‘नेपाल असंलग्न परराष्ट्र नीतिको सिद्धान्तप्रति कटिबद्ध छ’

परराष्ट्रमन्त्री डाक्टर नारायण खड्काले नेपाल असंलग्न परराष्ट्र नीतिको सिद्धान्तप्रति कटिबद्ध रहेको बताउनु भएको छ ।

असंलग्न राष्ट्रहरुको आन्दोलन (नाम)को ६० औ स्थापना दिवसका अवसरमा सर्वीयको राजधानी बेलग्रेटमा आयोजित २ दिने उच्चस्तरीय सम्मेलनलाई सम्बोधन गर्दै मन्त्री खड्काले कुनैपनि देशको स्वतन्त्रता र सहिष्णुताको नेपालले उच्च सम्मान गर्ने जानकारी दिनुभयो ।

भगवान गौतमबुद्ध र सगरमाथाको देश नेपालले विश्वमा शान्ति र भाइचारा कायम गर्न राष्ट्रसंघ मार्फत महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको स्पष्ट गर्नुभयो । हाल विश्वमा बढ्दै गएको आणविक हातहतियार उत्पादनको होडवाजी सबै सदस्य राष्ट्रकै लागि चिन्ताको विषय भएको मन्त्री खड्काले उल्लेख गर्नुभयो । कोभिड- १९ को महामारीले विश्वलाई नै आक्रान्त पारेको वर्तमान समयमा सदस्य राष्ट्रहरुबीच आर्थिक सहयोग र साझेदारी अझ अपरिहार्य रहेको मन्त्री खड्काले बताउनुभयो ।

नेपाली जनतालाई कोरोना संक्रमणबाट जोगाउनु नेपाल सरकारको पहिलो प्राथमिकता रहेको जानकारी दिंदै परराष्ट्रमन्त्री खड्काले यस अभियानमा विश्व स्वास्थ्य संगठन लगायत विभिन्न मुलुकबाट प्राप्त सहयोगको सराहना पनि गर्नुभयो ।

आतंकवाद, भोकमरी र जलवायु परिवर्तनको असर न्यूनिकरण विश्वकै साझा समस्या र सरोकार भएको उल्लेख गर्दै मन्त्री खड्काले यी चुनौतिहरुको सामनाका लागि साझा कार्ययोजना र प्रतिबद्धता आवश्यक रहेको बताउनुभयो । –रासस


ताजा खबर