गैरकानुनी शुल्कको बिरोध गर्ने विद्यार्थीलाई नेसनल मेडिकल कलेजमा उपचाररत बिरामीका आफन्तले लखेटे

गैरकानुनी शुल्क उठाएको बिरोधमा प्रदर्शन गर्न पुगेको विद्यार्थीहरूको समूहलाई नेसनल मेडिकल कलेज वीरगन्जले लखेटेको छ। कलेजले बाहिरको ‘समूह’ खटाएर आफूहरूलाई लखेटेको आन्दोलनरत् विद्यार्थीले  बताएका छन्।

चिकित्सा शिक्षा संघर्ष समितिका उपाध्यक्ष प्रकाश चन्दका अनुसार बिहीबार दिउँसो विद्यार्थीहरूको समूह नेसनल मेडिकल कलेज परिसरमा आन्दोलन गर्न पुगेको थियो। ‘हामी शान्तिपूर्ण तरिकाले आन्दोलन गरिरहेका थियौं, कलेजबाहिरका व्यक्ति आएर ढुंगा, लाठी तथा रड देखाएर कुटपिट गर्न खोजेपछि हामी भाग्यौं,’ उनले भने।

आन्दोलनका क्रममा एक समूहले कुटपिट र आक्रमण गर्न खोजेपछि प्रहरीको सहयोग लिएर आफूहरू भागेको उनले बताए। आन्दोलनका क्रममा आफूहरू चढेको गाडीमा तोडफोडसमेत गरिएको उनले बताए।

उनका अनुसार विद्यार्थीले दिउँसो ३ बजे आन्दोलन थालेपछि कलेज सञ्चालक बसरुद्दिन अन्सारी आफैं कलेजको गेटमा आइपुगेका थिए। अन्सारी आउँदा उनी र विद्यार्थीबीच त्यहाँ चर्काचर्की भएको थियो।

यो क्रम चलिरहँदै अन्सारी त्यहाँबाट बाहिरिएपछि केही युवा आएर विद्यार्थीको समूहमाथि आक्रमण गर्न खोजेको चन्दले बताए। त्यो समूहमा को थिए भन्ने यकिन गर्न नसकिएको उनले बताए।

घटनाबारे कलेज सञ्चालक अन्सारीलाई हामीले सोध्यौं- तपाईंले बाहिरिया मान्छे ल्याएर विद्यार्थीलाई लखेट्नुभएको हो?

जवाफमा अन्सारीले आफू विद्यार्थीले आन्दोलन गरेको ठाउँमा गएर केहीबेर कुराकानी गरेको स्वीकार गरे। उनले आफू त्यहाँबाट बाहिरिएपछि उपचारमा आएका बिरामीका आफन्त र विद्यार्थीबीच ‘लफडा’ भएको बताए।

‘हाम्रो कलेजमा भएको शुल्कको समस्या हामी आफैं समाधान गर्छौं भन्दाभन्दै चितवनबाट आएको विद्यार्थीको समूहले अस्पतालमा अशान्ति मच्चायो, यो चलेपछि उपचारमा आएका बिरामीका आफन्तले उनीहरूलाई लखेटेको हो,’ अन्सारीले भने, ‘बाहिरका मान्छे आएर हाम्रो मेडिकल कलेजमा जथाभावी त गर्नु भएन नि। हामी आफ्नो समस्या आफैं समाधान गर्छौं। हाम्रा विद्यार्थीले पनि उनीहरूको प्रदर्शनलाई साथ दिएनन्।’

तर, संघर्ष समितिले नेसनल मेडिकलको गेटमा आन्दोलन गर्दा त्यहाँका विद्यार्थीले पनि साथ दिएका थिए।

पर्सा प्रहरीले पनि नेसनल मेडिकल कलेजमा विद्यार्थीहरूको आन्दोलन क्रममा कुनै पनि किसिमको झमेला र तोडफोड नभएको दाबी गरेको छ। ‘केहीबेर प्रदर्शन गरेपछि विद्यार्थी आफ्नो गन्तव्यतिर गएका छन्,’ पर्सा प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक वीरेन्द्रबहादुर शाहीले भने।

नेसनल मेडिकल कलेजले एमबिबिएस पहिलो र दोस्रो वर्षमा अध्ययनरत् विद्यार्थीसँग गैरकानुनी तरिकाले पाँच लाख रुपैयाँसम्म लिखित रुपमै मागेको थियो। सरकारले तोकेको शुल्कभन्दा बढी लिएको भन्दै विद्यार्थीहरूको संघर्ष समिति नेसनल कलेजमा प्रदर्शन गर्न गएको थियो।

प्रदर्शनका क्रममा आक्रमण प्रयास भएपछि चितवनबाट गएको संघर्ष समितिको टोली वीरगन्जबाट भागेको छ। ‘असुरक्षा महसुस भएपछि हामी वीरगन्ज छोडेर अन्यत्रै गएका छौं,’ चन्दले भने।

नेसनल मेडिकल कलेजले एमबिबिएसमा सय सिट संख्यामा विद्यार्थी भर्ना गरिरहेको छ। त्यहाँ अध्ययनरत् अधिकांश विद्यार्थीले कलेजले अतिरिक्त शुल्क उठाएको बताएका छन्।

सरकारले राजधानीबाहिरका मेडिकल कलेजमा एमबिबिएस अध्ययनका लागि ४२ लाख ५० हजार रुपैयाँ शुल्क तोकेको छ। तर, उक्त मेडिकल कलेजले एमबिबिएस पहिलो वर्षका विद्यार्थीबाट ५५ लाख रुपैयाँसम्म शुल्क उठाएको छ।

विद्यार्थीका अनुसार होस्टल शुल्क, खाना, रजिष्ट्रेसन, ट्युसनलगायत भन्दै मेडिकल कलेजले जथाभावी शुल्क उठाइरहेको हो। शुल्क नबुझाए परीक्षामा समस्या आउने भनेपछि मेडिकल कलेजले भनेबमोजिम शुल्क बुझाउन बाध्य भएको एक विद्यार्थीले बताए।

‘शुल्क नबुझाए परीक्षा सारिदिन सकिने भनेपछि हामीले पैसा बुझायौं,’ ती विद्यार्थीले भने।

विद्यार्थीले मेडिकल कलेजले गैरकानुनी रूपमा पैसा उठाएको कागजात सेतोपाटीलाई उपलब्ध गराएका छन्। विवरणमा पाँच लाख रुपैयाँ लिखित रूपमै उठाएको पाइएको छ।

नेसनल मेडिकल कलेजले परीक्षा, रजिष्ट्रेसनबापत ३५ हजार रुपैयाँ उठाएको छ।

लाइब्रेरी शुल्क भन्दै ३५ हजार, ल्याब शुल्क ३५ हजार, ‘प्रमोसन’ बापत १ लाख २५ हजार, होस्टल ८५ हजार, मेस शुल्क ९० हजार, बिलम्ब शुल्क १६ हजार ८ सय र अन्य गरेर ४० हजार रुपैयाँ उठाएको छ।

एमबिबिएस पहिलो वर्षमा अध्ययनरत् एक छात्राका अनुसार कलेजले भर्ना हुनुअघि अतिरिक्त शुल्कबापत पाँच लाख छ हजार रुपैयाँ उठाएको थियो।

दोस्रो वर्षका लागि भनी असोज ३० गते ४ लाख ६१ हजार ८ सय रुपैयाँ उठाइसकेको छ।

 


ताजा खबर