सैनिक भर्नामा चलखेल र अनियमितता गर्नेहरु परे सेनाको कारबाहीमा

काठमाडौं । सैन्यपद छनौट प्रक्रियामा किर्ते र आर्थिक लेनदेन गरेको आरोपमा नेपाली सेनाले ४ जना सैनिकसहित २७ जनाविरुद्ध कारबाही अघि बढाएको छ । नेपाली सेनाको देशका विभिन्न ४० भर्ना केन्द्रमा भइरहेको छनौटका क्रममा कतिपय ठाउँमा नेपाली सेनाकै कर्मचारीको संलग्नतामा अनियमितता भएको पाइएको छ ।

सेनाको उत्तरपश्चिम पृतना हेडक्वार्टरमा नक्कली परिचयपत्र बनाई किर्ते गरेको आरोपमा ३ जना र नं ५ बाहिनी अड्डा कैलाली भर्ना केन्द्रमा आर्थिक लेनदेनको आरोपमा १ जना सैनिकलाई निगरानीमा राखी अनुसन्धान शुरु गरिएको सेनाले जनाएको छ ।

त्यस्तै भर्ना केन्द्रमै नक्कली परिक्षार्थी पठाई परीक्षा दिन लगाउने ६ जना र ९ जना नक्कली परिक्षार्थीलाई सुर्खेत प्रहरीले पक्राउ गरी कारबाही अघि बढाएको र अन्य संलग्नहरुको खोजी भइरहेको नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले जानकारी दिएको छ ।

निर्देशनालयका अनुसार सैन्य भर्ना केन्द्र नं.२४ बाहिनी अड्डा, जुम्ला तथा नं.५ बाहिनी अड्डा, कैलालीमा नक्कली परिक्षार्थी पठाई परीक्षा दिन लगाएका ४ जना नक्कली परिक्षार्थीहरुलाई पक्राउ गरी अनुसन्धान भईरहेको छ । त्यस्तै अन्य ३ भर्ना केन्द्रहरुमा आर्थिक लेनदेनमा संलग्न ४ जना गैरसैनिक व्यक्तिहरुलाई पक्राउ गरी अनुसन्धान शुरु गरिएको छ ।

प्रधानसेनापति पूर्णचन्द्र थापाले नेतृत्व सम्हालेपछि नेपाली सेनाले भर्ना छनौट प्रक्रियालाई अझ बढी प्रभावकारी र व्यवस्थित बनाउन सबै भर्ना केन्द्रहरुमा भेरिफिकेसन डेस्क स्थापना गरी बायोमेट्रिक मेसिनको प्रयोग गर्दै आएको छ ।


ताजा खबर