थप ६ हजार ६ सय ३६ जना कोरोना सङ्क्रमणमुक्त

नेपालमा आइतबार थप ६ हजार ६ सय ३६ जना कोरोना भाइरस सङ्क्रमणबाट मुक्त भएका छन् ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा कृष्णप्रसाद पौडेलले नेपालमा हालसम्म कोरोना संक्रमण मुक्त हुनेको सङ्ख्या ४ लाख ९१ हजार ९ पुगेको र निको हुने दर ८३ दशमलव ५ प्रतिशत रहेको जानकारी दिनुभयो ।

यसैगरी थप ३ हजार ४ सय ७९ जनामा भाईरस संक्रमण पुष्टि भएको छ ।

१० हजार ४ सय ७१ नमुनाको पिसिआर परीक्षण गर्दा ३ हजार २४ जना तथा ३ हजार २ सय ६२ नमुनाको एन्टिजेन परीक्षण गर्दा ४ सय ५५ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

काठमाडौँमा ७ सय ३१ जना, ललितपुरमा २ सय ५४ जना र भक्तपुरमा १ सय ४६ जना गरी काठमाडौँ उपत्यकामा १ हजार १ सय ३१ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् ।

यसैगरी थप ९९ जनाको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको छ ।

यसमा नेपाली सेनाले यस अगाडिका विभिन्न मितिमा व्यवस्थापन गरेको सङ्क्रमितका शवहरूको सङ्ख्या समेत जोडिएको मन्त्रालयका प्रवक्ता डा पौडेलले बताउनुभयो ।

यो सँगै नेपालमा हाल सम्म ७ हजार ८ सय ९८ जनाले कोरोना सङ्क्रमणका कारण ज्यान गुमाइसकेका छन् ।

यसैगरी देश भर गरी ८९ हजार २ सय १७ जना कोरोना भाइरसका सक्रिय संक्रमित रहेका छन् ।

सक्रिय सङ्क्रमितमध्ये ८२ हजार ७ सय ३ जना होम आइसोलेसन तथा बाँकी ६ हजार ५ सय १४ जना विभिन्न अस्पताल तथा संस्थागत आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ ।

तथ्याङ्क अनुसार देशका विभिन्न ४७ जिल्लामा ५ सय भन्दा बढी सक्रिय संक्रमित रहेको मन्त्रालयका प्रवक्ता डा. पौडेलले जानकारी दिनुभयो ।

यसैबीच स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना विरुद्धको पहिलो डोज खोप प्राप्त गरेको व्यक्तिले १६ हप्तापछि पनि अर्को डोज खोप लिन सकिने जनाएको छ ।

मिडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. कृष्णप्रसाद पौडेलले पहिलो डोज खोप प्राप्त गरेका व्यक्तिले १६ हप्ता वा सो भन्दा पछि समेत दोस्रो डोज खोप लिन सक्ने बताउनुभयो ।

प्रवक्ता डा पौडेलले दोस्रो डोज खोपको प्रतीक्षामा रहेका सबै नागरिकलाई पुग्ने गरी आवश्यक खोपको व्यवस्था गर्न सरकारले पहल गरिरहेको पनि बताउनुभयो ।


ताजा खबर