विरामीलाई उपचारका लागि अचेत पार्ने एनेस्थेसिया

  • डा. राजु श्रेष्ठ , एनेस्थेसिया विशेषज्ञ

– अप्रेसन गर्नुपर्छ भनेका छन् । मेरो बिरामीको त ठूलो अप्रेसन गर्नुपर्छ रे । यो अस्पतालमा त हुँदैन रे ।

– मेरो बुहारीको बच्चा निकाल्ने अप्रेसन गनुपर्ने भयो । अप्रेसन अहिले हँुदैन रे । आठ घण्टापछि खाली पेटमा गर्नुपर्छ रे ।

– सुगर, प्रेसर घटबढ भएकाले अप्रेसन क्यान्सिल भयो ।

दैनिक जीवनमा हामीेले यस्ता भनाइ सुन्दै आएका छौं । अवश्य पनि सर्जिकल सेवा मेडिकल सेवा अथवा औषधि सेवनबाट गरिने उपचारभन्दा जटिल हुन्छ र हामी अप्रेसन गर्न भनेपछि डराउँछौं, धेरै विचार र सरसल्लाह गर्छौं । डाक्टरले दिएको औषधि खान सुरु गरिहाल्छौ । कुनै डाक्टरले अप्रेसन गर्नुपर्छ भन्दा हाम्रो पहिलो जिज्ञासा हुन्छ– औषधि खाएर ठीक हुँदैन र ?

दस वर्षयता चिकित्सा विज्ञानको क्षेत्रमा धेरै विकास भइसकेको छ । शल्यचिकित्सा क्षेत्रले अतुलनीय फड्को मार्नुमा एनेस्थेसियाको भूमिका कसैले नकार्न सक्दैन । शाब्दिक अर्थ केलाउँदा एनेस्थेसियाको अर्थ ‘असंवेदनता,’ ‘चेतना शून्यता,’ ‘अचेतना’ र अझ बुझ्ने भाषामा भन्दा ‘बेहोसी’ भन्ने बुझिन्छ । अप्रेसनको पीडा र प्रसव वेदनालाई एनेस्थेसियाले हटाइदिन्छ ।

एनेस्थेसिया एक यस्तो अस्थायी अवस्था हो, जसमा बिरामी अचेत, विस्मरण, पीडारहित र मांसपेशीहरुको गतिहीनता हुन्छ । यो यस्तो प्रयोग हो, जसका कारण बिरामीलाई आवश्यक उपचार विधि जस्तै ः अप्रेसन र अन्य प्रक्रिया गर्न सकिन्छ । यो विरामीको उपचारका क्रममा बिरामीको राम्रोका लागि गरिने शरीरको क्रियाविज्ञानविपरीत गरिने प्रयोग भएकाले यसको मुख्य उद्देश्य जतिसक्दो कम खतरा र कम संकट पैदा गर्नु हो । एनेस्थेसियाको उल्लेखित चार अवस्थामा बिरामीलाई राख्न विभिन्न औषधि र विधि उपयुक्त समयमा सही मात्रा र माध्यमबाट प्रदान गरिन्छ । बिरामीको अवस्थाको पूर्ण र सचेत निगरानी अप्रेसनको समय र त्यसपश्चात् पनि गरिराख्नुपर्ने हुन्छ ।

बिरामीको शरीरमा अक्सिजनको मात्रा, मुटुको गति र प्रवृत्ति (इसिजी), रक्तचाप, तापक्रम, शरीरमा पानीको मात्रा, पिसाब बनेको मात्रा, मांसपेशीको गतिहीनताको मूल्यांकन र केही तलमाथि र विषम परिस्थिति आएमा सोही अनुसारको औषधि र विधिको प्रयोग हुन्छ । अप्रेसनको सुरुवात पूर्व बिरामीलाई एनेस्थेसिया दिइन्छ र यो प्रक्रिया अप्रेसनभरि चलिरहन्छ । त्यो सकिएपछि बिरामीलाई अप्रेसन पूर्वको अवस्थामा फिर्ता गर्न औषधि सही मात्रामा दिइन्छ ।

बिरामीको शरीरको प्रत्येक अंग–अंग र थाहा भएको, रोग र समस्याको सही र पूर्ण जानकारीप्राप्त डाक्टरमात्र एनेस्थेसिया दिन सक्षम हुन्छ । रोगको अग्रीम जानकारीविना अनुभवविना, शंका र देखेका भरमा, विशेषज्ञको सहयोगीका रुपमा काम गरेको केही अनुभव र ज्ञानको भरमा एनेस्थेसियाको प्रयोग भएमा भयावह परिस्थिति सिर्जना भई बिरामीको मृत्युसमेत हुन सक्छ र त्यस्तो परिस्थिति हिजोआज विभिन्न अस्पतालमा भइरहेका छन् । त्यसैले अप्रेसनपूर्व अप्रेसन गर्ने डाक्टरमात्र हैन, एनेस्थेसिया डाक्टरसँग पनि परीक्षण गराउन र सल्लाह गर्न नभुलौं । मलाई अथवा मेरो बिरामीलाई बेहोस गराउने डाक्टर को हो ? कस्तो छ ? विशेषज्ञता हासिल गरेको छ वा छैन ? नेपाल मेडिकल काउन्सिलमा दर्ता छ वा छैन ? जान्न र सोध्न नबिर्साैं । अन्य डाक्टर वा मेडिकल स्टाफले विशेषज्ञताविना एनेस्थेसिया दिन खोज्छ भने त्यो एउटा लाइसेन्स नभएको खलासीले चलाएको गाडीसरह हुन्छ । त्यसैले यस्तो गाडीमा सवार भई आफ्नो र आफ्नो परिवारको ज्यान जोखिममा नपारौं । एनेस्थेसियाको डाक्टर तपाईं वा तपार्इंको बिरामीको अचेत अवस्थाको सच्चा पहरेदार र साथी हो । त्यसैले आफ्नो साथी डाक्टरलाई आफ्नो सम्पूर्ण रोग र स्वास्थ्यको अप्रेसनपूर्व सही जानकारी दिन सदैव तत्पर होऔं ।

‍‍‍‍‍‍‍

एनेस्थेसियाका प्रकार र जोखिम :

एनेस्थेसिया मूलतः तीन प्रकारका हुन्छन् ।

१) जनरल एनेस्थेसिया– सम्पूर्ण शरीरलाई अचेत, पीडारहित वा मांसपेशीको गतिहीनताको अवस्थामा राख्ने ।

२) क्षेत्रीय/रिजनल– शरीरको कुनै ठूलो भागमा नशाको प्रवाह रोकिदिने । जस्तै ः हातको अप्रेसन गर्दा हातलाई मात्र लठ्याउने वा बेहोस पार्ने विधि, तल्लो पेटको अप्रेसन, खुट्टाको अप्रेसनमा दिने एनेस्थेसिया ।

३) लोकल एनेस्थेसिया– जुन भागमा अप्रेसन गर्नु पर्ने हो, सो भाग वरिपरि सुई लगाएर दिने एनेस्थेसिया ।उल्लिखित विधिमध्ये कुनचाहिँ प्रयोग गर्ने भन्ने कुरा एनेस्थेसिया डाक्टरद्वारा बिरामीको रोग र अप्रेसनको प्रकृति र बिरामीसँगको सरसल्लाहबाट अप्रेसनपूर्व नै निर्धारण गरिन्छ ।

एनेस्थेसियाका जोखिम दुई प्रकारका हुन सक्छन् ।

१) अस्वस्थता– एनेस्थेसियाका कारण हुने कुनै रोग वा समस्या, जस्तै ः वाकवाकी लाग्नु, बान्ता हुनु, टाउको दुख्नु, रिङ्टा लाग्नु आदि ।

२) मरणाधीनता– एनेस्थेसियाले गर्दा हुने मृत्यु ।

यी जोखिमहरु अप्रेसनपूर्वको बिरामीको अवस्था, उमेर, अप्रेसनको प्रकृति, बिरामीका रिपोर्टहरु, अप्रेसनका क्रममा भएका घटना र अप्रेसनपश्चात भएका समस्यामा निर्भर गर्छ । यी समस्याको निश्चित मात्रा र प्रतिशत किटान गरी भन्न असम्भव हुन्छ ।यी समस्या दुई किसिमका हुन्छन् । धेरैजसो अगाडि नै होस पु¥याई तयारी र सचेत मूल्यांकन गरेमा रोकथाम गर्न सकिने खालका हुन्छन् र केहीचाहिँ रोकथाम गर्न नसकिने अप्रत्यासित र अचानक प्रकृतिका हुन्छन् । जस्तै ः औषधिको प्रतिक्रिया, अकस्मात् मृत्यु सिन्ड्रोम आदि । एनेस्थेसियाको कारणले मात्र बिरामीको मृत्यु हुने दर २० हजारमा १–२ जना मात्र हुने विभिन्न अध्ययनहरुले देखाएको छ ।

अन्त्यमा, म आफैं पनि विगत छ वर्षदेखि यही क्षेत्रमा कार्यरत रहेको र अन्य वरिष्ठ एनेस्थेसियाका डाक्टरहरुसँग काम गरेको अनुभवका आधारमा भन्नु पर्दा एनेस्थेसिया आजको दिनसम्म आइपुग्दा धेरै सुरक्षित भएको छ । तर विशेषज्ञ डाक्टरहरुको कमीले गर्दा हाम्रो जस्तो विकासोन्मुख देशमा धेरै चुनौतीहरु टड्कारो रुपमा देखा परिरहेका छन् । म व्यक्तिगत रुपमा सम्पूर्ण बिरामी र बिरामीका आफन्तहरुलाई अप्रेसनपूर्व एनेस्थेसिया दिने डाक्टरका बारेमा सोध्ने बानी बसाल्न र एनेस्थेसियाको डाक्टरलाई भेटी सही सरसल्लाह र निर्णय गर्न अनुरोध गर्न चाहन्छु ।


ताजा खबर