कोभिडले ज्यान नजाने गरी काम गर्न सम्बद्धलाई निर्देशन

प्रधानमन्त्री शेरबहादुर देउवाले अब कोही नेपालीले कोभिडका कारण ज्यान गुमाउनुपर्ने अवस्था आउन नदिने गरी सम्बद्ध सबै पक्षलाई काम गर्न निर्देशन दिनुभएको छ । 

कोभिड–१९ विरुद्धको विशेष खोप अभियान सञ्चालन सम्बन्धमा ७ वटै प्रदेशका मुख्यमन्त्री तथा प्रमुख जिल्ला अधिकारीहरूसँगको आज गरिएको भर्चुअल बैठकलाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री देउवाले जनताको जीवन रक्षा नै सरकारको प्रमुख दायित्व भएकाले कोभिड विरुद्धको खोप अभियानलाई समयमै पुरा गर्न सबैलाई आ–आफ्नो क्षेत्रबाट भूमिका निर्वाह गर्न आग्रह गर्नुभयो । 

प्रधानमन्त्री देउवाले सम्पूर्ण नेपालीलाई चैत्र मसान्तसम्ममा खोप दिइसक्ने कुरामा आफू विश्वस्त रहेको पनि उल्लेख गर्नुभयो । 

कार्यक्रममा गृहमन्त्री बालकृष्ण खाँडले कोरोना विरुद्धको खोप अभियानलाई सफल बनाउन सरकार लागिपरेको बताउनुभयो । 

सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले कोभिडबाट जनताको जीवन रक्षा गर्न प्रधानमन्त्रीले गर्नुभएको अठोट अनुसार नै काम भइरहेको उल्लेख गर्नुहुँदै खोप अभियानलाई सफल बनाउन सञ्चार जगतलाई अझ बढी सक्रिय भूमिका निर्वाह गर्न आग्रह गर्नुभयो । 

अर्थमन्त्री जनार्दन शर्माले कोभिड–१९ विरुद्धको खोप अभियानलाई सफल पार्न कुनै पनि कसर बाँकी नराख्न आग्रह गर्दै त्यसका लागि बजेटको कुनै कमी हुन नदिने प्रतिबद्धता व्यक्त गर्नुभयो । 

त्यस अवसरमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री विरोध खतिवडाले खोप अभियान उत्साहजनक रहे पनि यसलाई पूर्णता दिन अझै तीव्रता दिनुपर्ने आवश्यकता रहेको बताउनुभयो । 

कार्यक्रममा, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजेन्द्र प्रसाद श्रेष्ठले कोभिड विरुद्धको अभियानमा विगतमा स्थानीय तथा प्रदेशको भूमिका अत्यन्तै प्रशंसनीय रहेको उल्लेख गर्नुहुँदै सरकारले सञ्चालन गरिरहेको खोप अभियानका साथै जनजागरणमा आगामी दिनमा पनि महत्त्वपूर्ण भूमिका खेल्न स्थानीय तहहरूलाई आग्रह गर्नुभयो । 

कार्यक्रममा नेपाल सरकारका मुख्य सचिव शंकरदास वैरागीले जनसरोकारको विषयमा कुनै कसुर बाँकी नराखीकन सम्बद्ध सबै पक्ष लाग्नु अहिलेको आवश्यकता रहेको बताउनुभयो ।

भर्चुअल बैठकमा विभिन्न प्रदेशका मुख्यमन्त्री तथा मन्त्रीहरूले कोभिड–१९ विरुद्धको खोप अभियानलाई आ–आफ्नो क्षेत्रमा तीव्रता दिइएको जनाउँदै यस विरुद्धका क्रियाकलाप तथा जनचेतना अभिवृद्धिमा लागिरहने प्रतिबद्धता जनाउनुभयो । 

मुख्यमन्त्रीहरूले प्रधानमन्त्री शेर बहादुर देउवाले आयोजना गरेको यस्तो संवाद कार्यक्रमबाट आफूहरूलाई कार्यक्षेत्रमा लाग्न थप उत्साह प्रदान गरेको पनि बताउनुभयो । – रासस


ताजा खबर