सर्लाहीबासीलाई लिफ्टिङ मार्फत सिन्धुलीको खानेपानी

सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका स्थित सानो कौवामा पर्ने धारा खोल्सीबाट सोलारको माध्यमले लिफ्टिङ प्रविधिबाट सर्लाहीको बागमती नगरपालिकाका बासिन्दालाई खानेपानीको व्यवस्था गरिएको छ ।

हरिहरपुरगढी गाउँपालिकाको समन्वय एवं बागमती नगरपालिकाको आर्थिक लागतमा दुवै स्थानीय तहका गरी ६६२ घरधुरीका ३५ सय जनसंख्यालाई खानेपानीको व्यवस्था मिलाईएको बागमती नगरपालिकाका मेयर भरतकुमार थापाले जानकारी दिनुभयो । हरिहरपुरगढी गाउँपालिका वडा नम्बर ६ स्थित धाराकुवामा इन्टेकमा जम्मा गरिएको पानीलाई सोलारले चल्ने मोटरबाट झण्डै एक किलोमिटर माथि कौवाडाँडामा पाईपबाट पानी चढाईने र आसपासका राँगेचुरी, सानो कौवा, कौवा भञ्ज्याङ, दापडाँडा, धिमिले डाँडा लगायत टोलका बासिन्दालाई खानेपानी वितरणको तारतम्य मिलाईएको खानेपानी उपभोक्ता निर्माण समितिका संयोजक तेरसाङ लामाले बताउनुभयो ।

सोलार सिस्टमको प्रयोगबाट झण्डै हजार मिटर तल सिन्धुलीको धारा खोल्सीमा रहेको पानिलाई लिफ्टिङ गरेर कैवा डाडाँमा पानि पुर्याउने र कौवाडाँडामा निर्माण हुने रिजर्व ट्यांकबाट स्थानीयको घरघरमा पानी पुर्याउने लक्ष्य रहेको बताईएको छ । तलबाट कौवाडाँडासम्म पानी चढाएर परिक्षण गरिसकिएको र अब निकट भविष्यमै कौवाडाँडामा रिजर्व ट्यांक निर्माण गरेर स्थानीयलाई खानेपानीको व्यवस्थापन मिलाईने बागमतीका मेयर थापाले जानकारी दिनुभयो । खानेपानिको अत्यन्त दुःख रहेको उक्त स्थानमा पानिको व्यवस्थापन हुने भएपछि स्थानीय समेत हर्षित भएका छन् ।

४० लाख रुपैंया खर्च भैसकेको उक्त प्रविधि प्रयोगको लागी पानि डाडाँ सम्म लैजान पाईपलाईन विस्तार र मुहानको ब्यवस्थापन तथा सोलार प्रविधि जडानको काम समेत संम्पन्न भैसकेको हरिहरपुरगडी गाउँपालिका अध्यक्ष कारसाङ लामाको भनाई छ । अध्यक्ष लामाले निकै तल खोल्सीमा रहेको पानि डाडाँ सम्म पुर्याउन निकै समस्या भएको बताउनुभयो । उक्त क्षेत्रमा पानिको सहज ब्यवस्थापन नहुदा स्थानीयले एक गाग्रो पानिको लागी दैनिक ४ घण्टाको बाटो हिड्नु पर्ने बाध्यता छ ।

अत्यन्त विकट रहेकोे उक्त चुरेका बस्तीबाट पानी समेत खान नपाएर धेरैले बसाई नै सरेको एक स्थानीय आईत सिङ थिङको भनाइ छ । सामान्य लगानीमा सो क्षेत्रमा पानीको ब्यवसथापन गर्न नसकिने भएकोले ठुलो लगानीको ब्यवस्थापन गर्नु पर्ने आवश्यकता रहेको बागमती नगरपालिका वडा नम्बर १ का वडाध्यक्ष गंभिर सिङ पाख्रीनले बताउनुभयो ।

स्थानीय सरकारमा निर्वाचित भएर आए पछि विषेश गरी चुरे क्षेत्रमा बसोवास गर्ने स्थानीयको सुविधालाई ध्यान दिदै यातायात, खानेपानी, शिक्षा र स्वास्थ्यको क्षेत्रमा नगरपालिका संबेदनसिल रहेको बागमती नगरपालिकाका मेयर थापाको भनाई छ ।


ताजा खबर