विवादका कारण सर्वोच्चमा आजपनि सुनुवाइ प्रभावित

सर्वोच्च अदालतमा देखिएको विवादका कारण करिब ५ सातायता मुद्दाको सुनुवाइ प्रभावित हुँदै आएको छ ।

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरासँग सर्वोच्चका न्यायाधीशहरूकै असन्तुष्टि र कानुन व्यवसायीहरूको छाता संस्था नेपाल बार एसोसिएसन आन्दोलनमा उत्रिएपछि सुनुवाइ प्रभावित हुँदै आएको हो । 

प्रधानन्यायाधीशले आफूबाहेकका इजलास गठन गरेर सीमित मुद्दाको पेशी तोके पनि नगन्य मुद्दामा मात्र सुनुवाइ भइरहेको छ । 

सर्वोच्चमा आजका लागि गठन भएका ७ संयुक्तसहित ८ वटा इजलासमध्ये ३ वटा इजलासमा मात्र सुनुवाइ भयो । 

आज पेशी तोकिएका ३ सय २ वटा मुद्दामध्ये ३ वटा इजलासमा १/१ गरी  जम्मा ३ वटा मुद्दामा मात्र सुनुवाइ भएको छ । आज बन्दी प्रत्यक्षीकरण, तामेली र निवेदन फिर्ता सम्बन्धी १/१ सामान्य प्रकृतिका मुद्दामा सुनुवाइ भएको थियो । 

विवादमा आएपछि सर्वोच्चकै न्यायाधीशहरुले प्रधानन्यायाधीश जबरालाई आफ्नो इजलास नराख्न आग्रह गरेको र नेपाल बारले समेत प्रधानन्यायाधीशको राजीनामा माग्दै प्रधानन्यायाधीशको इजलासमा बहस नगर्ने घोषणा गरेपछि उहाँले केही दिनयता आफ्नो इजलास राख्नुभएको छैन ।  

यसैबिच, प्रधानन्यायाधीश जबराको राजीनामा नआएसम्म आन्दोलन जारी राख्ने जनाएको नेपाल बार एसोसिएसनले आज पनि सर्वोच्च परिसरमा धर्ना दिएको छ । 

बारले आन्दोलनको समीक्षा गर्दै आगामी दिनमा कसरी अघि बढ्ने भन्ने बारे निर्णय लिन आजै दिउसो ३ बजे बैठक बोलाएको छ । –रासस


ताजा खबर