जय स्वास्थ्यकर्मी सिपाहीहरु !!

 मन्जु बिष्ट (भट्टराई)

स्वस्थ जीवन मानिसको सबैभन्दा ठूलो सम्पति र स्वस्थ भई जिउन पाउनु उसको नैसर्गिक अधिकार हो। आजकाल असल मानव र मानव स्वास्थ्य भन्दा पर पुगेर जताततै पद, प्रतिष्ठा र पुजीलाई प्राथमिकतामा राखी व्याख्या गरेको पाईन्छ।

बदलिंदो समयसंगै मानिसहरु आफ्ना इच्छा र आवश्यकताहरु शारीरिक गतिविधिहरुबाट नभई अरु माध्यमबाट पुर्ति गर्ने तर्फ अग्रसर हुने हुँदा मानव स्वास्थ्य आफैमा जोखिमको विषय बनिरहेको छ। त्यसैले “HEALTH IS WEALTH”- सुरक्षित जीवन यात्राको निमित्त डाक्टर, नर्स, स्वास्थ्य संस्था र औषधि जस्ता कुराहरु मानिसको लागि अनिवार्य साधन जस्तै बन्न पुगेको देखिन्छ।

हामी स्वास्थ्यकर्मीहरु आर्थिक मानव हैन सामाजिक मानव हुनसकुँ भन्नेमा प्रेरित भएर यस कर्ममा छौँ। एउटा स्वस्थ परिवार, समाज वा कुनै राष्ट्र निर्माणको निमित्त सक्षम जनशक्तिको आवश्यक पर्दछ र यस्तै सक्षम जनशक्ति हुनको निमित्त स्वस्थ मानवको आवश्यकता पर्दछ। त्यसैले कुनै लक्ष्य प्राप्तिको आधार औजार मानव स्वस्थलाई लिन सकिन्छ।

मानिसहरुलाई स्वस्थ रही जीवन जिउनको लागि डाक्टर र नर्सहरु अहोरात्र बिरामीहरुको सेवामा तल्लिन रहन्छन्। चिकित्सकको पहिलो उद्देश्य बिरामीहरुको उपचार गरी कसरी छिटो निको पार्न सकिन्छ भन्ने तर्फ केन्द्रित रहन्छ।”मानवको स्वास्थ्य सेवालाई ठूलो कर्म र धर्म” ठान्ने चिकित्सकहरुलाई हाम्रो समाजमा सम्मानको दृष्टिले हेरिन्छ।

कतिपय अवस्थामा स्वास्थ्यकर्मीबाट कुनै जटिल किसिमको उपचारको क्रममा प्राविधिक त्रुटी हुन सक्छ वा क्षेति पनि हुन सक्छ, यस अवस्थामा चिकित्सक माथी केही छिटफुट दुर्व्यवहार पनि हुने गरेको पाईन्छ, यस्तो अवस्थामा स्वास्थ्यकर्मीहरुको मनोवलमा गहिरो चोट पुग्न सक्छ।

यसरी दिनरात नभनि मानव रक्षाको निमित्त अनवरत खट्टिने स्वास्थ्यकर्मीहरुलाई सकरात्मक उर्जा सहितको कार्य वातावरण आवश्यक पर्ने देखिन्छ। यस तर्फ सरोकारवाला पक्षहरुले बिभिन्न माध्यमबाट नागरिकहरुलाई सचेत र जिम्मेवार गराउनुपर्ने देखिन्छ।

सबैपक्षले स्वास्थ्यकर्मीलाई दूर्व्यवहार हैन, पेशाप्रति सम्मान प्राप्त हुने किसिमले हौसला दिनुपर्दछ। म यहाँ के निवेदन गर्न चाहन्छु भने चिकित्सक र नर्सको नजरमा सबै बिरामी समान हुन्छन। जसरी क्रिमीयाको युद्धमा फ्लोरेन्स नाईटिङ्गेलले घाइते सैनिक र अन्य घाइतेहरुको उपचार गरिन, मदर टेरेसाले सिंगो पृथ्वी मेरो घर हो भन्दै गरिव बस्ती र कुष्टरोगीहरुको उपचार गरिन, त्यसैगरी नै चिकित्सकहरुले पनि बिरामीहरुको सेवामा अहोरात्र खटिएका हुन्छन्।

चिकित्सकहरुको भावना नै “सेवा नै धर्म हो” भन्ने तर्फ केन्द्रित हुन्छ। अन्त्यमा, यो कोभिड-१९ को महामारीमा आफ्नै ज्यान जोखिममा राख्दै मानव स्वास्थ्यको निमित्त अनवरत खटेर बिरामीहरुलाई नयाँ जीवनको दाताको रुपमा आफूलाई स्थापित गर्ने सम्पूर्ण स्वास्थ्यकर्मी सिपाहीहरु र ॐ अस्पताललाई नयाँ जीवन प्रदान गर्न सुस्वास्थ्यको आशीर्वाद मिल्ने मन्दिरको रुपमा विकास गर्न तल्लीन सम्पूर्ण सरोकारवालाप्रति हार्दिक नमन।

जय स्वास्थ्यकर्मी सिपाहीहरु !!

लेखक काठमाडौं चावहिलस्थित ॐ हस्पिटल एण्ड रिसर्च सेन्टरकी रजिष्टर्ड नर्स हुन् ।


ताजा खबर