बिचौलियापिच्छे तरकारीको मूल्य फरक

काभ्रे/धादिङ — किसानले उत्पादन गरेको तरकारी बिचौलियाले फरकफरक मूल्यमा लिने गरेका छन् । काभ्रे नालाका किसान गोविन्द सापकोटाले बजार भाउ बुझ्न सक्ने किसानलाई बढी र अन्यलाई कम मूल्य दिने गरेको बताए । उनले हालै गोलभेंडा प्रतिकेजी ४०-४५ रुपैयाँ, सिमी र काँक्रो प्रतिकेजी ४० रुपैयाँमा बिक्री गरेको सुनाए । नालाकै अर्का किसान हरिशरण बजगाईंले बोल्न सक्ने र नसक्नेअनुसार बिचौलियाले भाउ तोक्ने गरेको बताए ।

पाँचखालका किसान विदुर खतिवडाले बिचौलियाले ठग्ने गरेकाले तरकारी आफैं बजार पुर्‍याउने गरेको बताए । ‘साथीहरूसँग ७१ वटा टनेलमा खेती गरेका छौं, उत्पादन जम्मा गर्छौं र बजारसम्म आफैं पुर्‍याउँछौं,’ उनले भने । गोलभेंडा प्रतिकेजी ५५, धनियाँ १ सय ५० र रायोको साग ६० रुपैयाँमा बिक्री गरेको उनले बताए । थोरै उत्पादन गर्ने किसान भने बिचौलियाले दिएको कम मूल्यमै बिक्री गर्न बाध्य छन् । पोखरा, नारायणघाट लगायतका प्रमुख सहरहरूमा समेत काभ्रेको तरकारी पुग्नेगरेको छ ।

सदरमुकाममै चर्को मूल्य

धादिङको बुंगचंगमा एक केजी घिरौंलाको ६० देखि ७० रुपैयाँ पर्छ । सदरमुकाम बीचबजारमा १ सय ३० सम्म बिक्री हुन्छ । किसानबाट ४० देखि ५५ रुपैयाँमा किनेको काँक्रो १ सय २५ मा बेचिन्छ । तीतेकरेला ६० देखि ७५ सम्ममा खरिद गरी १ सय २० रुपैयाँ, गोलभेंडा १३ देखि २० रुपैयाँमा किनेर ६० रुपैयाँसम्ममा बिक्री हुन्छ ।

किसानसँग खरिद गरिने मूल्य र सहरमा ग्राहकलाई बेच्ने मूल्य बिचौलियाले नै तोक्ने गरेका छन् । राजधानीलाई २७ प्रतिशत ताजा तरकारी निर्यात गर्ने धादिङ जिल्लाको सदरमुकाममै गत सालको तुलनामा तरकारीको मूल्य तीन गुणाभन्दा धेरै छ । किसानले उत्पादन गरेको कृषि उपजलाई राजधानीलगायत बजारसम्म पुर्‍याउँदा बिचौलियाको ४ देखि ५ तह पार गर्नुपर्ने भएपछि उपभोक्ता महँगीको मारमा पर्ने गरेका छन् ।

 


ताजा खबर