तिहारमा दिदीलाई चिठी …

पूज्यनीय दिदी सेवा ढोग अनि सम्झना

दिदी घुम्दै फिर्दै यसपाली पनि तिहार आएछ भन्ने कुरा आगन डिलमा फुलेका मखमली र सयपत्रीले ससम्झाए अनि टि भी र एफ एमहरुमा बजेका भैली देउसी गीतहरुले….।दिदी जब एकान्तमा हुन्छु बाल्यकाल सम्झन्छु।कति खुशीका दिन थिए अबोध र अबुझ बेलामा ।

एक अर्काको कुरा आमालाई लगाएर आँफू राम्रो बन्न खोज्थ्यौं।जब दिदी भाइ झगडा गरी कुटाकुट गर्थ्यौं तब तिहारमा तँलाई टीका लगाइदिन्न भन्थ्यौ।जब भाइ टीका आउँथ्यो सयपत्री र मखमलीको माला नजानी नजानी भए पनि आँफै उन्थ्यौ।कयौंपटक सियोको टुप्पोले तिम्रा औंलामा घोचेको थियोे ।टीकाको साइत भन्दा धेरै अगाडिदेखि सबै तयारी गरी बस्थ्यौ तिमीलाई सम्झना छ छैन वा सम्झने फुर्सद छैन होला।

तिम्रो विवाह अगाडि नै अरबको खाडीमा छिरेँ म।कति तिहार आए गए तिम्रो हातले मेरो निधार नसजाएको कति बर्ष भयो ।बाल्यकालमा टीका बाङ्गो भयो भनेर झगडा गर्थें तिमीसङ्ग …।

त्यही बाङ्गो टीका नलगाएको पनि कति बर्ष बितेेछ।अधेरी रातमा टुकी बाली भैली देउसी खेल्न गएको सम्झना छ कि छैन।सबैका घरमा तिज र तिहार आउँछ दिदी हाम्रा घरमा तिज र तिहार नआएको धेरै बर्ष भइसक्यो ।

भाइ टीकामा जब सबैका दिदीबहिनी आउँछन्।तिमीलाई सम्झन्छु आँखाबाट अश्रुबर्षा हुन्छ।छोराछोरी र बाआमाले नदेख्ने गरि रुन्छु।मलाई थाहा छ अमेरिकामा बसेर भान्जाभान्जी पढाउन त्यति सजिलो छैन ।दिन रात नभनी दु:ख गरेकीछ्यौ तर चाडबाड आएपछि यो मनले सबै कुरा बिर्सने र तिम्रो अभाव खड्किरहन्छ ।

अझै कति तिहार खाली निधार बस्न पर्ने हो म….।बा प्रत्येक दिन आमासङ्ग कचकच गर्नुहुन्छ ।छोरीको मुख नदेखी मर्छु कि भनी…।आमासङ्ग जवाफ छैन चुपचाप बस्नुहुन्छ।

बाआमाको मनको धोको मनमा नरहोस्।बिन्ती गर्छु दिदी बिदा मिलाएर एक पटक बाआमालाई भेट्न आऊ । जहिले दिदी भाइको भेट हुन्छ त्यही बेला तिज मनाउँला तिहार मनाउँला दिदी ।यो तिहार पनि खाली निधार रोएरै बित्ने भयो ।

तिम्रो प्यारो भाइ

रोजन थापा

कतार


ताजा खबर