तालिवानले छात्रालाई पनि विश्वविद्यालय जान अनुमति दिने : छात्रसँग एउटै कक्षा भने बस्न नदिने

अफगानिस्तानमा तालिवानी समूहले छात्रालाई पनि अध्ययनका लागि विश्वविद्यालय जान अनुमति दिने निर्णय गरेको छ । तालिवानको  सत्ता आएपछि छात्रालाई विश्वविद्यालय जान प्रतिबन्ध लगाउने आशंकाकाबीच उनीहरूले विश्वविद्यालय जान दिने बताएका हुन् । तर एउटै कोठामा छात्रा र छात्रलाई सँगै राख्न भने नपाइने तालिवान सरकारका उच्च अधिकारीहरूले जनाएका छन् । 

विश्वविद्यालयहरूमा महिलालाई पुरुषहरूभन्दा छुट्टै राख्न तालिवान सरकारका नयाँ शिक्षा मन्त्रीले निर्देशन दिनुभएको छ । विश्वविद्यालयमा छात्रालाई पनि जान दिने निर्णयलाई तालिवानको यसअघि सन् १९९६ देखि २००१ सम्मको शासन व्यवस्थाभन्दा लचक हुने सङ्केतका रुपमा लिइएको छ । 

अघिल्लो शासनकालमा अफगानिस्तानमा महिला र बालिकाहरूलाई विद्यालय र विश्वविद्यालयमा जान प्रतिबन्ध लगाइएको थियो । विश्वविद्यालयहरूलाई लिङ्गका आधारमा पोसाकसम्बन्धी नयाँ नियम लागु पनि गरिने तालिबानले जनाएको छ ।

उच्च शिक्षासम्बन्धी मन्त्री अब्दुल बाकी हक्कानीले विद्यार्थीहरूलाई अध्यापन गराइने विषयहरूको समीक्षा गरिने पनि जानकारी दिनुभयो । 

तालिबानले महिलाहरूलाई शिक्षा र रोजगारीमा प्रतिबन्ध नलगाउने जनाएको छ । तर गत अगस्ट १५ मा सत्ता आफ्नो हातमा लिएसँगै तालिबानले सुरक्षा अवस्थामा सुधार नआएसम्म स्वास्थ्यकर्मीबाहेक अन्य महिलालाई कामबाट टाढै बस्न निर्देशन दिएको छ । तालिवानको अघिल्लो पटकको आफ्नै शासनकालमा भन्दा केही लचक भए पनि निवर्तमान सरकारभन्दा अहिलेको सरकार कठोर देखिएको छ । 

तालिबानले झण्डै एक महिनाअघि निर्वाचित सरकारलाई अपदस्थ गरी सत्ता कब्जा गरेको थियो । प्रदेश राजधानीहरू कब्जा गर्दै केन्द्रीय राजधानी कब्जा गर्न लागेपछि तत्कालीन राष्ट्रपति अशरफ घानीले देश छोडेर भागेपछि सत्ता तालिवानको हातमा आएको हो । उनीहरूले अहिले कामचलाउ सरकार बनाएका छन् भने अरू धेरै कामहरूमा अन्यौलता देखिएको छ । –रासस


ताजा खबर