प्रधानमन्त्रीद्वारा सन्थाल एकीकृत बस्तीको शिलान्यास

प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार मोरङको उर्लाबारीमा निर्माण हुन लागेको सन्थाल एकीकृत बस्तीको शिलान्यास गर्नुभएको छ ।

शहरी विकास मन्त्रालयअन्तर्गतको शहरी विकास तथा भवन निर्माण विभाग, सङ्घीय आयोजना कार्यान्वयन एकाइ मोरङमार्फत रु ३० करोडको लागतमा बन्ने सो बस्तीमा १३२ घर हुनेछन् । भूमि तथा घरबारविहीन अतिविपन्न सन्थाल र उराँव समुदायलाई बसोबास दिन उक्त परियोजना शुरु गरिएको हो ।

उर्लाबारी–९ स्थित रातोहोली खोल्सी किनारको जग्गालाई नगरबाट सन्थाल एकीकृत बस्ती विकास गर्ने निर्णयअनुसार परियोजना शुरु गरिएको नगरप्रमुख खडक फागोले बताउनुभयो । उहाँका अनुसार ३१ हजार ७६८ वर्गमिटर जग्गामा निर्माण हुने बस्तीमा १०६ सन्थाल र २६ उराँव समुदायलाई घर दिइने छ ।

बस्तीमा एक परिवार बसोबासको लागि चाहिने न्यूनतम २०० कोठा, एक भान्साघर, एक शौचालयसहित सडक, खानेपानी, मनोरञ्जनस्थल, खोल्सी संरक्षण, बाल विकास केन्द्र, सामुदायिक भवनलगायतका संरचना निर्माण हुने छन् । –रासस


ताजा खबर