्नेछौँ,’ सन्दीपले भन्नुभयो ।

सन्दीपले प्रशिक्षक पुबुदु दसानायकेको आगमनले नेपाली क्रिकेटलाई थप उत्साहित बनाएको पनि बताउनुभएको छ । ‘पुबुदुको प्रशिक्षणमा सन् २०११ देखि २०१६ सम्म नेपाली क्रिकेटले ठूला उपलब्धि हात पारेको छ । मलाई राष्ट्रिय टोलीमा ल्याउने व्यक्ति उहाँ नै हो । फेरि उहाँकै प्रशिक्षणमा नेपाली क्रिकेट थपमाथि पुग्ने विश्वास छ,’ सन्दीपले भन्नुभयो ।

क्यानको बुधबार बसेको बोर्ड बैठकले नियमित कप्तान ज्ञानेन्द्र मल्ल र उपकप्तान दीपेन्द्र सिंह ऐरीलाई पदमुक्त गर्दै सन्दीपलाई कप्तान नियुक्त गरेको थियो । क्यानले कप्तान मल्ल र उपकप्तान ऐरीसहित सोमपाल कामी र कमल सिंह ऐरीलाई सन् २०२२ को ‘सेन्ट्रल कन्ट्रयाक्ट’ मा सुरुको ६ महिना सहभागी नगराउने निर्णय गरेको छ । यो निर्णयले नेपाली क्रिकेट तरङ्गित बनेको छ ।

सन्दीपले ज्ञानेन्द्र मल्ल र दीपेन्द्र सिंह ऐरी नेपाली क्रिकेटको खम्बा भएको पनि बताउनुभएको छ । ‘कप्तान र उपकप्तान ठूलो कुरा होइन । उहाँहरु मेरो बेस्ट प्लेयर हुनुहुन्छ,’ सन्दीपले भन्नुभयो, ‘हामी सबै मिलेर नेपाली क्रिकेटलाई उचाइमा लैजानुपर्छ ।’ –रासस


ताजा खबर