कांग्रेस सभापतिमा शेरबहादुर देउवा फेरी विजयी

बुधबार बिहान साढे ३ बजेसम्म सम्पन्न मतगणना परिणाम अनुसार देउवाले २७२४ मत प्राप्त गरेका छन्।

यो कुल खसेको मतको झण्डै ६० प्रतिशत हो। कांग्रेस सभापतिमा निर्वाचित हुन ५० प्रतिशतभन्दा बढी मत ल्याउनुपर्छ।

उनका प्रतिद्वन्द्वी डा. शेखर कोइरालाले १८१७ मत प्राप्त गरे। दोस्रो चरणको चुनावमा ३३ मत बदर भयो।

कांग्रेस केन्द्रीय निर्वाचन समितिका अनुसार, ४५६४ मत खसेका थिए। सभापतिमा निर्वाचित हुन २२८३ मत आवश्यक थियो।

पहिलो चरणमा कुनै पनि उम्मेदवारले ५० प्रतिशतभन्दा बढी मत ल्याउन नसकेपछि देउवा र डा. कोइरालाबीच दोस्रो चरणमा प्रतिस्पर्धा भएको हो।

पहिलो चरणमा पाँच जना प्रतिस्पर्धी थिए। पहिलो चरणमा सभापतिका उम्मेदवार बनेका प्रकाशमान सिंह, विमलेन्द्र निधि र कल्याण गुरुङले दोस्रो चरणमा देउवालाई सघाएका थिए।

सोमबार भएको पहिलो चरणको मतदानमा देउवाले २२५८, कोइरालाले १७०२, सिंहले ३७१, निधिले २५० र गुरुङले २२ मत प्राप्त गरेका छन्। पहिलो चरणमा ४ हजार ६ सय ७९ मत खसेको थियो। कांग्रेस महाधिवेशनमा देशभरका ४७४३ मतदाता रहेका थिए।


ताजा खबर