अनाथालयमा हुर्किएर अर्वपति बनेका ‘लियोनार्डो डेल भेक्चियो’

बाल्यकाल एक अनाथालयमा बिताएर पनि आफ्नो लगन र संघर्षबाट सफल बनेका इटालेली उद्यमी हुन्, लियोनार्डो डेल भेक्चियो । इटालीको मिलानमा सन् १९३५ मे २२ मा उनको जन्म भएको थियो । जन्मेको पाँच महिना नवित्दै बुबाको मृत्यु भएपछि उनको जीवनमा संघर्षले पाइला टेक्यो । परिवार विपन्न थियो । भर्खरै हुर्कंदै गरेको बच्चालाई घरमै छाडेर आमाले गरेको ज्यालामजदुरीबाट जसोतसो परिवारका सदस्यको मुखमा माड पथ्र्यो । तर, यसरी कति दिन पाल्थिन् एक्ली आमाले ? उनी एक वर्षको हुन नपाउँदै आमाले अनाथालयको जिम्मा लगाइदिइन् । 

अनाथालयबाट स्कुले शिक्षा ग्रहण गरेका उनी विपन्न अवस्थाकै कारण सानै उमेरदेखि कामको खोजीमा भौतारिए । कारको पार्टपुर्जा बनाउने एउटा सानो यान्त्रिकशालामा ‘डाय मेकर’ का रूपमा काम सुरु गर्दा उनी भर्खर १४ वर्षका थिए । काम कठिन थियो, तर लगनशीलताले आफ्नो कामलाई उन्नत र परिस्कृत गर्दै लगे । धातुसँग जोडिएको कामलाई स्पेक्टल पार्ट बनाउनमा आफ्नो कार्यदक्षता बढाए ।

त्यसमा पोख्त भइसकेपछि उनी सन् १९६१ मा बेल्लुनो प्रान्तको अगोर्डो बसाइँ सरे, जहाँ इटालीमा सबैभन्दा बढी आँखामा प्रयोग गर्ने सामग्रीका उद्योगहरू थिए । त्यहाँ एउटा नयाँ कम्पनी ‘लक्सोटिका’ मा आफूले कमाएको सीमित रकम लगानी गरे । २५ वर्षकै उमेरमा लियोनार्डो आफ्नै कम्पनी खोल्न सफल भए । उनको मिहिनेतले रङ ल्यायो । अहिले उनको त्यो कम्पनी राम्रा, विलासिला र स्पोर्टस् सनग्लासको डिजाइन, उत्पादन र बिक्रीवितरण गर्दै विश्वमै लोकप्रिय छ । हाल उक्त कम्पनीबाट विश्वभर ६ हजार स्टोरबाट उत्पादनको बिक्रीवितरण हुने गरेको छ । कम्पनीमा काम गर्नेको संख्या हाल ७३ हजार चार सय छ । फोब्र्स पत्रिकाको पछिल्लो रिपोर्टअनुसार ८२ वर्षीय लियोनार्डो डेल २०.२ विलियन अमेरिकी डलर (रियल टाइम : ८ जुलाई २०१७) सहित विश्वका अर्बपतिहरूमा ५०औं स्थानमा छन् । 

छ सन्तानका बाबु उनी हाल ‘लक्सोटिका’ का संस्थापक र प्रमुख पनि हुन् । कम्पनीको आफ्नै सनग्लास हट र लेन्सक्राप्टर्स चेन रहेको छ । रे–बन, ओक्ली त विश्वभरि नै सर्वाधिक रुचाएको उत्पादन हो । कम्पनी स्थापनाको करिब ६ वर्षपछि लियोनार्डोले आइग्लासका फ्रेमहरू ‘लक्सोटिका’ ब्रान्डकै नाममा बिक्रीवितरण थाले । सन् १९७१ सम्ममा उनको यो ब्रान्डले बजारमा राम्रै पकड बनाउन सफल भयो ।

त्यसपछि उनले करारमा म्यानुफेक्चरिङ बिजनेस थाले । सन् १९७४ मा उनले एउटा वितरण कम्पनीबाट आफ्नो व्यापार अन्य मुलुकमा र्पुयाउने लक्ष्यका साथ अघि बढे । त्यसै क्रममा सन् १९८१ मा उनको कम्पनीले जर्मनीमा पहिलोपटक अन्तर्राष्ट्रिय शाखा खोल्दै व्यापारलाई विदेशमा विस्तार र्गयो । धेरै डिजाइनर्ससँग व्यापार सम्झौता गर्दै अघि बढ्ने क्रममा पहिलोपटक सन् १९८८ मा ‘अर्मानी’ सँग सम्झौता र्गयो । उनको कम्पनी सन् १९९० मा अमेरिकाको न्युयोर्क र सन् २००० को डिसेम्बरमा इटालीको मिलानमा सूचीकृत भए । सन् २००३ मा एमआईबी–३० (हाल एसएन्डपीरएमआईबी) इन्डेक्समा पनि उनको कम्पनी साझेदारी बन्न पुग्यो । 

हरेक देशको घरघरमा उनका ब्रान्ड
त्यसपछि कम्पनीको कार्यदक्षता अन्य ब्रान्डको तुलनामा बढाउनुपर्ने सोचका साथ उनी अघि बढ्ने निर्णयमा पुगे । त्यही क्रममा लियोनार्डोले इटालेली ब्रान्ड ‘भोग’ सँग सन् १९९० मा, ‘पर्सोल’ र अमेरिकी शु कर्पोरेसन (लेन्सक्राप्टर्स) सँग सन् १९९५, रे–बनसँग १९९९ मा र सन् २००१ मा सनग्लास हट इन्टरनेसनलसँग समझदारी गरे । आफ्नो कम्पनीको व्यापार विस्तारलाई यतिकैमा सीमित राख्न उनले चाहेनन् । त्यसपछि उनी खुद्रा बिक्रेता कम्पनीहरूको खोजीमा जुटे । सन् २००३ मा सिड्नीमा प्रधान कार्यालय रहेको ‘ओपीएसएम’ लाई आफ्नो बनाए । सन् २००४ मा ‘पर्ले भिजन’, सन् २००६ मा ‘सर्फआइज’ र ‘कोले नेसनल’ सँग २००४ मा आफ्नो व्यापार विस्तार गर्न सफल भए । सन् २००७ को नोभेम्बरमा उनले ‘ओक्ली’ सँग २ दशमलव १ अर्बको सम्झौता गर्दै अघि बढे । हाल उनका ब्रान्डहरू हरेक देशको घरघरमा पुगेका छन् । 

सबैभन्दा बढी रुचाएको सनग्लास उनकै कम्पनीले निर्माण गरिरहेको छ । विश्वका २७ प्रतिशत जनसंख्या उनको कम्पनीको सनग्लास प्रयोग गर्छन् । ५७ वर्षअघि आफैंले खोलेको कम्पनी ‘लक्सोटिका’ सनग्लास र चिकित्सकले प्रिस्क्राइब गरेको ग्लासहरूको विश्वकै सबैभन्दा ठूलो उत्पादक र खुद्रा बिक्रेता बन्न पुगेको छ । हाल उनको कम्पनीले बर्बेरी, बुलगारी, च्यानेल, कोच, डीकेएनवाई, डोल्स एन्ड गाब्बाना, अर्मानी, प्राडा, राल्फ लौरेन, टिफ्नी र भर्सेकलगायतका विश्वकै विलासिता ब्रान्डका ग्लासहरू उत्पादन गर्नमा अग्रणी भूमिकामा छ । –एजेन्सीको सहयोगमा


ताजा खबर