डुबानबाट धान बालीमा क्षति पुगेकालाई सरकारको राहत

भारत, अमेरिका र बेलायमा राजदूत सिफारिस

सरकारले बाढी तथा डुबानका कारण धान बालीमा पुगेको क्षतिका आधारमा किसानलाई राहत दिने निर्णय गरेको छ । 

मन्त्रिपरिषद् बैठकले बाढीले पूर्ण रूपमा क्षति पुगेको धान बालीका लागि ६५ प्रतिशतसम्म राहत दिने निर्णय गरेका सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिनुभयो । 

बैठकले १० कट्ठाभन्दा बढी ३ बिघासम्म धान बाली लगाएका मझौला किसानका लागि ३० प्रतिशत तथा ३ बिघाभन्दा बढी धान बाली लगाएका ठुला किसानका लागि २० प्रतिशत बराबर हुने गरी राहत दिने निर्णय गरेको मन्त्री कार्कीले जानकारी दिनुभयो । 

 यस्तै, बैठकले भारत, अमेरिका र बेलायतका लागि राजदूतको सिफारिस गरेको छ । 

भारतका लागि डा.शङ्कर शर्मा, अमेरिकाका लागि प्राध्यापक श्रीधर खत्री र बेलायतका लागि ज्ञानचन्द्र आचार्यलाई राजदूतमा सिफारिस गर्ने निर्णय भएको सञ्चार तथा सूचना प्रविधि मन्त्री कार्कीले जानकारी दिनुभयो । 

यस्तै, बैठकले नेपाली सेनाका प्रधान सेनापति प्रभुराम शर्मा नेतृत्वको भ्रमण दललाई भारत भ्रमणको स्वीकृति दिने तथा मरिन सुनकोसी डाइभर्सन आयोजनाको प्रथम चरणको आयोजनाका लागि बन क्षेत्र प्रयोग गर्न स्वीकृति दिने निर्णय गरेको छ । 

यसैगरी बैठकले महेश्वर काफ्ले र बामदेव अधिकारीलाई उपमहालेखा परीक्षकमा बढुवा गर्ने, नेपाली सेनाका उपरथी सरोजप्रताप राणालाई रथी पदमा बढुवा गर्ने, दीर्घकालीन शून्य उत्सर्जन रणनीति राष्ट्रिय अनुकूल योजना २०२१–२०५० स्वीकृत गर्ने लगायतका निर्णयहरू भएको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिनुभयो । 


ताजा खबर