‘प्रेम प्रस्ताव राख्न प्रेम पत्र हुन्थ्यो, कि बाटो ढुक्नु पर्थ्यो’

छोटो केश भएकी, टम ब्वाइजस्ती अर्चना थापा । भीडमा देखिनेभन्दा अलग्गै शैलीका सन्जीव उप्रेती । झन्डै ३१ वर्षअघि पहिलो पटक त्रिभुवन विश्वविद्यालयको केन्द्रीय अंग्रेजी विभागको चौरमा भेटिन्छन् । त्यो भेटको कारण थिए सन्जीवका एक साथी । 

सन्जीव स्नातकोत्तर पढ्न पहिलो पटक त्रिवि केन्द्रीय क्याम्पस छिर्दा उनका साथी एक वर्ष पहिलेदेखि नै त्यहीँ पढ्थे । स्नातकोत्तर दोस्रो वर्षमा । साथीलाई खोज्ने क्रममा उनी चौरमा गफ गरिरहेका एक झुण्डमा पुग्छन् । त्यसैमध्येकी एक युवतीलाई उनी आफ्नो साथीबारे सोध्छन् । युवती उत्तर दिन्छिन्, ‘उहाँ त हाम्रै क्लासमेट हो । यहीँ कतै हुनुहोला ।’ उत्तर दिने युवती थिइन् अर्चना थापा ।

भारतको आगरामा अध्ययन गरेर फर्किएकी २१ वर्षीया अर्चनाको त्यो छोटो संवाद र भेट नै दार्जिलिङ पढेर आएका २३ वर्षीय सन्जीवको मन चोर्न काफी बन्यो । अर्चनाको सामान्य शैली, आकर्षक मुस्कान र हल्का गहुँगोरो वर्ण सन्जीवलाई खुबै मन पर्‍यो । सन्जीव ‘लभ एट फस्र्ट साइट’मा परे । अर्चनालाई उत्पात मन पराउन थाले । त्यतिबेला मनको भाव पोखिहाल्न अहिलेजस्तो सहज थिएन । सजिलै मनको भाव व्यक्त गर्ने न मोबाइल थियो, न त इन्टरनेटको साँघु नै । प्रेम प्रस्ताव राख्ने माध्यम कि त प्रेम पत्र हुन्थ्यो, कि बाटोमा ढुकेर बस्नुपथ्र्यो ।

सन्जीवले अर्चनासँग पहिलो भेट भएको केही महिनामै प्रेम पत्र लेखे । यत्तिले मात्रै पुगेन, बाटोमा ढुकेर प्रत्यक्ष प्रेम प्रस्ताव पनि राखे । ‘यी दुई बाहेक प्रेम व्यक्त गर्ने अर्को कुनै विकल्प थिएन्, अहिलेजस्तो मोबाइल र फेसबुक थिएन्,’ २५ वर्ष त्रिविमा अंग्रेजी साहित्य प्राध्यापन गरेर स्वेच्छिक अवकाश लिएका यी प्रोफेसर सम्झन्छन्, ‘अनि मैले दुवै विकल्प अपनाएँ । प्रेमपत्र लेखेँ, बाटो पनि ढुकेर बसेँ ।’ लेखक तथा प्रकाशक अर्चना त्यतिबेला सन्जीवभन्दा सिनियर क्लासमा थिइन् । त्यसमा सन्जीवले कुनै दकस मानेनन् । 

अर्चनाले भने सन्जीवको प्रेम प्रस्ताव अस्वीकार गरिदिइन् । तर, अर्चनाका आँखामा भीडका अन्य युवाभन्दा फरक थिएन सन्जीव । त्यही भेउ पाएर पनि होला, अर्चनाको प्रेम प्राप्तिलाई लक्ष्य बनाएका उनी थाकेनन् । झन्डै एक वर्षको लगातार पछ्याएपछि अर्चनाले सन्जीवका लागि मनमा स्थान बनाइन् । सन्जीवको प्रेम प्रस्तावलाई स्वीकार गरिन् । अर्चनाले के कारण एक वर्षसम्म कुराइन् त ? अर्चना भन्छिन्, ‘प्रेममा एउटा कमिटमेन्ट हुन्छ । प्रेमीसँग भेट्नुपर्‍यो, कहिलेकाहीँ बाहिर घुम्न जानुपर्‍यो । तर म पढाइमै केन्द्रीत थिएँ, समय नै थिएन ।’

स्नातकोत्तरसम्म अध्ययनको अवसर कमै महिलाले पाउँथे त्यो बेला । त्यसैले सन्जीवको प्रेम त्यसमा बाधा बनिदेला कि भन्ने चिन्ता थियो । उनलाई लाग्थ्यो-पढाइभन्दा यताउति गयो भने विवाह गर्नुपर्छ र स्नातकोत्तर गर्ने मेरो लक्ष्य अधुरै रहन्छ । विवाह गर्ने बित्तिकै आफ्ना केही साथीहरूले पढाइलाई अगाडि बढाउन नसकेको उनले देखेकी थिइन् । ती घरव्यवहारमा फसेका थिए । त्यही कारण अर्चनालाई प्रेम र विवाहसँग डर र अरुचि दुवै थियो ।

तर, प्रेमलाई ‘भीष्म प्रतिज्ञा’ ठानेर हिँडिरहेका सन्जीवका अगाडि अर्चनाको त्यो डर धेरै दिन टिक्न सकेन् । असहज वातावरणलाई सहज बनाइदिने शैली, दुईबीच समान भावना र मिल्दा व्यवहारले अर्चनालाई अन्तत: प्रेम प्रस्तावको एक वर्षपछि सन्जीवको प्रेमिका बनायो । र, काठमाडौं-झापाको दूरीलाई मेटाइदियो । 

प्रेममा परेपछि सन्जीव अर्चनाको घरमा आउ-जाउ गर्न थाले । त्यसले अर्चनाका अभिभावकसँग उनको चिनजान पनि बढ्यो । सन्जीव कतिसम्म हिम्मतिला निस्किए भने उनले अर्चनासँग भएको सहमतिअनुसार नै उनका बुवासँग आफूहरूले विवाह गर्न चाहेको बताए । ‘म अर्चनालाई प्रेम गर्छु, उसँग विवाह गर्न चाहन्छु तपाईं के भन्नुहुन्छ भनेर सोधँे,’ सन्जीव भन्छन्, ‘त्यसपछि उहाँले तपाईंको बुबाआमासँग पनि भेटघाट गर्नुपर्‍यो, कुराकानी गर्नुपर्‍यो भन्नुभयो ।’ उनले आफ्ना बुवालाई चिठ्ठी लेखेर काठमाडौं बोलाए ।

थापा–उप्रेती विवाहलाई अन्तरजातीय नै मानिन्थ्यो । त्यसमा अर्चनाको घर पहिलेदेखि नै खुला थियो । उनकी दिदीको श्रेष्ठ परिवारसँग सहमतिमै धुमधामले विवाह भएको थियो । सन्जीवको घरमा पनि शिक्षित बुबाका कारण कुनै रोकटोक भएन । चार वर्षसम्म घरपरिवारसँग घुलमिल भइसकेका उनीहरूले २०४८ असार २० मा विवाह गरे । त्यसपछिका कयौं वर्ष बिते, उनीहरूको प्रेममा कुनै परिवर्तन आएको छैन । 

सन्जीवमा कलेज पढ्दा अर्चनाप्रति जति अनुराग थियो, त्यस्तै छ । त्यो बेला विकसित सहचार्य दुवैका लागि उत्तिकै मधुर र मिठासपूर्ण छ । सम्बन्ध मिठास र मधुर बनाइरहने सूत्र के हो त ? दुवै एकसाथ भन्छन्, ‘आदरभाव, एकअर्काको भावना बुझ्नु, अन्तक्रिया गर्नु र एकअर्कालाई सुन्नु नै हो ।’

३० वर्षअघि जब त्रिवि कीर्तिपुरमा स्नातकोत्तर पढिरहेका सन्जीव र अर्चना प्रेमी थिए । अर्चनाले कतैबाट ‘भ्यालेन्टाइन डे’ भन्ने सुनेकी थिइन्, सन्जीवले भने सुनेकै थिएनन् । हुन त प्रेमलाई एक दिन, महिना वा हप्तामा सीमित गरिएको प्रति पनि यो जोडीको असन्तुष्टि छ । ‘मेरा लागि त हरेक दिन भ्यालेन्टाइन डे हो,’ सन्जीव भन्छन् । 

त्यतिबेला अहिलेजस्तो महँगा उपहार दिने चलन थिएन, न त महँगा मल र क्याफेहरूमा डेट जाने नै । ‘हामी कहिल्यै त्यस्तो डेट गएनौं । हाम्रो त घरमै भेट हुन्थ्यो,’ अर्चना सुनाउँछिन् । सन्जीव पनि बुकहोलिक र अर्चना पनि उस्तै । उनीहरू धेरैजसो समय किताबहरूमै बहस गर्थे । उपहारमा दिने र लिने किताब नै हुन्थे । ‘हाम्रो अर्कै खालको प्रेम थियो,’ अर्चना थप्छिन्, ‘बाहिर घुम्न जाने त्यति ठाउँ पनि थिएन ।’ 

फेसबुकमा लभ रियाक्ट गरेकै बहानामा छुट्टिने खालको प्रेम देखिन्छ अहिले । उनीहरूबीच पनि विवाद नभएका होइनन् । सन्जीव सुनाउँछन्, ‘कहिलेकाहीँ विवाद हुने, नमिल्नेजस्ता कुराहरू स्वभाविक हुुन्थे । अझै पनि बादविवाद हुन्छन् र त्यो प्रेममा स्वभाविक पनि हो । किनभने, प्रेमी-प्रेमीका आफैंमा बेग्ला–बेग्लै व्यक्ति हुन् ।’ समयक्रममा दुईबीच आउने परिवर्तन र उतारचढावलाई स्वीकार गरेर अगाडि बढ्ने परिपाटीमा आफ्नो प्रेम हुर्किएको उनी बताउँछन् । 

अर्चनालाई त लाग्छ– जहाँ विवाद हुँदैन, त्यहाँ स्वतन्त्र रुपले आफ्नो कुरा भन्ने वातावरण हुँदैन । ‘जब दुवैले बोल्ने अवसर पाउँछन् भने त्यहाँ सहमति र बिमतीका कुरा त आइहाल्छन् नि,’ उनी भन्छिन्, ‘एउटा पार्टनरले बोलिरहेको छ, उसको कुरामा अर्कोले सधैं सहमति मात्रै जनाउँदै आएको छ भने त्यो प्रेम होइन बाध्यता हो ।’ पितृसत्तात्मक समाजका कारण निर्णय गर्ने अधिकार पुरुषमै भएका कारण पनि यस्ता समस्याहरू निम्तिने उनीहरूको मत छ । 

एकअर्काको चाहना बुझ्ने, एकले अर्कोलाई सुन्ने, समयसापेक्ष हुने परिवर्तनसँगै व्यवहारको मिलान गर्दै आपसी सम्मान कायम राख्न सके प्रेमसम्बन्ध दीर्घ हुनसक्छ भन्ने यो जोडीको बुझाइ छ । बुवा बोलिरहने र आमा सुनिरहने परम्परालाई परिवर्तन गरेर दुवै बोल्ने र दुवै सुन्ने अवस्था सिर्जना भएमा त्यसले सम्बन्धलाई बलियो र अर्थपूर्ण बनाउँछ भन्ने उनीहरूको निष्कर्ष हो । ‘अर्चनाले सधैं मेरो हो मा हो थप्ने भए मेरो जीवन निरस हुन्थ्यो होला,’ सन्जीव भन्छन्, ‘मलाई लाग्छ मेरा कुरामा विमती रहे पनि आफ्ना कुरा प्रष्ट भनून् । दुवैको सहमति भएर मात्र कुनै निर्णय लिउँ ।’ यसो हुँदा प्रेमले एकअर्कालाई सँगसँगै हुर्किन पनि मद्दत पुर्‍याउने उनी बताउँछन् । 

उनीहरूलाई लाग्छ– अहिले प्रेम दिवस उपभोक्तावादी संस्कृतिको अभिन्न भाग बन्न पुगेको छ । सम्बन्धका आयामहरू फेरिएका छन् । सामन्तवादी युगमा महिलाहरूलाई प्रेममा आत्मनिर्णयको अधिकारको सम्भावना कमै थियो । पुँजीवादी युगमा युवा–युवतीहरूको प्रेमसम्बन्धमा आत्मनिर्णय गर्ने अधिकार बढेको छ । त्यो आफैंमा राम्रो कुरा हो । तर, समस्या के छ भने प्रेमसम्बन्धी आत्मनिर्णयलाई बजारले ‘म्यानिपुलेट’ गरिरहेको छ । जसले भावनात्मक पक्षलाई मारिरहेको छ । 

त्यसैले उनीहरूको निष्कर्ष छ– प्रेम दिवसलाई प्रेमिल जोडीबीच समानताको दिवसका रूपमा मनाउँदा त्यसले युवापुस्ता र समग्र समाजमा थप प्रेममय बनाउँछ । प्रेममा न कुनै ‘हाइर्‍यार्की’ हुन्छ, न विभेद । न कोही ठूलो हुन्छ न कोही सानो । न कोही शक्तिशाली हुन्छ, न कोही शक्तिहीन । प्रेम बजारले निर्धारण गर्दैन । प्रेममा दुवै समान हुन्छन् । त्यही समानता नै अविरल प्रेमको कारण  बन्न पुग्छ । 


ताजा खबर