छायाँको लस्करमा कालीचरण

काठमाडौँ — जीवशास्त्रका प्राध्यापक केआर खम्बूले आफ्नो राजनैतिक तथा शैक्षिक जीवनबारे लेखेको स्मरणात्मक पुस्तक ‘छायाँको लस्कर’मा आफ्ना सहकर्मी प्रधानमन्त्री केपी ओलीसँग अनकौं प्रसंगहरु कोट्याएका छन् ।

झापा कम्युनिष्ट आन्दोलनका कार्यकर्ता खम्बूको स्मरणमा तत्कालीन राजनैतिक अभियन्ता मोहनचन्द्र अधिकारी, सीपी मैनाली, केपी ओली, मदन भण्डारी, माधव नेपाल लगायतसँगको स्मरण छ । झापा आन्दोलनको बेला ओली कालीचरणमा नामले परिचित थिए ।

प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार साँझ प्रधानमन्त्री ओली र खम्बूकी जीवनसंगिनी शुभलक्ष्मी राईले संयुक्त रुपमा ‘छायाँको लस्कर’ विमोचन गरे । ओलीको ढिलाईको कारण विमोचन निर्धारित समयभन्दा सबा एक घण्टा पछि सरेको थियो । विमोचनमा खम्बुका सहकर्मी, गुरु, विद्यार्थीहरु पुगेका थिए । जीवशास्त्र अन्तर्गत उभयचर र सरीसृपमा विज्ञ खम्बू दृष्टिविहीन छन् । पोष्ट डक्टरेटको तयारी गर्दा गर्दै उनका दुवै आँखाका ज्योति गुमेका थिए ।

ओलीले आफूँगका स्मरण पुस्तकमा दुरुस्त भएको बताउँदै यी सन्दर्भ जोडिनु आफ्नालागि प्रेरणादायी भएको सुनाए । ‘ भूमिगत कालमा कमजोर होइन दह्रो संकल्पको कारण केपी ओली बदमास हो, देश र जनता विरुद्ध जाने भो भने पनि उहाँ (खम्बू)ले पत्याउनु हुन्न’ ओलीले भने, ‘म आफ्नै कालमा परिवर्तन हुन्छ भन्ने भएर आन्दोलनमा लागेको तर प्रधानमन्त्रीको जिम्मेवारीमा पुग्छु भन्ने लागेको थिएन ।’

झापा आन्दोलनमा खुम्बूको ठूलो योगदान छ भन्दै आफूले पूर्णकालिन कार्यकर्ता भएर हिँड्न नहिँडी अध्ययनमा लाग्न सुझाव दिएको ओलीले स्मरण गरे । लेखक खम्बूले दृष्टि वाचक सफ्टवेयरको सहयोगमा किताब लेखेको बताए । उनी किताब विमोचनको क्रममा पहिलो पटक प्रधानमन्त्री निवास बालुवाटार टेकेका थिए । ‘यो शिक्षा र राजनीतिसँग जोडिएको किताब हो’ खम्बूले सुनाए, ‘यीनै पात्रहरुका सन्दर्भमा यहाँ लेखेको छु ।’

विमोचनमा किताबको टिप्पणी गर्दै डा. जंगब चौहानले यो कृति राजनैतिक र साहित्यिक जीवनको दस्तावेज भएको बताए । ‘वाम राजनीतिमा माले, एमालेको उतार–चढाव र त्यसको प्रभाव यसमा थाहा पाउन सकिन्छ,’ चौहानले भने, ‘यहाँ लेखकले अनुसन्धान गर्दाका विषय, हिमाल, पहाड, तराईका परिवेश, भाषा, समाज, संस्कृति र तत्कालिन मानिसका चिन्तन समेटिएका छन् ।’

 


ताजा खबर