नेकपा नेता गौतमको ‘यो बुद्ध भूमि’ सार्वजनिक (भिडियो सहित)

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतमद्वारा रचित गीत ‘यो बुद्ध भूमि’को भिडियो शुक्रबार सार्वजनिक भएको छ । राष्ट्रवादी नेताको छवि बनाउनुभएका नेता गौतम गीतमा पनि त्यतिकै रुचि राख्नुहुन्छ । सामाजिक सञ्जालबाट सार्वजनिक गरिएको भिडियोमा राष्ट्रभक्ति गीत प्रस्तुत गरिएको छ । ‘राजनीतिक व्यक्तित्वहरू पनि कलामा रुची राख्छन्’ गौतमको यो गीतले पुष्टि गरेको छ ।

गौतमले अहिलेसम्म दर्जन बढी गीत लेखिसक्नुभएको छ । यो उहाँको पछिल्लो गीत हो । गीतमा नेपालको प्राकृतिक सुन्दरता, शान्तिका अग्रदुत भगवान गौतम बुद्ध र नेपाली कला संस्कृतिको वारेमा वर्णन गरिएको छ । आम नेपालीलाई गीतले एकतामा रहन र देशप्रति प्रेरित हुन प्रेरणा मिल्ने विश्वास गरिएको छ । गैतमले लेखेको शब्दलाई मनोहर सुनामको एरेञ्जमा शम्भुजित बाँस्कोटाले सङ्गीत दिनुभएको छ ।

गीतका प्रस्तुतकर्ता हरिशदेव गौतम हुनुहुन्छ । गीतमा रोशनराज गुरुब, माण्डवी त्रीपाठी र अन्जना गुरुब लगायतको स्वर छ । दीर्घ गुरुबले छायाङ्कन गर्नुभएको गीतलाई जीवन थापाले सम्पादन गर्नुभएको हो । गीतकार गौतमले आफ्ना ४३ गीतलाई एकत्रित गरी गीति सङ्ग्रह पनि प्रकाशनमा ल्याउनुभएको छ । जसमा सार्वजनिक भएका गीतहरु र बाँकी सबै गीत समावेश छन् । विशेषतः गीतहरू राष्ट्रिय भावहरुले भरिएका शब्दमा रचित छन् ।

राजतन्त्रको अन्त्य पछि उदय भएको लोकतन्त्रको शुरुवाटमा पुरानो राष्ट्रिय गीतलाई फालेर नयाँ राष्ट्रिय गीतको विकल्प खोजियो । सो प्रतिष्पर्धामा गीतकार गौतम पनि सहभागी हुनुहुन्थ्यो । खासगरी त्यही समयदेखि गौतमको गीति यात्रा शुरु भएको गीतकार गौतमले बताउनुभयो । विद्यालय स्तरदेखि नै गीत संगीत र कवितामा रुची राखेको बताउनुहुने नेता गौतमले जीवनको उत्तरार्धमा आफ्नो चाहना पुरा भएको बताउनुभयो ।

‘छन्द कविता र गीति लेखन’ यी दुई विषय मेरो जीवनको प्रारम्भकालीन रुचीमा थिए, गौतमले भन्नुभयो । विद्यालय जीवनदेखि नै कविताप्रति विशेष रुची र प्रयास रहँदै आएको उहाँको भनाई छ । विद्यालयमा अध्ययनताका प्रत्येक शुक्रबार आयोजना हुने साहित्यिक कार्यक्रम मध्ये अधिकांशमा सहभागी हुनेगरेको उहाँले सुनाउनुभयो ।

भिडियोः

 


ताजा खबर