स्थानीय तहको निर्वाचन निर्धारित समयमै हुन्छ

सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले निर्धारित समयमै स्थानीय तहको निर्वाचन हुने बताउनुभएको छ । 

मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक गर्न आज सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता समेत रहनुभएका मन्त्री कार्कीले स्थानीय तहमा नेतृत्व विहीनताको अवस्था आउन नदिन सरकार सरकार प्रतिबद्ध रहेको बताउनुभएको हो । 

मन्त्री कार्कीले सङ्घीयता नेपालका लागि नयाँ अनुभव भएको हुनाले अहिलेको अनुभव समेतका आधारमा स्थानीय सरकारको काम–कारबाहीलाई थप प्रभावकारी तथा जनमुखी बनाउन सरकारले पहल गरिरहेको समेत बताउनुभयो । 

यसैबीच, बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले माघ १२ गते राष्ट्रियसभाको निर्वाचन गर्ने निर्णय गरेको छ । 

यस्तै, बैठकले विद्युतीय ग्रिड आधुनिकीकरण आयोजनाका लागि एसियाली विकास बैकबाट प्राप्त हुने ६० मिलियन अमेरिकी डलर सहुलियतपूर्ण ऋण स्वीकार गर्ने पनि निर्णय गरेको मन्त्री कार्कीले जानकारी दिनुभयो । 

मन्त्रिपरिषद् बैठकले पशु कल्याण विधेयक तर्जुमा गर्न सैद्धान्तिक सहमति प्रदान गर्ने, पशुप्रति हुने निर्दयी व्यवहार रोक्नका लागि समिति गठन गर्ने तथा सङ्क्रामक पशु रोग नियन्त्रण विधेयक तर्जुमा गर्न सैद्धान्तिक सहमति दिने निर्णय गरेको छ ।  

यसैगरी,  बैठकले नेपाल चाटर्ड एकाउन्टेन्स् संस्थाको पार्षद्मा नायव महालेखा परीक्षक वैकुण्ठबहादुर अधिकारी, सहसचिव बाबुराम सुवेदी र सह–महालेखा नियन्त्रक उमाकान्त आचार्यलाई मनोनयन गर्ने, नेपाल स्वास्थ्य सेवाको १२औँ तहमा डा.श्यामसुन्दर यादव, डा भिमसिंह टिंकरी र डा. गुणराज लोहनीलाई बढुवा गर्ने लगायतका निर्णय भएको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिनुभयो ।  –रासस


ताजा खबर