विश्वकप छनोटमा आज नेपालले जोर्डनको सामना गर्ने

नेपालले विश्वकप छनोट अन्तर्गत आज जोर्डनको सामना गर्दैछ । खेल नेपाली समयअनुसार रातको ९ः४५ बजे सुरु हुनेछ । पछिल्लो खेलमा ताइपेइविरुद्ध गरेको अध्ययनले जितका लागि सहज भएको प्रशिक्षक अलमुताइरीको भनाइ रहेको छ ।

नेपाली राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले जोर्डन नेपालभन्दा बलियो टोली भए पनि जितको लक्ष्यसाथ नै मैदान उत्रने बताउनुभएको छ ।

प्रशिक्षक अलमुताइरीले खेलमा नतिजा हासिल गर्न खेलाडीको मानसिकता कस्तो छ भन्ने निकै महत्त्वपूर्ण हुने र त्यसमा टोलीले राम्रो गरेको बताउनुभयो । सोमबार नै हुने अर्को खेलमा अस्ट्रेलिया र चाइनिज ताइपेइ भिड्दै छन् ।

समूहमा अस्ट्रेलियाको ५ खेलमा १५ अङ्क छ । दोस्रो स्थानमा कुवेतले ६ खेलमा १० तथा जोर्डनले ५ खेलमा १० अङ्क जोडेको छ । नेपालको ६ अङ्क हुँदा ताइपेइ अङ्कविहीन छ । –रासस


ताजा खबर