नेविसंघ गठन : पार्टी गुटबीच रस्साकस्सी

काठमाडौं : ९ महिनादेखि खाली रहेको नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघको तदर्थ समिति गठनको कसरतमा शीर्ष नेता जुटेका छन् ।

कार्यकर्ता उत्पादनको ‘मुहान’का रूपमा लिइने नेविसंघको तदर्थ समिति निर्माणका लागि सभापति शेरबहादुर देउवाले कसरत सुरु गरेका छन् । लामो समयदेखि नेतृत्वविहीन हुँदा कार्यकर्ता उत्पादनमै असर परेको भन्दै अलोचना हुन थालेपछि देउवाले आइबतार शीर्ष नेतालाई आफ्नै निवास बूढानीलकण्ठमा बोलाएर सुझाव मागेका थिए ।

तत्काल तदर्थ समिति ल्याउने तयारी भइरहेको सहमहामन्त्री डा. प्रकाशशरण महत बताउँछन् । ‘शीर्ष नेतासँग पनि छलफल हुँदैछ, चाँडै नेविसंघ गठनको तयारी भइरहेको छ,’ महतले भने ।

शीर्ष नेताको बैठकमा सभापति देउवाले तदर्थ समितिको संयोजकमा राजीव ढुंगानाको नाम प्रस्तावसमेत गरे । सबै समूहलाई मिलाएर लैजाने गरी तीन महामन्त्री पनि प्रस्ताव गरेको बैठकमा सहभागी नेताले बताएका छन् ।

‘उहाँ (ढुंगाना)को नाम सभापतिजीले प्रस्ताव गर्नुभएको हो’, वरिष्ठ नेता रामचन्द्र पौडेलले अन्नपूर्णसित भने, ‘तर हामीले स्वीकार गरेनौँ । उहाँहरूबाट क्लियर कुरै आएन पदाधिकारी कस्तो बन्ने, कुन प्रक्रियाबाट गर्ने, कुन ग्रुपको भूमिका कस्तो हुने भन्ने नै आएन ।’ वरिष्ठ नेता पौडेलले संयोजकमा आफूनिकट मनोजमणि आचार्यको नाम प्रस्तावसमेत गरेका थिए । तर देउवाले अस्वीकार गरेको स्रोतले जनाएको छ ।

देउवाको प्रस्तावपछि संस्थापन इतर समूहले सबै भ्रातृ संगठनको महाधिवेशन ‘प्याकेज’मा गर्नुपर्ने प्रस्ताव गरेका थिए । ‘हामीले ६ महिनाभित्र सबै भ्रातृ संगठनको महाधिवेशन गर्ने भनेका छौँ । नेविसंघको मात्रै किन ? समग्रतामा सबै संगठनको गरौँ । सँगसँगै पार्टीको महाधिवेशनलाई पनि अघि बढाऔँ’, नेता अर्जुनरसिंह केसीले भने ।

तर, तदर्थ समिति बनाएर महाधिवेशन नगरी त्यसै छाड्ने हो भने त्यसको पनि औचित्य नहुने उनको भनाइ छ । संस्थापन इतर समूहभित्र नेविसंघको तदर्थ समिति गठन गर्ने विषयलाई लिएर दुई धार छ । नेता कृष्णप्रसाद सिटौला र केसी समूह नेविसंघको विधानमा व्यवस्था भएको ३२ वर्षमुनिको तदर्थ समिति ल्याउनुपर्ने पक्षमा छन् भने सभापति देउवा र वरिष्ठ नेता पौडेल ३२ माथिकै ल्याउनुपर्ने पक्षमा छन् ।

‘उमेर हद लाएर २२ जिल्लाभन्दा बढीमा अधिवेशन गरिसकेका छौँ’, नेता केसीले भने, ‘अब महाधिवेशनपछि भनेर पछि हट्नसक्ने अवस्था छैन ।’


ताजा खबर