कतारका राजकुमारसहितको टोलीले चुम्यो आमादब्लम हिमालको शिखर

कतारका राजकुमार शेख मोहमद विन अब्दुल्लाले सोलुखुम्बुको छ हजार ८१२ मिटर उचाइको आमादब्लम हिमालको शिखर चुम्नुभएको छ ।

राजकुमार शेख मोहमदसहित अमेरिकन, क्यानेडियन र नेपाली गरी १४ जनाको टोलीले बुधबार बिहान ११ः२० मा अमादब्लम हिमालको चुचुरोमा पुगेको आरोहण व्यस्थापक हिमालयन गाइड्स नेपालका प्रबन्ध निर्देशक ईश्वरी पौडेलले जानकारी दिनुभयो ।

विश्वको सुन्दर तर आरोहणका लागि कठिन मानिने आमादब्लम हिमाल आरोहणका लागि कतारका राजकुमारसहितको टोली करिब दुई साताअघि काठमाडौँबाट लुक्ला हँदै आधारशिविर प्रस्थान गरेको थियो । आरोहणको लागि डोरी फिक्सिङको काम सकिएपछि मौसम समेत अनुकुल भएकाले छिटै आरोहण सफल भएको हिमालयन गाइड्स नेपालका प्रबन्ध निर्देशक पौडेलले बताउनभयो । अब आरोहण टाली काठमाडौँ फर्किने उहाँको भनाइ छ ।

टोलीमा राजकुमार अब्दुल्लासहित अमेरीकन, क्यानेडियन गरी छ जना विदेशी र ११ जना नेपाली गरी १६ जना रहेका छन् । जसमा छ जना विदेसी र ११ जना नेपाली गरी १४ जनाले हिमाल आरोहण गरेका हुन् । अन्य हिमाल भन्दा कमै आरोहण हुने आमादब्लम हिमालमा पहिलो पटक सन् १९६१ मा आरोहण भएको थियो ।

यस अघि बहराइनको राजकुमार र तीन जना नेपालीको टोली गरी दुई समूहले छ हजार ११९ मिटर अग्लो लोबुचे हिमालको सफल आरोहण गरिसकेका छन् । –रासस


ताजा खबर