‘कपिराइटरमा साहित्यीक लगाव र मार्केटिङ चातुर्य दुबै अनिवार्य छ’

सन्तोष पौडेल

कपिराइटरले लेख्नेमात्र नभई लेखिएको कुरालाई सघाउने चित्र, ग्राफिक्सहरुको सुझाब पनि दिनुपर्ने हुन्छ । कपिराइटर हुनका लागि साहित्यीक लगाव र मार्केटिंग चातुर्यता दुबैको आवश्यकता पर्नेगर्छ । आज नेपालका प्रायः हरेक क्रियटिभ एजेन्सीहरुमा कुशल कपिराइटरहरुको माग छ ।

काठमाडौंमा विज्ञापन एजेन्सीमा जागिर खाएको लगभग एकवर्षपछि घरमा गएको बेलामा एकदिन आमाले एउटा अनौंठो जिज्ञासा राख्नुभयो, “बाबु तैंले जागिर त राम्रै गर्छु भनेर भनिस् । साँच्चै तैंले के गर्छस् नि ?”

आमाको प्रश्न स्वभाविक नै थियो । आफन्त, छिमेकीहरुले जिज्ञासा राख्दा हुन् ,छोरोले काठमाडौंमा के जागिर गर्छ ? भनेर सोध्दा हुन् । आमाले सुनेका जागिरहरु मध्येको थिएन मेरो जागिर । डाक्टर, ईञ्जिनियर, शिक्षक, वकिल पत्रकार, सरकारी अधिकृत, प्रोफेसर केही थिएन मेरो जागिर । मैले आमाको जिज्ञासा शान्त पार्दै जवाफ दिएँ, “आमा म एउटा विज्ञापन एजेन्सीमा कपिराइटरको जागिर गर्छु ।”
“कपिराइटर ? फोटोकपी गर्ने ?” आमाको अनुहारमा असन्तुष्टि देखिईहाल्यो । हुन त कुनै पेशालाई हियाएको त वहाँले पनि हैन । यो कुरा मैले वहाँको कुराको निरन्तरताबाट चाल पाईहालें ।
“फोटोकपीकै काम गर्न त किन काठमाडौं नै जान पथ्र्यो र ? ”मैले स्पष्ट पार्न खोजें
“फोटोकपी गर्ने हैन आमा, मैले लेख्ने काम गर्छु ।” मलाई अब आमाले ठ्याक्कै बुझ्नुहुन्छ भन्ने लाग्यो ।
“ए भने पछि किताबहरु लेख्ने भईस् ? लेखक ?” वहाँले अनुमानका वर्षाहरु गरिराख्नुभयो ।
“हैन त्यस्तो किताब नै त हैन पत्रिकाहरुमा आउँछ नि विज्ञापनहरु ” मैले अझ बुझाउँदै भने, “प्रचारहरु आउँछ नि पत्रिकामा, रेडियोमा , टिभीमा ”
“बुझें बुझें पत्रकार, …पत्रकार भईस् ?” वहाँले जानेको जस्तै गर्नुभयो ।
“त्यो पनि हैन आमा कपिराइटरले विज्ञापनहरु सोंच्छ, नाराहरु बनाउँछ, नाम सोंच्छ । ”मैले वहाँका अनुमानहरुलाई एकपछि अर्को गर्दै ढलाईदिँदै थिएँ । आमा भने अझै पनि स्पष्ट हुनुभएको थिएन ।
मैले आफुले बनाएका जिंगलहरुको उदाहरण दिन खोज्दा वहाँले गीतकार बुझ्नुहुन्थ्यो । मैले राखेका ब्राण्डका स्किमहरुका नाम भन्दा पण्डित नै मानिदिनुहुन्थ्यो तर मैले भने कपिराइटर भनेको पनि एउटा जागिर हो र सोंच्ने काम पनि यो संसारमा छ भनेर वहाँलाई बुझाउन सकिरहेको थिएन ।
जे होस्, आमाले बुझेपनि नबुझेपनि अब आमासँग मेरो जागिरको बारेमा आफन्त अनि छिमेकीहरुलाई दिने उत्तरहरु भने धेरैवटा भईसकेका थिए । त्यसैले वहाँले पछि पछि बुझेको जस्तै गर्नथाल्नु भयो ।
यो त भयो आमाको कुरा, कहिलेकाही त साथीहरुले पनि कपिराइटर भनेर अति ज्यादा बुझिदिने, कसैले सिधै अर्काको कुरालाई कपि अर्थात नक्कल गरेर लेख्ने काम भनेर बुझिदिने अनि कसैले फेरी स्पेलिंग नै ख्याल नगरी सर्वाधिकारवाला कपिराईट भनेर गलत अथ्र्याईदिने । आजपनि कपिराइटर भनेको के हो भनेर स्पष्ट रुपमा बुझ्नेहरुको कमी नै छ ।
यहाँसम्म पनि ठीक छ, हुँदा हुँदा एकपटक कपिराइटरकै प्रसंगमा एकठाउँमा कुरा हुँदा एकजना उपबुज्रुकज्यूले निकै लामो अनुसन्धान पछि निष्कर्ष निकालेको भावमा भन्नुभयो, “हेर्नुस् नेपालमा कपिराइटरको कमी भने छैन है ….”
मलाई आफु यसैक्षेत्रको भएर पनि कस्तो अनभिज्ञ रहेछु भनेर अलिकति लाज पनि लागेजस्तो भयो ।
तर वहाँलाई त्यसको आभाष हुन नदिईकन टाउको हल्लाएँ । महाशयले कुरो अघि बढाउँदै भन्नुभयो,

“हेर्नुस् न , कति ईण्डियन विज्ञापनहरु सीधै कपि गरेर हिन्दी भाषालाई नेपालीमा कपी गरेर भिडियो पनि उनीहरुकै राखेर टिभीमा बजाउँछन् ।”

अब यहाँ भने मैले त्यसलाई डब गरेको भन्छन् र यो ट्रान्स्लेशनको काम पनि कपिराइटरकै भागमा गरेको हुन्छ भनेर बुझाउँ कि नबुझाउँ भनेर अलमल भएँ ।

कपिराइटर भनेको के हो त ?

अब यति धेरै भूमिका बाँधिसकेपछि, यहाँसम्म पढिसकेपछि ,कपिराइटर भनेको के हो भन्नेकुरो त थाहा पाउनै पर्यो नि ।

विज्ञापन एजेन्सीहरुमा हुने क्रियटिभ विभागको निकै महत्वपूर्ण पद हो कपिराइटर । कहिले विज्ञापनहरुका कपिलेख्नुपर्ने, कहिले हेडलाईन लेख्नुपर्ने, कहिले विज्ञापनका स्क्रिप्ट लेख्नुपर्ने, कहिले शुद्धाशुद्धि हेर्दै प्रुफ रिडिंगको काम पनि सकाउनु पर्ने, कहिले ब्राण्डका नाम राख्नुपर्ने त कहिले स्लोगन अर्थात नारा बनाउनुपर्ने ।

कामहरु थरी थरी हुन्छन् । कपिराइटरले लेख्नेमात्र नभई लेखिएको कुरालाई सघाउने चित्र, ग्राफिक्सहरुको सुझाब पनि दिनुपर्ने हुन्छ । कपिराइटर हुनका लागि साहित्यीक लगाव र मार्केटिंग चातुर्यता दुबैको आवश्यकता पर्नेगर्छ । आज नेपालका प्रायः हरेक क्रियटिभ एजेन्सीहरुमा कुशल कपिराइटरहरुको माग छ । यति महत्वपूर्ण काम भएर पनि यसको औपचारिक अध्ययन गर्ने ठाउँ भने हाम्रो देशमा भएको कुराचाँही मेरो जानकारीमा अझैसम्म छैन ।

हुन त सृजनात्मकता केवल अध्ययनबाट मात्र आउने हैन तर अध्ययनले यसलाई तिखार्ने भने काम गर्छ भन्ने कुरामा मेरो पनि विश्वास छ । अनि औपचारिक अध्ययन अध्यापन हुन थालेमा शायद यो प्रश्नमा पनि कम हुने थियो होला, “हैन के रहेछ यो कपिराइटर भनेको ?”

पौडेल नेपाली वित्तापन बजारका लोकप्रिय कपिराईटर हुन् ।


ताजा खबर