प्रधानमन्त्री लण्डनमा : बेलायतका लर्डसहरुसँग भेटवार्ता

प्रधानमन्त्री शेरबहादुर देउवासँग संयुक्त अधिराज्यको माथिल्लो सदन हाउस अफ लर्डसका लर्डस स्वराज पल, लर्डस शेख र लेडी शेखले शिष्टाचार भेटवार्ता गर्नुभएको छ ।

 नेपाली राजदूतावासमा आज बिहान भएको भेटमा उहाँहरूले प्रधानमन्त्री देउवाको कार्यकालमा नेपाल–बेलायत सम्बन्ध थप सुदृढ हुने विश्वास व्यक्त गर्नुभएको भेटमा सहभागी परराष्ट्र मन्त्रालयका सचिव भरतराज पौड्यालले जानकारी दिनुभयो ।

द्विपक्षीय सम्बन्धका जानकार तथा चिरपरिचित उहाँहरूले सम्बन्ध सुदृढ गर्न आफूहरूको सबै प्रकारको सहयोग सद्भाव रहिरहने विश्वास दिलाउनुभयो । 

उहाँहरू बेलायतको संसदमा नेपालका समस्या र सहयोग गर्ने विषयमा आवाज उठाउँदै आउनुभएको छ । 

सो अवसरमा प्रधानमन्त्री देउवाले द्विपक्षीय सम्बन्ध  र त्यसलाई प्रवर्द्धन गर्ने सम्बन्धमा धारणा व्यक्त गर्दै बेलायत सरकारले नेपाललाई गर्दै आएको सहयोगको सह्राना गर्नुभयो । 

भेटमा नेपालका तर्फबाट वन तथा वातावरण मन्त्री रामसहाय प्रसाद यादव, परराष्ट्र सचिव पौड्याल, शिष्टाचार महापाल डा दुर्गाबहादुर सुवेदी, यहाँ स्थित नेपालका कार्यवाहक राजदूत रोशन खनाललगायत हुनुहुन्थ्यो ।

नोभेम्बर १ र २ मा संयुक्त अधिराज्यको ग्लास्गोमा हुने जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धिको पक्ष राष्ट्रको २६औँ सम्मेलन (कोप–२६) अन्तर्गतको वल्र्ड लिडर समिटका लागि नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै शुक्रवार राति लण्डन आइपुग्नुभएको हो । 

प्रधानमन्त्री देउवा नेतृत्वको प्रतिनिधिमण्डल शनिबार र आइतबार यही रहनुहुने र विभिन्न भेटवार्ता तथा कार्यक्रममा व्यस्त रहनुहुने कार्य तालिका रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।


ताजा खबर