नेपाल तथा विश्वभरको कोविड्-१९ को आंकडा

नेपाल

  • परीक्षण संख्या
  • संक्रमित संख्या
  • मृतक संख्या
  • निको भएको

विश्व

  • संक्रमित संख्या
  • मृतक संख्या
  • निको भएको
  • संक्रमित देश

आइसियू किन र कस्कालागि ?

डा.हेमराज पनेरु

सघन उपचार विशेषज्ञ

सिकिस्त बिरामीहरूको उपचारका लागि विशेष किसिमले तालिमप्राप्त स्वास्थ्यकर्मीहरूको अटुट निगरानीमा विभिन्न किसिमका उपकरणसमेतको सहयोग लिई उपचार गर्न व्यवस्था मिलाइएको कक्ष वा वार्ड आईसीयू हो ।

कोभिड–१९ को महामारीमा संसारभरि नै आईसीयूको आवश्यकता टड्कारो रूपमा देखापर्यो । सारा संसारले आईसीयू अपुग भएर कैयौँ जनताको ज्यान गुमाउनुपरेको तीतो यथार्थ झेल्नुपर्यो । नेपाल पनि अछुतो रहेन । यस महामारीले हाम्रो स्वास्थ्य सेवा व्यवस्था कति कमजोर छ भन्ने उदाङ्गो पार्यो । यसक्रममा हाम्रो देशमा आईसीयूको उपलब्धता, त्यहाँ काम गर्ने जनशक्ति तथा उपकरणहरूका बारेमा धेरै चर्चा भयो तर समस्या समाधानका लागि प्रभावकारी उपायहरू सशक्त रूपमा अपनाइएको पाइएन । पर्याप्त खर्च देखाइए पनि सरकारले अलमलमै समय बिताएको अनुभूति स्वास्थ्यकर्मी तथा जनताले गरे ।
नेपालमा आईसीयूको विकास एकदमै मन्द गतिमा भइरहेको छ । सरकारको कोसिस नीतिगत रूपमा समेत अपर्याप्त छ । सिकिस्त बिरामीहरूको उपचारका लागि विशेष किसिमले तालिमप्राप्त स्वास्थ्यकर्मीहरूको अटुट निगरानीमा विभिन्न किसिमका उपकरणसमेतको सहयोग लिई उपचार गर्न व्यवस्था मिलाइएको कक्ष वा वार्ड आईसीयू हो । अस्पतालका अन्य वार्डहरूको दाँजोमा आईसीयूको भवन निर्माण, बनावट, स्वास्थ्यकर्मीहरूको तालिम, उपकरणको व्यवस्था र सञ्चालन प्रक्रिया फरक हुन्छ ।

 किन आवश्यक छ ?
रोगको प्रकृतिअनुसार विभिन्न अङ्गहरूमा हुने असरहरू फरक–फरक हुन्छन् । कतिपय रोगहरू समयक्रममा आफैँ ठीक हुन सक्छन्, कतिपय रोगहरू सामान्य उपचारले ठीक हुन्छन् भने केही रोगहरूले चाहिँ शरीरका विभिन्न अङ्गहरूमा गम्भीर असर गरी ज्यानलाई जोखिमको अवस्थामा समेत पु¥याउँछन् । ज्यानलाई नै जोखिमको अवस्थामा पु¥याउने रोगहरूको उपचार जटिल हुनुका साथै, खर्च र समयसमेत धेरै लाग्ने हुन सक्छ । उपचार सम्भव भएका तर तुरुन्त ज्यान जाने प्रकृतिका रोगहरूको उपचारका क्रममा ज्यान बचाइराख्ने कृत्रिम उपायहरू अवलम्बन गर्नु निकै आवश्यक हुन्छ, जसका लागि विशेष किसिमले तालिमप्राप्त स्वास्थ्यकर्मीहरू तथा उपकरणहरूको आवश्यकता हुन्छ । यस्तो उपचार व्यवस्थाका लागि आईसीयू अत्यावश्यक हुन्छ ।

 हाम्रो अवस्था
हाम्रो देशमा आईसीयूका लागि चाहिने दक्ष जनशक्ति, उपकरण तथा बेड (शøया) सङ्ख्याको चरम अभाव छ । भएका आईसीयूहरू समेतको उपचार क्षमताका आधारमा वर्गीकरण गरिएको छैन । नेपाल सरकारले आफैँ बनाएका मापदण्डहरूसमेत व्यवहारमा लागू गरिएको देखिँदैन । सरकारले तोकेका मापदण्ड (२०७०) हरू हेरौं ः
१. अस्पतालमा कुल उपलब्ध बेडको पाँच प्रतिशतको अनुपातमा आईसीयू बेड व्यवस्था गरेको हुनुपर्छ ।
२. आईसीयू कक्षमा प्रति दुई शय्याका लागि एक भेन्टिलेटर हुनुपर्छ ।
३. प्रतिशय्याको अनुपातमा एकजना स्टाफ नर्सको व्यवस्था हुनुपर्छ ।
४. कडा सरुवा रोग भएका बिरामीलाई सघन उपचार आवश्यक परेमा बिरामीलाई छुट्टै आइसोलेसनमा उपचारको प्रबन्ध मिलाएको हुनुपर्नेछ ।
नेप्लिज सोसाइटी अफ क्रिटिकल केयर मेडिसिनले काठमाडौँ उपत्यकामा आठ महिनाअघि गरेको सर्वेक्षणअनुसार उपत्यकामा रहेका सबै सरकारी तथा निजी अस्पतालसमेत गणना गर्दा जम्मा ४८० वटा आईसीयू शय्या रहेको पाइएको थियो । जसमध्ये झन्डै १५० शøयाचाहिँ सरकारी अस्पतालहरूमा थिए । भेन्टिलेटरको सङ्ख्या झन्डै २६० थियो भने जम्माजम्मी आठ सयजना क्रिटिकल केयर नर्सिङमा अनुभव वा तालिमप्राप्त नर्सहरू रहेका थिए । सरकारको पहलका साथै निजीस्तरबाट समेत बितेका आठ महिनामा केही आईसीयू बेड थपिएका छन् । विशेषज्ञताप्राप्त क्रिटिकल केयर फिजिसियन एकदमै थोरैमात्र अस्पतालहरूमा छन् । काठमाडौँ उपत्यकाबाहिरका मुख्य सहरहरूमा पनि आईसीयूहरू सञ्चालनमा छन् तर उपलब्ध सेवाका बारेमा यकिन तत्थ्याङ्क छैन । लेभल–३ सुविधा भने निकै थोरै आईसीयूहरूमा मात्र रहेको छ । धेरैजसो अस्पतालहरूमा छुट्टै आइसोलेसन बेड छैनन् ।
आईसीयू सञ्चालनको नेतृत्वविशेष किसिमले प्रशिक्षित क्रिटिकल केयर फिजिसियन वा इन्टेन्सिभिस्टले गर्नुपर्छ । आईसीयूको प्रभावकारी सञ्चालनका लागि आईसीयूकै लागि छुट्टै जिम्मेवारीसहितको जनशक्ति अत्यावश्यक हुन्छ । हाम्रो देशमा भने आईसीयू सञ्चालनमा रुचि भएका तर अरू पनि जिम्मेवारी निभाइरहेका चिकित्सकहरूले (जस्तै ः एनेस्थेसियोलोजिस्ट, इन्टर्निस्ट, जनरल सर्जन आदि) आईसीयूको समेत जिम्मेवारी सम्हालिरहेका छन्, जुन सराहनीय छ तर एकदमै अपर्याप्त छ । नर्सिङलगायत अन्य जनशक्तिसमेत नगन्यमात्र उपयुक्त किसिमले तालिमप्राप्त छन् । सरकारी निर्देशिका आईसीयू सञ्चालनको नेतृत्व कसले गर्ने भन्नेबारे मौन छ । आजसम्म नेपाल सरकारको स्वास्थ्य सेवामा क्रिटिकल केयर मेडिसिनलाई छुट्टै विधाका रूपमा अङ्गीकार गरिएको देखिँदैन, जुन आईसीयूको स्थापना, उपयुक्त सञ्चालन, र विकासका लागि निकै महŒवपूर्ण र अत्यावश्यक छ । इन्टेन्सिभिस्ट (क्रिटिकल केयर फिजिसियन)विनाको लेभल–३ आईसीयू कल्पनासमेत गर्न सकिँदैन । देशभरिका सरकारी स्वास्थ्य संस्थाहरू हेर्दा एकाध आईसीयूबाहेक धेरैजसो आईसीयूहरूमा लेभल–३ स्तरको सुविधा उपलब्ध छैन ।

 कति आईसीयू बेड आवश्यक
नेपाल सरकारको २०७० को मापदण्डअनुसार ५० शøया क्षमताभन्दा ठूला अस्पतालहरूमा कुल बेडको पाँच प्रतिशतको अनुपातमा आईसीयू बेड व्यवस्था गरेको हुनुपर्छ । ठूला अस्पतालहरूमा कम्तीमा १० प्रतिशतको अनुपातमा लेभल–३ बेड हुनुपर्छ । अहिले स्वास्थ्य मन्त्रालयअन्तर्गत रहेका कुनै पनि अस्पतालमा सरकारी मापदण्ड कार्यान्वयन भएको पाइँदैन । उदाहरणका लागि जम्माजम्मी २० बेडभन्दा कम आईसीयू बेड रहेको वीर अस्पतालमा लेभल–३ बेड सङ्ख्या न्यून रहेको छ । जब कि कम्तीमा पनि ६० बेड लेभल–३ आईसीयू हुनुपर्ने हो । त्रिवि शिक्षण अस्पतालमा पनि कम्तीमा ६० बेड हुनुपर्नेमा जम्मा ११ बेड लेभल–३ आईसीयू छ । अन्य प्रमुख अस्पतालहरूको स्थिति योभन्दा पनि नाजुक छ ।

 आईसीयू कस्तो हुनुपर्छ ?
आईसीयूको निर्माण सिकिस्त किसिमका बिरामीहरूको उपचारमा केन्द्रित भई गरिएको हुनुपर्छ । यस्ता बिरामीहरू अटुट रूपले स्वास्थ्यकर्मीहरूको प्रत्यक्ष निगरानीमा रहन्छन् । शरीरका विभिन्न अङ्गहरूले काम गर्न छोडिरहेको अवस्थामा मुख्य रोगको उपचारसँगै ती अङ्गहरूको कामलाई कृत्रिम रूपमा सघाउने प्रक्रियाहरूको (जस्तै ः कृत्रिम श्वासप्रश्वास वा मेकानिकल भेन्टिलेसन, रक्तचाप बढाउने औषधिहरू, हेमोडायालिसिस आदि) व्यवस्था आईसीयूमा गरिएको हुन्छ । यी र ज्यान बचाइराख्न आवश्यक पर्ने यस्ता किसिमका प्रक्रियाहरूका लागि विभिन्न विशिष्ट किसिमका तालिमप्राप्त जनशक्ति (जस्तैः इन्टेन्सिभिस्ट वा क्रिटिकल केयर फिजिसियन, क्रिटिकल केयर नर्स, फिजियोथिरापिस्ट, फार्मासिस्ट, डायटिसियनलगायत अन्य सहयोगीहरू) चौबीसै घण्टा सेवामा उपस्थित रहनुपर्छ । सामान्य वार्डभन्दा निकै भिन्न किसिमले निर्मित आईसीयू सञ्चालन इन्टेन्सिभिस्ट (क्रिटिकल केयर फिजिसियन)को नेतृत्वमा हुनुपर्छ र एकजना बिरामी हेर्नका लागि एकजना समर्पित (डेडिकेटेड) नर्स हुनुपर्छ । बिरामीको मुटुको गति, रक्तचाप, श्वासप्रश्वासको गति, शरीरको तापक्रम लगातार रूपमा नापिरहने उपकरण र अन्य यन्त्रहरू बिरामीलाई जोडेरै राखिएका हुन्छन् ।

 आईसीयूको निर्माण कसरी ?
निर्माणका हिसाबले आईसीयू निकै खर्च लाग्ने वार्ड हो । आईसीयूको निर्माणका लागि मुख्य रूपमा चारवटा क्षेत्र छुट्याउनुपर्छ । प्रत्येक क्षेत्रको निर्माण निश्चित मापदण्डहरू ध्यानमा राखी गर्नुपर्छ । जस्तै बेड राख्ने ठाउँ, बेडवरिपरि हुनुपर्ने खुला ठाउँ, झ्यालको साइज, भेन्टिलेसन, हावाको बहाव र चाप, हावा छान्ने या निर्मलीकरण गर्ने प्रविधि, तापक्रम नियन्त्रण गर्ने प्रविधि इत्यादि । यसका लागि विभिन्न व्यावसायिक संस्थाहरूले गाइडलाइनहरूसमेत प्रकाशित गरेका छन् ।

 आईसीयूको सरकारी संरचना
हाम्रो अहिलेसम्मको अवस्था हेर्दा आईसीयू भनेको भवन, मोनिटर अनि भेन्टिलेटर हो भन्ने बुझाइ देखिन्छ, जुन खेदपूर्ण छ । विशिष्ट जनशक्ति र उपचार व्यवस्था सञ्चालन प्रक्रिया अपरिहार्य हो भन्ने बुझाइको कमी सरकारी अस्पतालहरूमा देखिन्छ । आजसम्म सरकारी संरचनामा इन्टेन्सिभिस्टहरूको दरबन्दी नै छैन । आईसीयू व्यवस्थापनको जिम्मेवारी अरू पनि थुप्रै जिम्मेवारी सम्हालिरहेका फिजिसियन या एनेस्थेसियोलोजिस्टहरूलाई दिइएको छ । यस किसिमले व्यवस्थापन गर्न खोज्दा उहाँहरूले पर्याप्त समय आईसीयूको व्यवस्थापनमा दिन सकिरहनुभएको छैन । आईसीयूहरूको विकास अति मन्द गतिमा हुनुमा यो पनि एउटा प्रमुख कारण हो ।

 छुट्टै विधा
आईसीयू सञ्चालनका लागि भवन निर्माण र सामग्री खरिद एउटा सानो पाटोमात्र हो । वास्तविक आईसीयूका लागि त एउटा उपचार प्रणालीको समग्र रूपमा विकास र सञ्चालन सबैभन्दा प्रमुख कुरा हो । यस प्रकारको प्रणालीको विकास र सञ्चालन निरन्तर चलिरहनुपर्ने प्रक्रिया हो । जबसम्म क्रिटिकल केयरलाई छुट्टै विधाका रूपमा अङ्गीकार गरिँदैन तबसम्म यसको अपेक्षाकृत विकास हुन सक्दैन ।

 खर्च र गुणस्तरमा फरक
आईसीयू कस्तो हुनुपर्छ भन्ने हेर्न विदेश जानुपर्दैन, यहीँकै निजी अस्पतालहरूमा हेरे पुग्छ । प्राइभेट अस्पतालहरूले सरकारी अस्पतालहरूको तुलनामा धेरै बढी लगानी गरेको देखिन्छ । सरकारी अस्पतालहरूमा तालिमप्राप्त जनशक्ति अत्यन्तै न्यून छ या छँदै छैन भन्दा पनि हुन्छ । यसका कारणहरू निम्न छन् ः सरकारी संयन्त्रले विशेष किसिमले तालिमप्राप्त जनशक्ति नभई गुणस्तरीय सेवा दिन सम्भव छैन भन्ने कुरा स्वीकार गर्न नसक्नु । आईसीयूको उपचार खर्च अत्यधिक धेरै हुन्छ । किनभने निर्माणमा लगानी धेरै हुन्छ । तालिमप्राप्त नर्स चौबीसै घण्टा बिरामी स्याहारमा खटिनुपर्ने, डाक्टरहरू चौबीसै घण्टा आईसीयूभित्रै बसिरहनुपर्ने, बिरामीको रगत तथा अन्य रोग निदानका लागि आवश्यक जाँचहरू दिनदिनै र कतिपय अवस्थामा त प्रत्येक एक घण्टामै गरिरहनुपर्ने, सरसफाइ कर्मचारी धेरै र फोहोरमैला व्यवस्थापन खर्चिलो हुन्छ । निजी अस्पतालहरूको दाँजोमा सरकारी अस्पतालहरूको व्यवस्थापकीय पक्ष निकै कमजोर छ । निजी अस्पातालहरूले पर्याप्त मानवस्रोतको व्यवस्थापन गरेका छन्, सरकारी अस्पातालको तुलनामा ।

 सुधारका लागि
सरकारी संयन्त्रमा आमूल परिवर्तन आवश्यक छ । बिरामीको उपचारलाई ध्यानमा राखी आईसीयूको निर्माण निश्चित मापदण्डबमोजिम गरिनुपर्छ । आईसीयूहरूलाई लेभल–१, २ र ३ मा वर्गीकरण गर्नुपर्छ र सोहीअनुसार थप स्रोत परिचालन गरिनुपर्छ ।
बिरामी आफूखुसी आफैँले रोजेको अस्पतालमा जाने चलन छ । यसमा कुनै रोकावट वा सहजीकरण हुन सकेको छैन । निश्चित गाइडलाइन पालन गर्ने र आवश्यक सेवा स्थानीयस्तरमै उपलब्ध गराउनु अहिलेको आवश्यकता हो । सम्प्रेषण प्रणालीलाई चुस्त बनाउनु अपरिहार्य छ । आईसीयूहरूबीच समन्वय एवम् एकीकृत सञ्चालन व्यवस्था आवश्यक छ ।
विभिन्न संस्थाहरूमार्फत सरकारले नर्सहरूलाई आईसीयूसम्बन्धी तालिम सञ्चानल गरिरहेको छ तर ती तालिमप्राप्त नर्सहरूलाई उचित ठाउँहरूमा पदस्थापन गरिएको छैन । यसको प्रभावकारी व्यवस्थापन गर्न अत्यन्त जरूरी छ । आईसीयूको निर्माण, जनशक्तिको उचित व्यवस्थापन, सञ्चालनको ढाँचा नै नबनाई अन्धाधुन्ध भौतिक सामग्री खरिद गर्ने गरिएको देखिन्छ । यस्तो नीतिका कारण करोडौँको लगानी खेर गइरहेको छ ।

 डा. पनेरु नेप्लिज सोसाइटी अफ क्रिटिकल केयर मेडिसिन (एनसिसिएम) का महासचिव हुनुहुन्छ ।


ताजा खबर