तिहार मनाउने बिषयमा शास्त्र र परम्पराको बेमेल : किजापूजा अर्थात् भाइपूजाका तिथिमा पनि विवाद

१) कुकुर तिहारकै बेलुकी लक्ष्मीपूजा गर्ने?

२) न्हुदं नमनाई म्हपूजा गर्ने?

३) नेपाल संवत् ११३९ मा दुईपटक म्ह पूजा कसरी भयो?

४) अनि नेपाल संवत् ११४० मा चाहिँ म्ह पूजै परेन?

५) न्हुदं मनाएर म्ह पूजा गर्नुपर्ने ठाउँमा भाइपूजा गर्ने?

विशेषतः यी ५ प्रश्नले पात्रोले दिएअनुसार पर्व मनाउन अप्ठेरो मानेका छन्, नेपाली र विशेषतः नेवाः समुदायले। अझ न्हुदं अर्थात् नेपाल संवत्को नयाँ वर्ष तथा म्हपूजा अर्थात् आत्मपूजा र त्यसको भोलिपल्ट मनाइने किजापूजा अर्थात् भाइपूजाका तिथिमा झन् विवाद आएको छ।

नेपाल पञ्चाङ्ग निर्णायक समितिद्वारा स्वीकृत पात्रोहरूले तिहार पर्वका लागि यस्तो तालिका सार्वजनिक गरेको छ-

22 Oct Tihar Tithi Bibad

यसअनुसार यमपञ्चक भनी ५ दिन मनाउनेहरूले क्रमशः कार्तिक ८ गते शुक्रबार यमदीपदान, ९ गते शनिबार कागतिहार, १० गते आइतबार कुकुरतिहार र सोही राति लक्ष्मीपूजा, ११ गते सोमबार गाइगोरुपूजा तथा १२ गते मङ्गलबार भाइटीका मनाउन समितिले तोकेको छ।

तर माथिकै प्रश्नावलीअनुसार कुकुरतिहारकै दिन लक्ष्मीपूजा गर्नु हुन्छ कि हुन्न? हाम्रो ज्योतिषीय सिद्धान्त चन्द्रमान र सौर्यमान दुबै हेर्छ। कार्तिक १० गते आइतबार बिहान ६ः११ मा सूर्योदय हुँदा चन्द्रमाअनुसार चतुर्दशी तिथि छ। तर चतुर्दशी तिथि बिहान ११ः५० सम्म मात्रै रहन्छ, त्यसपछि औँशी तिथि सुरु हुन्छ। यसर्थ, पात्रोले चतुर्दशी लेखे तापनि ११ः५० पछि औँशी लागिसक्छ जुन भोलिपल्ट अर्थात् कार्तिक ११ गते सोमबार बिहान ९ः४३ सम्म रहन्छ।

शास्त्रले तिथि रहुञ्जेल नै उक्त तिथिको कार्य गर्नू भन्ने निर्देश दिन्छ र विभिन्न देवीदेवतालाई कुन–कुन समय पूजा गर्ने भन्ने पनि निर्देश दिन्छ। लक्ष्मीपूजा रात्रिकालीन पूजा हो र यसरी तिथि रहँदा नै पूजा गर्नू भन्ने शास्त्रीय वचनअनुसार लक्ष्मीपूजा कार्तिक १० गते राति औँशी तिथि रहँदा गर्नु सर्वोत्तम हो।

तर परम्परामा फरकपना पनि छ, यसकै आधारमा केही समूहले विवाद उठाएका छन्। एउटा सामान्य र सरल परम्परा छ— लाग्दो तिथि, छोड्दो व्रत र उत्सव, अर्थात् जुन दिन तिथि सुरु हुन्छ वा लाग्छ त्यो दिन श्राद्धकर्म आदि गर्ने र जुन दिन तिथि अन्त्य हुन्छ वा छोड्छ त्यो दिन व्रत, उत्सव, पूजा, जात्रा, पर्व आदि गर्ने। यस परम्पराका अनुयायीका लागि भने माथिको शास्त्रीय मान्यता बेमेल हुन पुग्छ— लक्ष्मीपूजा औँशी तिथिमा गर्ने पर्व हो र औँशी तिथि लाग्छ कार्तिक १० गते आइतबार दिउँसो ११ः५१ बजेदेखि, अनि छोड्छ कार्तिक ११ गते सोमबार बिहान ९ः४३ बजे। अब परम्पराअनुसार लक्ष्मीपूजा कार्तिक ११ गते सोमबार औँशी तिथि छोड्दा गर्नुपर्ने हुन्छ किनकि यो पर्वपूजा हो।

त्यस्तै, अर्को विषय छ— म्हपूजा र न्हुदं। म्हपूजा अर्थात् आत्मपूजा सबैले गर्न हुन्छ, तर यो विशेषतः नेवाः लोकपरम्परा मानिएको देखिन्छ। परम्पराअनुसार म्हपूजा गरिन्छ न्हुदंकै दिन, अर्थात् नेपाल संवत्को नयाँ वर्षको उपलक्ष्यमा पहिलो दिन राति गरिन्छ यो पूजा।

यसमा विवाद के आउन सक्छ भने, म्हपूजा पुरानो कि नेपाल संवत्? अर्थात् म्हपूजाकै दिन पारेर नेपाल संवत् सुरु भएको कि, नेपाल संवत्कै दिन पारेर म्हपूजा गर्न थालिएको हो? नेपाल संवत् ११३९ वर्षअघिको भन्ने प्रष्ट छ, तर म्हपूजाबारे यकिन इतिहास छैन। म्हपूजाबारे कुनै शास्त्रीय मत छ÷छैन, यसबारे थप अनुसन्धानले यस विवादलाई समाधानतर्फ उन्मुख गर्ला।

सांस्कृतिक निरन्तरताकै कारण होला, यति चाहिँ नकार्न सकिन्न कि न्हुदं र म्हपूजा सम्बन्धित छ। सबैभन्दा नेपाल पञ्चाङ्ग निर्णायक समिति यहाँ विवादित बन्यो— म्हपूजा चाहिँ कार्तिक ११ गते सोमबार र न्हुदं चाहिँ कार्तिक १२ गते मङ्गलबार भनी पात्रोले तोक्यो।

यसबारे वरिष्ठ संस्कृतिविद् वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको तर्क यस्तो थियो— पात्राले दिएअनुसार त नेपाल संवत् ११३९ मा दुईपटक म्हपूजा गर्ने भयौँ, अनि नेपाल संवत् ११४० मा चाहिँ एकपटक पनि नगर्ने?

म्हपूजा वर्षमा एकपटक गरिनेमा विवादै छैन। नेपाल संवत् ११३९ को पहिलो दिन अर्थात् वि.सं. २०७५ कार्तिक २२ गते बिहीबार तदनुसार ने.सं. ११३९ कार्तिक शुक्ल कछलाथ्व प्रतिपदामा म्हपूजा मनाइसक्यौँ, तब फेरि सोही वर्षको अन्तिम दिन अर्थात् ने.सं. ११३९ कार्तिक कृष्ण कौलागा औँशी तिथिमा तदनुसार कार्तिक ११ गते सोमबार म्हपूजा कसरी मनाउन सकिन्छ? अनि ने.सं. ११४० मा चाहिँ के म्हपूजा नै नगर्ने?

सामान्यतः बिहान न्हुदं मनाएर बेलुकी म्हपूजा गर्ने नेवाः समुदायले यसपटक एक दिनअघि म्हपूजा गरेर भोलिपल्ट बिहान न्हुदं मनाउन पात्राले लेखेको छ। यसै निर्देशलाई केही नेवाः समुदायले अव्यावहारिक भनेका छन्।

त्यस्तै, पात्रोअनुसार न्हुदंको दिन भाइटीका उल्लेख छ। यस दिन अर्थात् कार्तिक १२ गते मङ्गलबार भाइटीकाका लागि शुभसाइत बिहान ११ः५५ बजे तोकिएको छ।

शास्त्रअनुसार भाइटीका बिहानको चाड हो, र यो द्वितीया तिथि रहँदा नै गर्नुपर्ने हुन्छ। यसर्थ, दिउँसो द्वितीया तिथि रहने भनेको कार्तिक १२ गते मङ्गलबार हो। यस दिन बिहान सूर्योदय ६ः१३ मा हुँदा प्रतिपदा तिथि रहन्छ र यो तिथि बिहान ७ः५१ सम्म छ, त्यसपछि द्वितीय लाग्छ। भोलिपल्ट कार्तिक १३ गते बुधबार ६ः१३ मा सूर्योदय छ र मात्र केही मिनेट अर्थात् ६ः१८ सम्म द्वितीया तिथि रहन्छ, त्यसपछि तृतीया तिथि लाग्छ। तसर्थ, यस दिन दिउँसो द्वितीया नरहेकोले कार्तिक १२ गतेकै दिन भाइटीका र यमद्वितीया मनाउन पात्रोले तोकेको छ।

नेवाः समुदायको चलन स्वन्तिको हो, लक्ष्मीपूजा, म्हपूजा र किजापूजाको। अनि त्यसको भोलिपल्ट स्वां कोकायेगु भनी छोरीबेटीले उक्त पूजा विसर्जन गर्ने हो। स्वन्तिको पद्धति तान्त्रिक विधिसम्मत् हुन्छ, पद्धति लामो होस् वा छोटो तर तान्त्रिक व्यवहार भने यस पर्वमा मिश्रित नै हुन्छ।

दसैंमा पनि यसरी तीन दिनको तान्त्रिक पूजा हुन्छ— कुछि भ्वय्, स्याक्वट्याक्व र चालं, अनि चौथो दिन विसर्जन। यस तान्त्रिक परम्पराअनुसार कुनै पनि दिन खालि गर्न वा कुनै पनि दिन दुईवटा पर्व मनाउन पाइँदैन, तसर्थ व्यवस्था सुरुको दिन सूर्योदयमा चन्द्रमाको तिथि हेर्ने र पछि सौर्यमानअनुसारको दिन हेर्ने व्यावहारिक चलन छ। यसर्थ, ती दिनहरूमा चन्द्रमान गौण वा कहिलेकाहीँ अमान्य नै हुन्छ।

अर्को परम्परा छ— चथाः, चालं र म्हपूजा एकै बार हुनुपर्ने भन्ने। हुन त यसपटक चथाः अर्थात् गणेश चतुर्थी पर्व पनि विवादित नै थियो, कसैले भाद्र १६ गते सोमबार मनाए भने कसैले भाद्र १७ गते मङ्गलबार — यसमा पनि शास्त्र र परम्पराबीचकै द्वन्द्व थियो। ‘लाग्दो तिथि, छोड्दो व्रत’ भन्ने परम्पराअनुसार चाहिँ भाद्र १७ गते मङ्गलबार नै थियो। चालं अर्थात् विजया दशमी आश्विन २१ गते मङ्गलबार नै थियो र त्यसैले परम्पराअनुसार म्हपूजा पनि कार्तिक १२ गते मङ्गलबार नै मनाउनुपर्ने भन्ने लोकमान्यता छ।
यस्तै अर्को परम्परा पनि छ— सूर्योदयको तिथिलाई अहोरात्र मान्ने। पात्राले चतुर्दशीका दिन औँशी तिथिको लक्ष्मीपूजा लेखेकोले पनि भ्रमित भएकाहरू पनि छन्, यसको शास्त्र बुझाउन स–साना पात्रो असमर्थ नै हुन्छ। सूर्योदयको तिथिलाई दिनभर रहन्छ भनी मान्ने समुदायका लागि पनि पात्राले दिएको पर्वव्यवस्था चित्त नबुझ्दो नै हुन्छ।

यो परम्परा वेदाङ्ग ज्योतिषसँग मिल्दछ। नेपालमा कौण्डिन्यायन आचार्य विद्वान्हरूले यसरी वेदाङ्ग ज्योतिषीय पात्रो प्रकाशन गर्दै आएका छन्। यस परम्परालाई मान्ने हो भने यस किसिमको तिथि विवाद नै रहँदैन।

शास्त्रलाई मान्ने कि लोकपरम्परालाई भन्नेबीचको यो विवाद नौलो होइन, तर यसले समुदायलाई भने विभाजित नै पारेको देखिन्छ। नेपाल पञ्चाङ्ग निर्णायक समितिले शास्त्रलाई मान्यता दिन्छ, यसमा ज्योतिषशास्त्रका विद्वान् भेला भएका छन् र जोशी थरका नेवाः ज्योतिष पनि छन्। तर परम्परा मान्ने ठूलो जमात छ— शास्त्रलाई अटल र अपरिवर्तनीय मान्ने थरीले लोकपरम्परालाई सधैँ अमान्य नै मान्नेछ। यसको दीगो समाधान अहिले नै प्राप्त गर्नु सजिलो भने हुनेछैन।

अब के गर्ने?

शास्त्रसम्मत् पर्वपूजा गर्नेहरूका लागि पात्राले दिएको निर्देश नै स्वीकार्य हुन्छ। तर परम्परालाई नै सर्वोपरि मान्नेहरूका लागि भने यो अस्वीकार्य भएको देखिन्छ। यस्तो अवस्थामा आ–आफ्नो परम्परा र कुलाचारअनुसार नै पर्व मान्नु सर्वोत्तम उपाय हो।

यस्ता विवाद हुँदा विशेषतः ठुल्ठूला मठमन्दिर, बहाल आदिकै भनाइ मान्ने चलन पनि छ। काठमाडौंमा मरु गणेशस्थान, तलेजु, जनबहाः, इटुंबहाः, भगवान् बहाः आदि, पाटनमा तलेजु, हिरण्यवर्ण महाविहार, क्वाःबहाः, कृष्ण मन्दिर, स्वथः नारायण आदि, बुंगमतीमा रातो मत्स्येन्द्रनाथ करुणामय मन्दिर, भक्तपुरमा तलेजु, तिलमाधव नारायण, चाँगुनारायण आदिलाई आधिकारिक मानी त्यसैअनुसार आफ्नो पर्व चलाउन पनि सकिन्छ।


ताजा खबर