गौतमबुद्ध कप क्रिकेटमा नारायणीको विजयी शुरूवात

चितवनमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा शनिबारदेखि गौतमबुद्ध कप–२०२० क्रिकेट प्रतियोगिता शुरू भएको छ।

प्रतियोगिताको उदघाटन खेलमा टीम नारायणीले विजयी शुरूआत गरेको छ।    

बागमती टीमलाई सुपरओभरमा पराजित गर्दै नारायणीले विजयी शुरूआत गरेको हो। सुपरओभरमा नारायणीले दिएको २६ रनको लक्ष्य पछ्याएको बागमतीले २० रन मात्र बनाउन सक्यो। यसअघि बागमती र नारायणीले समान ११७ रन बनाएपछि खेल सुपरओभरमा धकेलिएको थियो।  

बागमती प्रदेश क्रिकेट सङ्घको आयोजना तथा चितवन क्रिकेट सङ्घको संयोजनमा प्रतियोगिता शुरू भएको हो। प्रतियोगितामा तीन टीम बागमती, नारायणी र राप्तीको सहभागिता रहेको चितवन क्रिकेट सङ्घका अध्यक्ष कैलाश प्रधानले बताए। 

बागमतीको कप्तानमा राष्ट्रिय टोलीका कप्तानसमेत रहेका ज्ञानेन्द्र मल्ल छन्। यस्तै नारायणीको कप्तान सुवास खकुरेल छन्। यसअघि पूर्वराष्ट्रिय कप्तान पारस खड्काले कप्तानी गर्ने भनिएकामा पारसलाई कोरोना पुष्टि भएपछि सुवासले कप्तानी सम्हालेका हुन्। राप्तीको कप्तानमा विनोद भण्डारी छन्।      

प्रतियोगिताको दोस्रो खेलमा आइतबार बागमती र राप्ती भिड्नेछन् भने तेस्रो खेलमा राप्ती र नारायणी भिड्नेछन्। शीर्ष दुईमा रहने टोली फाइनलमा प्रवेश गर्नेछ। फाइनल खेल ३० मंसीरमा हुने आयोजकले जनाएको छ। –रासस


ताजा खबर