कोपा अमेरिका फुटबलमा ब्राजिलको लगातार दोस्रो जित

आयोजक ब्राजिलले कोपा अमेरिका फुटबलमा लगातार दोस्रो जित निकालेको छ ।

शुक्रबार बिहान भएको खेलमा पेरुलाई ४-० गोल अन्तरले पराजित गर्दै ब्राजिलले लगातार दोस्रो जित दर्ता गरेको हो ।


ओलम्पिक निल्टन सान्तोस स्टेडियममा ब्राजिललाई जित दिलाउन एलेक्स सान्ड्रो, नेयमार, एभर्टन रिबेरो र रिचार्लीसनले एक एक गोल गरे ।

खेलको १२ औं मिनेटमा एलेक्सले गोल गर्दै ब्राजिललाई सुरुवाती अग्रता दिलाएका थिए । उनले ग्राबियल जिससको पासमा गोल गरे ।

खेलको ६८ औं मिनेटमा नेयमारले गोल गर्दै ब्राजिललाई २-० को अग्रता दिलाए । फ्रेडमा पासमा उनले गोल गरे ।

ब्राजिलका लागि नेयमारको यो ६८ औं गोल हो । पेलेको कीर्तिमान भन्दा नेयमार ९ गोलले पछि रहेका छन् ।

खेलको ८९ औं मिनेटमा एभर्टनले गोल गर्दा ब्राजिलले ३-० को अग्रता बनायो । रिचार्लीसनको पासलाई सदुपयोग गर्दै उनले गोल गरेका हुन् ।

त्यसपछि खेलको इन्जुरी समयमा रिचार्लीसनले गोल गर्दै ब्राजिललाई ४-० को सानदार जित दिलाए ।

यस जितसँगै समूह ‘बी’ मा रहेका ब्राजिलले २ खेलमा ६ अंक जोडेको छ ।

ब्राजिल समूहको शीर्ष स्थानमा रहेको छ । ब्राजिलले पहिलो खेलमा भेनेजुएलालाई ३-० गोल अन्तरले पराजित गरेको थियो ।

पहिलो खेल खेलेको पेरुको यो पहिलो हार हो । पेरु समूहको पुछारमा रहेको छ ।

यसै समूहको अर्को खेलमा कोलम्बिया र भेनेजुएलाले गोलरहित बराबरी खेल्दै अंक बाडेका छन् ।

कोलम्बिया २ खेलमा ४ अंक जोडेर समूहको दोस्रो स्थानमा रहेको छ ।

एक अंक जोडेको भेनेजुएला तेस्रो स्थानमा रहेको छ । –रोयटर्स


ताजा खबर