एमालेसँग सहमतिका लागि थप पहल गर्नुपर्नेमा जोड

सभामुख अग्निप्रसाद सापकोटाले सङ्घीय संसद्को गतिरोध अन्त्यका लागि बोलाउनुभएको सर्वदलीय बैठकले गतिरोध अन्त्यका लागि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसँग सहमतिका लागि थप पहल गर्नुपर्नेमा जोड दिएको छ । 


सङ्घीय संसद् भवन नयाँ बानेश्वरको ल्होत्से हलमा आज बसेको सर्वदलीय बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमाले अनुपस्थित रहेका कारण बैठकमा नेताहरू बिच छलफल भए पनि संसद्को अवरोध अन्त्यका लागि कुनै ठोस निष्कर्ष ननिस्किएको बैठकपछि नेताहरूले बताउनुभयो । 
बैठकपछि सञ्चार कमीहरूसँग कुरा गर्नुहुँदै लोकतान्त्रिक समाजवादी पार्टी लोसपाका अध्यक्ष महन्त ठाकुरले छलफललाई निरन्तरता दिन र प्रमुख प्रतिपक्षी दल एमालेलाई समेत विश्वासमा लिएर अगाडि बढ्न सुझाव दिएको जानकारी दिनुभयो । 


बैठकमा सभामुखले प्रमुख प्रतिपक्षी दल एमालेलाई बैठकमा सहभागी हुन बिहान सम्म पनि टेलिफोन मार्फत आग्रह गरेको तर अध्यक्ष केपी शर्मा ओलीले बैठकमा सहभागी नहुन पार्टीका नेताहरूलाई निर्देशन दिएकाले एमाले सर्वदलीय बैठकमा सहभागी नभएको पूर्व सभामुख सुवास नेम्वाङ्ले बताउनुभएको जानकारी दिनुभएको राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलले बताउनुभयो ।

जनमोर्चा उपाध्यक्ष पौडेलले संसद्को गतिरोध राखिराख्न उपयुक्त नभएको र यसमा प्रमुख प्रतिपक्षी दलको भूमिका महत्त्वपूर्ण हुने भएकाले संवाद मार्फत गतिरोध अन्त्य गर्नुपर्ने बताउनुभयो । 


बैठकमा प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकिकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पाटी जसपाका अध्यक्ष उपेन्द्र यादव, लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्त ठाकुर, जनमोर्चा उपाध्यक्ष दुर्गा पौडेल, नेपाल मजदुर किसान पार्टीका प्रेम सुवाल, कानुन न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्रबहादुर कार्की लगायतका शीर्ष नेताहरूको सहभागिता रहेको थियो । 


ताजा खबर